काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिक विवरण अनुसार खुद नाफा १.५८ प्रतिशतले बढेको हो ।
कम्पनीले पछिल्लो ९ महिनामा २७ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा यस्तो नाफा २७ करोड ७ लाख रुपैयाँ थियो । तुलनात्मक रुपमा ४३ लाख रुपैयाँ नाफा बढेको देखिन्छ ।
नाफासँगै कम्पनीको व्यापार पनि बढेको छ । गत आवको ९ महिनामा ३ अर्ब ५८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको कम्पनीले यो वर्षको सोही अवधिमा ४ अर्ब ३१ करोड रुपैयाँ संकलन गरेको छ ।
कम्पनीको कुल आम्दानी र दाबी भुक्तानी खर्च दुवै बढेको छ । कुल आम्दानी ४ अर्ब ५४ करोडबाट बढेर ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । यस्तै, दाबी भुक्तानी ३ अर्ब ३७ करोडबाट बढेर ३ अर्ब ९० करोड पुगेको हो ।
कम्पनीको जीवन बीमा कोषको आकार ३२ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको ९ महिनासम्म १२ अर्ब ८० करोड रुपैयाँ रहेको कोषमा चालु आवको साही अवधिमा १६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ ।
५ अर्ब ३० करोड भन्दा बढी चुक्ता पुँजी रहेको कम्पनीको प्रति शेयर आम्दानी ६.९१ रुपैयाँ रहेको छ । प्रति शेयर नेटवर्थ ११५.६० रुपैयाँ र प्रति शेयर कुल सम्पत्तिको मूल्य ४५३.९० रुपैयाँ रहेको छ । कम्पनीले १९ अर्ब रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ ।
आर्थिकन्यूज
प्रतिक्रिया