शीर्षकहरू

हेन्ली पासपोर्ट इन्डेक्स २०२६ : नेपालको स्थान सुधार, विश्वकै शक्तिशाली पासपोर्ट सिंगापुरको

हेन्ली पासपोर्ट इन्डेक्स २०२६ : नेपालको स्थान सुधार, विश्वकै शक्तिशाली पासपोर्ट सिंगापुरको

काठमाडौं । कुनै पनि देशको पासपोर्टले नागरिकलाई विश्वका कति देशमा भिसाविना यात्रा गर्न अनुमति दिन्छ भन्ने आधारमा तयार गरिने हेन्ली पासपोर्ट इन्डेक्स २०२६ सार्वजनिक भएको छ। नयाँ प्रतिवेदनअनुसार नेपालको पासपोर्ट र्‍याङ्किङमा सुधार देखिएको छ भने सिंगापुरले विश्वकै शक्तिशाली पासपोर्टको स्थान कायम राखेको छ।

हेन्ली एन्ड पार्टनर्सले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल गत वर्षको तुलनामा चार स्थान सुधार गर्दै ९७औं स्थानमा पुगेको छ। सन् २०२५ मा नेपाल १०१औं स्थानमा रहेको थियो। यद्यपि नेपाली नागरिकले भिसाविना वा आगमनमा भिसा प्राप्त गरी यात्रा गर्न सक्ने देशहरूको संख्या भने सीमित नै रहेको छ।

प्रतिवेदनअनुसार सिंगापुरको पासपोर्ट विश्वकै सबैभन्दा शक्तिशाली बनेको छ। सिंगापुरका नागरिकले विश्वका १९२ गन्तव्यमा पूर्वभिसा आवश्यक नपर्ने सुविधा प्राप्त गरेका छन्।

दोस्रो स्थानमा जापान, दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन्। यी देशका नागरिकले १८७ देशमा भिसाविना वा सहज प्रवेशको सुविधा पाउँछन्। तेस्रो स्थानमा रहेको स्विडेनका नागरिकले १८६ गन्तव्यमा भिसा सहजता प्राप्त गरेका छन्।

नेपालको स्थानमा सुधार

नेपालले यस वर्ष केही सुधार गर्दै ९७औं स्थान हासिल गरेको छ। नेपाल र उत्तर कोरिया समान ३५ भिसा-फ्री स्कोरसहित एउटै स्थानमा रहेका छन्। यसले नेपाली नागरिकले सीमित संख्याका देशमा मात्र पूर्वभिसाबिनै यात्रा गर्न सक्ने अवस्था अझै कायम रहेको देखाउँछ।

यद्यपि गत वर्षको तुलनामा नेपालको स्थान माथि उक्लिनु अन्तर्राष्ट्रिय यात्रा पहुँचको दृष्टिले सकारात्मक संकेतका रूपमा हेरिएको छ।

छिमेकी देशहरूको अवस्था

दक्षिण एसियाली मुलुकहरूमध्ये भारत ७८औं स्थानमा रहेको छ। भारत, बोलिभिया र सेनेगलका नागरिकले ५७ देशमा भिसाविना वा आगमनमा भिसा सुविधा प्राप्त गर्छन्। गत वर्ष भारत ७७औं स्थानमा रहेको थियो।

अर्को छिमेकी मुलुक चीनले भने उल्लेखनीय सुधार गरेको छ। चीन ८२ भिसा-फ्री स्कोरसहित ५६औं स्थानमा पुगेको छ। गत वर्ष चीन ६४औं स्थानमा थियो।

पाकिस्तान ३० स्कोरसहित १००औं स्थानमा रहेको छ। यसले दक्षिण एसियाका अधिकांश देशहरूको पासपोर्ट अझै पनि विश्वका विकसित मुलुकहरूको तुलनामा कमजोर रहेको देखाउँछ।

अमेरिकाको पुनरागमन

सन् २०२५ मा पहिलो पटक अमेरिकी पासपोर्ट शीर्ष १० बाट बाहिरिएको थियो। विभिन्न देशहरूले अमेरिकी नागरिकका लागि भिसा सम्बन्धी नियम कडा बनाएका कारण अमेरिका १२औं स्थानमा झरेको थियो।

तर यस वर्ष अमेरिका पुनः शीर्ष १० मा फर्किएको छ। १७९ भिसा-फ्री स्कोरसहित अमेरिका आइसल्यान्डसँग संयुक्त रूपमा १०औं स्थानमा रहेको छ।

त्यस्तै बेलायतको पासपोर्ट पनि पुनः बलियो बनेको देखिएको छ। गत वर्ष आठौं स्थानमा झरेको बेलायत यस वर्ष १८३ स्कोरसहित छैटौं स्थानमा उक्लिएको छ।

सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तानको

हेन्ली पासपोर्ट इन्डेक्स २०२६ अनुसार अफगानिस्तान विश्वकै सबैभन्दा कमजोर पासपोर्ट भएको देश बनेको छ। अफगान नागरिकले केवल २३ देशमा मात्र भिसाविना यात्रा गर्न सक्छन्। अफगानिस्तान १०३औं तथा अन्तिम स्थानमा रहेको छ।

त्यसभन्दा माथि सिरिया २६ स्कोरसहित १०२औं स्थानमा छ भने इराक २९ स्कोरसहित १०१औं स्थानमा रहेको छ।

विश्लेषकहरूका अनुसार पासपोर्टको शक्ति केवल यात्रासँग मात्र सम्बन्धित नभई कुनै देशको कूटनीतिक सम्बन्ध, आर्थिक अवस्था, सुरक्षा विश्वास तथा अन्तर्राष्ट्रिय प्रतिष्ठासँग पनि जोडिएको हुन्छ। त्यसैले हेन्ली पासपोर्ट इन्डेक्सलाई विश्वका मुलुकहरूको अन्तर्राष्ट्रिय पहुँच र प्रभाव मापन गर्ने महत्वपूर्ण सूचकका रूपमा लिइन्छ।
 

प्रतिक्रिया