काठमाडौं । नेपाल बीमा प्राधिकरणले लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपाल इन्स्योरेन्स कम्पनीलाई स्पष्टीकरण सोधेको छ । कम्पनीले नक्कली एमडीआरटीलाई तारे होटलमा लगेर ककटेल डिनर गराएर कराेडौँ रुपैयाँ अनियमितता गरेको आरोपमा प्राधिकरणले स्पष्टीकरण सोधेको हो ।
प्राधिकरणको नियम महाशाखाले स्पष्टीकरण सोधदै गत साता कम्पनीलाई पत्र काटेको थियो । जसको जवाफ भने कम्पनीले फर्काएको छैन । प्राधिकरणका एक कर्मचारीले आर्थिक न्यूजलाई भने, 'नक्कली एमडीआरटी बनाएर कम्पनीले कराेडौँ रुपैयाँ अनियमितता गरेको भन्ने उजुरीका आधारमा हामीले स्पष्टीकरण सोधेका हौँ । जवाफ आएको छैन । जवाफ आएपछि चित्त नबुझको खण्डमा कम्पनीलाई प्राधिकरणले कानून अनुसार कारबाही गर्दछ ।’
उनका अनुसार कम्पनीले कुनै पनि बहानामा कम्पनीको रकम दुरुपयोग गर्न, अनियमितता गर्न पाउँदैन । पूर्ण पारदर्शिता चाहिन्छ । अहिले प्राधिकरणले घटना के हो भनेर जान्न मात्रै चाहेको उनले बताए । आवश्यक परेको खण्डमा कम्पनीमा छापा मार्ने र सम्पूर्ण डकुमेन्ट लिएर अनुसन्धान गर्ने तयारी रहेको पनि उनले बताए ।
प्राधिकरणमा उजुरी परेको केही दिनमा नै स्पष्टीकरणको पत्र काटिएको थियो ।
भएको के हो ?
लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपालका उच्च पदस्थ कर्मचारीहरूले नक्कली एमडीआरटी खडा गरेर कराेडौँ रुपैयाँ हिनामिना गरेका थिए ।
कम्पनीले एमडीआरटीका लागि योग्य भएका बीमा अभिकर्ताका लागि एमडीआरटी मिट गर्दै आएको थियाे । एमडीआरटीका लागि छनौट भएका बीमा अभिकर्तालाई फाइभ स्टार होटलमा लगेर ककटेल डिनरसहित होटलमै बास बसाउँदै आएको थियाे । तर, यसरी तारे होटलमा लगेर ककटेल डिनर गराउँदा नक्कली एमडीआरटीहरु पनि समावेश भएका थिए ।
एलआईसी नेपालले नक्कली एमडीआरटीलाई पनि त्यस प्रकारको ककटेल डिनरमा सामेल गराएर जनताको कराेडौँ रुपैयाँ स्वाहा पार्दै आएको छ । अर्थात् कम्पनीले ककटेल डिनरमा सामेल गराउन नै एमडीआरटी बन्न नसेकेका बीमा अभिकर्तालाई नक्कली एमडीआरटी बनाएको थियाे । कम्पनीले होटल सोल्टी, गोकर्णेश्वर रिसोर्ट लगायत लक्जरी होटलमा लगेर डिनर पार्टी गराउँदै आएको हाे ।
घटना नम्बर १ : कम्पनीले २०८१ मंसिर १६ गते होटल सोल्टीमा अध्यक्ष क्लबको मिटिङ्ग गर्यो । अध्यक्ष क्लबमा छनौट भएका बाहेक अन्य ३० प्रतिशत बढी मानिसलाई त्यस मिटमा कम्पनीका कर्मचारीले सामेल गराए । आफ्नो चिनजानका आधारमा कर्मचारीले किर्ते हस्ताक्षर गराएर ३० प्रतिशत बढीलाई सो मिटिङमा सामेल गराएको थियो ।
कम्पनीले अभिकर्ताहरुलाई अध्यक्ष क्लबको मिटिङ्ग, सीईओ क्लबको मिटिङ्गको नाममा ककटेल डिनर गराउँने गर्दछ । १६ गते पनि कक्टेल डिनरका लागि अध्यक्ष क्लबको मिटिङ्गका नाममा अन्य ३० प्रतिशतलाई ककटेल डिनरमा सामेल गराएको थियो ।
सो मिटमा २७२ जनालाई सहभागी गराएको थियो । जसमा ३० प्रतिशत अर्थात् ८० जना बाहिरि मानिस समावेश थिए । यसरी बाहिरि मान्छे र नक्कली एमडीआरटी घुसाएर त्यो मिटमा ८० लाख रुपैयाँ बढी खर्च गरेकाे देखिन्छ । जुन जनताको रकम हो । यसबारे नेपाल बीमा प्राधिकरणमा तत्कालै छानबिनका लागि पनि उजुरी परेको थियो ।
घटना नम्बर २ : यस्तै, कम्पनीले २०८२ मा पनि अध्यक्ष क्लबको मिटिङ्ग गरेको थियो । हायत होटलमा गरेको सो मिटिङ्गमा पनि ३० प्रतिशत एक्सट्रा मानिसलाई प्रवेश गराएको थियो ।
घटना नम्बर ३ : २०८२ चैत ४ गते कम्पनीले गोकर्ण रिसोर्टमा १११ जनालाई कक्टेल डिनर सहित बासको व्यवस्था गर्यो । खासगरी एमडीआरटीका लागि योग्य भएका अभिकर्ताका लागि कम्पनीले यस्तो व्यवस्था गरेको थियो ।
तर, त्यहाँ २२ जना नक्कली एमडीआरटी थिए । अर्थात् २२ जना एमडीआरटीका लागि योग्य भएका थिएनन्, तर उनीहरुलाई पनि सो कक्टेल डिनर सहितको बास गराइएको थियो ।
कसरी बनाइयो नक्कली एमडीआरटी ?
कसरी नक्कली एमडीआरटी खडा गरियो भन्ने प्रसंग पहिला एमडीआरटी भनेको के हो ? भनेर बुझन जरुरी हुन्छ । एमडीआरटी (मिलियन डलर राउन्ड टेबल) एक अन्तराष्ट्रिय संस्था हो । जसको हेडअफिस अमेरिकामा छ । एमडीआरटीमा छनौँट हुनका लागि बीमा अभिकर्ताले वर्षमा ५४ लाख रुपैयाँको बीमा पोलिसि बिक्री गरेको हुनु पर्दछ ।
जनुवारी देखि डिसेम्बरसम्म उक्त टार्गेट पुरा गर्नु पर्दछ । जहाँ अभिकर्ताले एकल बीमा शुल्क बीमालेख मार्फतको ६ प्रतिशत रकम मात्रै गणना गर्न पाइन्छ ।
तर, ६ प्रतिशतको स्थानमा २५ प्रतिशत गणना गरेर एमडीआरटीको टार्गेट पुर्याइएको थियो । यसरी एमडीआरटीको नियमभन्दा बढी गणना गरेर नक्कली एमडीआरटी बनाइएको थियो । उनीहरुलाई गोकर्णेश्वर रिसोर्टमा सामेल गराइएको थियो ।
गोकर्णेश्वर रिसोर्टमा ककटेल डिनर सहित एक रातको बास बस्दा प्रति व्यक्ति ३० हजारदेखि सुरु हुन्छ । यस आधारमा सो दिन कम्पनीले करिब ७ लाख रुपैयाँ दुरुपयोग गरेको देखिन्छ ।
कम्पनीका कर्मचारीहरूले यस्तो प्रकारको मिट आयोजना गरेर कराेडौँ रुपैयाँ दुरुपयोग गरेको बारेमा नेपाल बीमा प्राधिकरणमा उजुरी नै परेको छ । प्राधिकरणले छानबिन पनि गर्ने जनाएको छ ।
यसरी नक्कली एमडीआरटीको नममा करडाैँ रूपैयाँ दुरूपयाेग गरेकाे विषयमा बीमा प्राधिकरणमा चैत १६ गते एलआईसी विरुद्ध उजुरी परेको थियो ।
आर्थिकन्यूज
प्रतिक्रिया