शीर्षकहरू

अर्थ मन्त्रालयमा सचिव फेरिने चर्चा, राय र अर्याल मध्ये एक बन्ने सम्भावना

अर्थ मन्त्रालयमा सचिव फेरिने चर्चा, राय र अर्याल मध्ये एक बन्ने सम्भावना

काठमाडौँ। नयाँ अर्थमन्त्रीले पहिलो काम के गर्लान् ? यो प्रश्नको धेरैले दिँदै आएको जवाफ हो - सचिव लगायत मन्त्रालयको टिम फेर्छन्। हो, अब त्यो अनुमान वा विश्वास सही साबित हुने भएको छ। 

चालू आर्थिक वर्षको बजेट निर्माणदेखि नै विवादमा तानिएका कर्मचारी नै छन् अहिले पनि अर्थ मन्त्रालयमा। उनीहरूको अकर्मण्यता र पदीय दायित्व विपरीत तत्कालीन मन्त्री जनार्दन शर्मासँगको मिलेमतोमा गरेका स्वार्थ समुहको पक्षपोषणका कारण अर्थ मन्त्रालय नै गन्हाउने अवस्थामा पुगेको छ। त्यसैलाई मध्यनजर गर्दै मन्त्रालयको उच्च तहका कर्मचारी परिवर्तन गर्ने स्वाभाविक चर्चा चल्न थालेको हो। 

अर्थ मन्त्रालयका एक कर्मचारीका अनुसार अर्थतन्त्रलाई लयमा ल्याउनका लागि मन्त्रालयको उच्च तहको नेतृत्व परिवर्तन गर्न आवश्यक छ। अर्थ मन्त्रालयका अर्थ सचिव कृष्णहरि पुकार र राजस्व सचिव रामेश्वर दंगालले अर्थ मन्त्रालयलाई चलायमान गर्न नसकेको आरोप त्यहीँका कर्मचारीले लगाउँदै आएका छन् । 

त्यसो त उनीहरू आफ्नो काममा असफल नै साबित समेत भइसकेका छन्। चालू आवको बजेटले १२ खर्ब ४० अर्ब रुपैयाँको राजस्व उठ्ने अनुमान थियो । तर, लक्ष्य अनुसारको राजश्व सङ्कलन हुन सकिरहेको छैन। चालू आवको ५ महिना बित्न लाग्दासम्म आन्तरिक तर्फ ८६.३७ प्रतिशत र भन्सारतर्फ ६१.२ प्रतिशत मात्र राजस्व सङ्कलन भएको छ । भन्सार विभाग तर्फ राजस्व सङ्कलन धेरै नै कम छ । सरकारले विलासीताका बस्तुको आयातमा रोक लगाएका कारणले राजस्व कम भएको भन्ने तर्क उनीहरूले गरिरहेका छन् । 

तर, सरकारले आयातमा प्रतिबन्ध लगाएका बस्तुहरूबाट कुल राजस्व योगदानमा १० प्रतिशत मात्र हिस्सा रहेको छ । त्यस्तै ८.५ प्रतिशतको मूल्यवृद्धि रहेका बेलामा आन्तरिक राजस्व विभागले सङ्कलन गर्ने मूल्य अभिवृद्धि कर(भ्याट)को वृद्धिदर मूल्यवृद्धि बराबरको त हुनुपर्ने तर, त्यो पनि देखिएको छैन। हाल सरकार सङ्कलित राजश्वबाट चालु खर्च समेत धान्न नसक्ने अवस्थामा छ। समग्रमा भन्दा अर्थ र राजश्व सचिव दुवै जना असफल देखिएका छन्।  

नयाँ मन्त्रीका रूपमा विष्णु पौडेल आएपछि बजारमा केही सकारात्मक लक्षणहरू देखिन थालेका छन् । उनी मन्त्रालयमा आएयता मात्र  बैङ्क तथा वित्तीय संस्थामा १२ अर्ब भन्दा बढी निक्षेप थपिएको छ। त्यति मात्र होइन थलिएको पूँजीबजारमा समेत नयाँ ऊर्जा र उमङ्ग छाएको देखिएको छ। 

चलायमान बन्न खोजेको अर्थतन्त्रलाई जीवन्त राख्न र तीन वर्षदेखि संकटमा रहेको अर्थतन्त्रलाई माथि उठाउनका लागि पनि अब अर्थ मन्त्रालयमा सक्षम नेतृत्व आवश्यक रहेको तर्क सरोकारवालाहरूले समेत गरिरहेका छन्। यसका लागि हाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा वित्त नीतिका विज्ञ डा. वैकुण्ठ अर्याल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तोयम रायमध्ये एक जनालाई अर्थ मन्त्रालयमा अर्थ सचिवका रूपमा ल्याउने चर्चा चलेको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा वित्त नीतिका विज्ञ डा. वैकुण्ठ अर्यालको सेवा अवधि अब पाँच महिना मात्र रहेको छ। त्यसैले छोटो अवधिको लागी उनलाई ल्याउने वा के गर्ने भन्नेबारे उच्च राजनीतिक तहमा समेत छलफल भइरहेको बताइन्छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तोयम रायले यसभन्दा अघि अर्थ मन्त्रालय अन्तरगत विभिन्न विभागमा रहेर काम गरिसकेका हुनाले उनको सम्भावना प्रबल रहेको मन्त्रालय स्रोत बताउँछ। 

प्रतिक्रिया