शीर्षकहरू

गुडविल सहकारीले ५६० जनालाई पुर्‍यायो सडकमा, पीडितको आँसु र श्राप लाग्ला त सञ्चालकलाई

गुडविल सहकारीले ५६० जनालाई पुर्‍यायो सडकमा, पीडितको आँसु र श्राप लाग्ला त सञ्चालकलाई

काठमाडौं । गुडविल बचत तथा ऋण सहकारीले यसरी सडकमा ल्याउँछ भनेर सोचेकी थिइनन्, पूर्णिमा शाक्य बम्जनले । ललितपुरको पाटनमा बस्दै आएकी उनी अहिले आफ्नै पैसा फिर्ता माग्न काठमाडौंको माइतीघरको सडकमा छिन् ।

ललितपुरको कुमारीपाटीमा रहेको गुडबिल बचत तथा ऋण सहकारीमा उनले लामो समयदेखि नियमित रुपमा बचत गर्दै आएकी थिइन् । सुरुमा सहकारीले राम्रो सेवा सुविधाहरू दिने गरेको थियो । सहकारीबाट पाएको ब्याजले उनले राम्रै उन्नति गरिरहेकी थिइन् ।

तर, अहिले बचतकर्ताको पैसा लिएर सहकारी सञ्चालक भागे भन्ने उनलाई अझै विश्वास लाग्दैन । ‘चितवनमा जग्गा बेच्न गएको छ । जग्गाको सिलसिलामा बाहिर गएको छ भन्ने सुनेको थिएँ । अरूले सहकारी भाग्यो भन्दा पनि सुरुमा विश्वास लागेको थिएन’, उनले सहकारी सञ्चालकले गरेको विश्वासघात  व्यक्त गरिन् ।

उनीहरू फर्केर आएर फेरी सहकारी सञ्चालन गर्छन् भन्ने उनको विश्वास थियो । पैसा खाएर भागेको सहकारीलाई पनि राम्रो भनेको र फर्केर आउँछ भन्दा अन्य बचतकर्ताहरूले गाली गर्ने गरेको उनले सुनाइन् । ‘फर्केर आउँछन् भन्ने आस गरेको थिएँ । सबैले भन्थे, ‘यत्रो पैसा फसेको छ र पनि सहेर बसेकी छ’। सानै देखि दुःख पाएर व्यवसायमा लागेको हुनाले पैसा सम्झेर रुन सकिन’, भावुक हुँदै उनले सुनाइन् ।

ठगिएका र भागेका सहकारीहरूलाई अझै पनि सञ्चालनमा आइदिन उनी अनुरोध गर्छिन् । उनी भन्छिन्, ‘हामी जस्ता व्यक्तिले दुःख गरेर कमाएको पैसाले तपाईँहरूलाई पाप लाग्छ र श्राप पनि लाग्छ । हामीले चोरेर ठगेर ल्याएको सम्पत्ति थिएन । दिन रात नभनी मजदुर गरेर, चोटपटक खाएर, रोगी भइकन पनि दिनरात घाम पसिना नभनी गरेको कमाई हो ।’

उनका श्रीमान् पेसाले सवारी चालक हुन् भने उनी पनि विभिन्न काम गर्ने गर्थिन् । क्यान्सरको सामना गरेर पनि सङ्घर्ष गर्न नछाडेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘श्रीमान् गाडी चलाउनु हुन्छ । मैले सुनको जलप लगाउने, फिजियो थेरापी गराउने गर्थे । त्यति मात्र नभई १८ वटा पसल पनि सञ्चालन गरेको थिएँ। क्यान्टिन पनि चलाएँ । सुनको जलप लगाउने कामले गर्दा मेरो मुटु कलेजो ड्यामेज भएर क्यान्सर भएर मर्ने स्थितिसम्म पनि पुगेको थिएँ ।  तर सङ्घर्ष गर्न अझै छाडेको छैन ।’

उनका तीन वटा छोराहरू छन् । ‘पाँच पटक अप्रेसन भइसकेको छ । उपचारका लागि पाटन हस्पिटल देखी अमेरिकाको क्यालिफोर्निया पनि धाइरहेको छु । रोगी छु तैपनि यो सहकारीलाई विश्वास गर्न छाडेको छैन’, उनले दुखेसो पोखिन् ।

बन्द, हडताल र शनिवारको दिन पनि सेवा दिने गरेका कारण उनलाई उक्त सहकारी प्रति धेरै नै विश्वास रहेको थियो । ‘रकम आवश्यक परेको बेला घरमै आएर रकम दिनुहुन्थ्यो । वर्षमा एक पटक ब्याज पनि बढाउने गरेको थियो । यसले गर्दा बैङ्क लगायतका अन्य संस्थाहरूमा रहेका खाता पनि बन्द गरिकन सहकारीमा पैसा जम्मा गरेको थिएँ ।’ उनका अनुसार सहकारीले सुरुमा १२ प्रतिशत ब्याज दिएको थियो । सहकारी खुलेदेखि नै नियमित बचत गरेका कारण उनलाई वर्षमा एक प्रतिशतका दरले ब्याज बढाएर १९ प्रतिशतसम्म ब्याज दिने गरेको थियो ।

 उक्त सहकारीका हालका अध्यक्ष दिवाकरलाई उनले चिनेकी छैनन् । तर, अघिल्लो कार्यकालका अध्यक्षले   आपत् विपद् परेको बेला जुनसुकै समयमा पैसा दिन्छौँ भनेर आश्वासन दिने गरेको र सहयोग गर्ने गरेका कारण पनि सहकारीप्रति उनको विश्वास धेरै थियो । हालसम्म उनले सहकारीबाट दुई पटक मात्र ऋण लिएकी छिन् ।

‘त्यस बेला व्यापार बिजनेस राम्रो भएको कारण म सँग पैसाको बिटा हुन्थ्यो । अहिले दुई हजार रुपैयाँ कमाउन पनि मेरो क्षमताले भ्याउँदैन, साथमा दुई हजार हुन पनि मुस्किल छ’, गहभरि आशु पार्दै उनले भनिन् ।

आफूहरूलाई न्याय चाहिएको बताउँदैन उनी भन्छिन्, ‘हामी जस्ता अशिक्षित व्यक्तिलाई सहकारी मार्फत सरकारले गरिखाने बाटो देखाइदिएको थियो । अहिले सहकारीले नै यस्तो गरेपछि हामीले कसको विश्वास गर्ने ? यहाँ धर्ना दिएर पैसा पाइन्छ वा पाइँदैन भन्ने आफ्नो ठाउँमा छ तर, सरकारले देखाइदिएको बाटोमा हिँडेका हामीलाई सरकार आफैले मार्ग निर्देशन दिने छ भन्ने आस छ ।’

सोही सहकारीमा लगभग ८ वर्ष कारोबार गरेका श्याम बहादुर राईको पनि गुनासो उस्तै छ । रौतहट घर भएका राई हाल ललितपुरको भैसैपाटीमा बस्दै आएका छन् । उनले गुडबिल बचत तथा ऋण सहकारी संस्थामा लगभग ८ वर्ष कारोबार गरे । प्रिन्टिङ व्यवसाय गरेको पैसा उनले सहकारीमा बचत गरेका थिए । दैनिक रुपमा उनले ५ सय देखि एक हजार रुपैयाँसम्म बचत गर्ने गरेका थिए ।

उनले नियमित र मुद्दती निक्षेप दुवैमा रकम जम्मा गर्ने गरेका थिए । घर बनाउने क्रममा उनलाई पैसाको आवश्यकता परेपछि मुद्दती निक्षेपमा राखेको एक लाख रकम लिन सहकारीमा गए । तर, रकम लिन जाँदा सहकारीले तत्काल रकम फिर्ता गर्न नसकिने भन्दै दुई दिन पछि आउन अनुरोध गरे ।

‘६ महिना अघि देखि नै सहकारी समस्यामा परेको रहेछ । म आफ्नो बचत रकम फिर्ता लिन जाँदा समेत सहकारीले दिन सकेन । बचत फिर्ता गर्न भन्दै त्यस बेला सहकारीमा १५/२० जना बचतकर्ताहरू जम्मा भए । हामीले बचत फिर्ताको माग राखेपछि १५ दिनको समय दियो । तर, १५ दिनपछि अध्यक्ष दिवाकर श्रेष्ठ फरार भयो’, उनले सुनाए ।

उनका अनुसार उक्त सहकारीले सुरुमा मुद्दती निक्षेपमा बचत गर्नेहरूका लागि १८ देखि २४ प्रतिशतसम्म ब्याज दिने गरेको थियो भने नियमित बचतमा ८ प्रतिशतसम्म ब्याज दिने गरेको थियो । खुत्रुके बाल बचत, नारी लगायतका धेरै स्किमहरू रहेका थिए ।

गुडबिल सहकारी भागेदेखि उनले हालसम्म कुनै पनि सहकारीमा कारोबार गरेका छैनन् । उनका अनुसार ५६० जना बचतकर्ताहरू पीडित रहेका छन् भने ७९ करोड रुपैयाँ हिनामिना गरेको छ । ‘सहकारीले पैसा कहाँ लगानी गरेको छ भनेर हामीले साढे दुई वर्ष भयो खोजेका तर, पत्ता लगाउन सकेका छैनौ । सहकारीले पैसा दिन्छ भन्ने आस छैन । यो सहकारीको लगानी कहाँ छ भन्ने कुराको खोजी हुन पर्‍यो । अध्यक्षको श्रीमती कहाँ छ खोजी हुनपर्‍यो’, उनले भने ।

 सहकारी दर्ता गर्न दिएपछि त्यसको जिम्मा सरकारले पनि लिनुपर्ने उनको भनाई छ । उनी भन्छन्, ‘स्थानीय निकायहरूमा पनि धेरै धायौँ । जिल्ला अदालतदेखि उच्च अदालतसम्म पुगेका छौँ । तर, पनि सुनुवाइ भएको छैन ।’

सहकारी पीडितहरू बचत फिर्ता लगायतका विभिन्न मागहरू राख्दै ३३ दिनदेखि माइतीघरमा धर्नामा छन् । न सरकारले सुनेको छ । न सम्बन्धित निकायको ध्यान नै त्यो आन्दोलनले पाएको छ । ‘मान्छेहरू मर्ने अवस्थामा पुगिसक्यो । सरकार कहाँ छ  । ३३ दिनदेखि धर्नामा छौँ । तर, सरकार मौन छ । वर्षाको समय छ । पानी परेको छ । हामी सडकमा छौँ । खान बस्नको पनि समस्या छ’ उनले सुनाए ।

सहकारीले पैसा फिर्ता दिन्छ भन्ने आस मरिसकेको उनी बताउँछन् । सहकारीले बचत फिर्ता दिन नसके पनि सम्बन्धित निकायले यसको जिम्मा लिनुपर्ने उनको माग छ ।

‘सञ्चालकहरूले अरबौँ रुपैयाँ खाएर भागेका छन् । जेलमा परेकाहरू धरौटीमा छुटेका छन् । बचत फिर्ता गर्नुपर्छ भनेर नक्कली डिभोर्स गरेका छन् । कानुन कहाँ छ । सरकारले सहकारी दर्ता गर्न मात्र दिएर भएन । त्यसको अनुगमन पनि हुनुपर्‍यो बचतकर्ताको पैसाको सुरक्षा हुनपर्‍यो माग पुरा नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ’, उनले थपे ।