शीर्षकहरू

के हो क्रिप्टोकरेन्सी ? भारतमा मात्र १० करोड लगानीकर्ता,अन्य देशमा कति ?

के हो क्रिप्टोकरेन्सी ? भारतमा मात्र १० करोड लगानीकर्ता,अन्य देशमा कति ?

क्रिप्टो र करेन्सी दुई अक्षर मिलेर बनेको यो शब्दमा क्रिप्टो भनेको गुप्त र करेन्सी भनेको रुपैयाँ हो । क्रिप्टोकरेन्सी  संकेताक्षर (कोड वा क्रिप्टोग्राफी)द्वारा सुरक्षित भर्चुअल मुद्रा हो । अनलाइनबाट पैसा जस्तै संकेत हुने भर्चुअल पैसा नै क्रिप्टो करेन्सी हो । सिक्का र नोटहरूको जस्तो यसको भौतिक अस्तित्व रहँदैन। यसमा कारोबारहरूलाई सुरक्षित राख्न, तिनलाई रुजू गर्न र नयाँ मुद्रा निष्कासन गर्न संकेताक्षरको सहारा लिइन्छ। क्रिप्टोकरेन्सी डाटाबेसमा राखिएका ती सीमित प्रविष्टि (इन्ट्री) हुन् । जसलाई खास पूर्वशर्त पूरा नगरीकन कसैले पनि फेर्न वा बदल्न सक्दैनन्। यो एक पूर्ण विकेन्द्रित प्रणालीमा आधारित छ। 

क्रिप्टोकरेन्सीका एकाईहरु माइनिगं भन्ने प्रक्रिया वाट तैयार गरिन्छ । अत्यन्त जटिल गणितीय प्रक्रिया र हिसाबबाट तयार गरिने यस्ता करेन्सीलाई स्थानीय स्टोर या दलाल मार्फत खरिद गरेर आफ्नो भर्चुअल खल्तीमा राख्न सकिन्छ ।

क्रिप्टोकरेन्सीको इतिहास
जापानी नागरिक सातोसी नाकामोतोले सन् २००९ मा अर्का एक कम्प्युटर प्रोग्रामलाई १० बिटिसी क्वाइन पठाएर क्रिप्टोकरेन्सीको कारोवार गरेको देखिन्छ। सन् २००९ को प्रारम्भमा सातोसी नाकामोतो छद्म नामका एक व्यक्तिले बिटक्वाइनको आविष्कार गरे। 

क्रिप्टोकरेन्सीले कसरी काम गर्छ ? 

पियर टु पियर अर्थात् पर्सन टु पर्सन नेटवर्क मार्फत  विश्वका हजारौँ कम्प्युटर नेटवर्क जोइन भएको हुन्छ । यसले काम गर्ने कम्प्युटर सिस्टमलाई ब्लक चेन भनिन्छ ।ब्लक चेन अर्थात् ब्लक र चेन दुई शब्द मिलेर बनेको शब्द हो अर्थात् ’क्रिप्टोकरेन्सी’मा भएको कारोवार ब्लक–ब्लकमा हुने गर्छ । जस्तो एउटा ब्लकमा कारोवार भएपछि अर्को ब्लकमा पुरानो ब्लकमा भएको कारोबारसहित नयाँ ब्लक सुरु हुन्छ । क्रिप्टोकरेन्सीको सबै कारोबार एक आपसमा जोडिएको हुन्छ । 

यो एउटा कम्प्युटरमा मात्र होइन विश्वको हजारौँ कम्प्युटरमा सबै पारदर्शी रूपमा रहेको हुन्हिछ। ब्लक चेनमा संयुक्त रूपमा एउटा चेनमा बसेर ब्लक बनाउने र त्यसलाई माइनिङ गर्ने सबैले संयुक्त रूपमा भेरिफाइड गर्ने काम गर्नुपर्ने हुन्छ । जब चेनमा भएका सबै कम्प्युटरहरूले कुनै ब्लकलाई भेरिफाई गर्छन्, अनि मात्रै त्यो ब्लक ब्लक चेनमा थपिन पुग्छ । कुनै एक व्यक्तिले चाहेर मात्र यसको सिस्टम तलमाथि हुँदैन । विश्वमा हजारौँ प्रयोगकर्ताले यसको कारोवार गरेको हुन्छन् र यसलाई हिसाब मिलाएर राख्न माइनरले गर्छ । माइनर गरेबापत यसमा केही बोनस प्राप्त हुने हुन्छ । क्रिप्टोकरेन्सीमा माइनिङ्गले कारोबारलाई भ्यालिड गर्ने काम गर्छ । यसको माइनिङ्ग गरेबापत माइनरको लागि सोही करेन्सीमा केही रिवार्ड दिइन्छ । 

क्रिप्टोकरेन्सीबाट के के गर्न सकिन्छ ? 
अहिले विश्वको धेरै व्यापारीहरूले  अनलाइन वा अफलाइन दुवै माध्यमबाट  बिटक्वाइनलाई भुक्तानीको एक साधनको रूपमा स्वीकारेका छन् । पश्चिमा मुलुकमा ठुल्ठुला अनलाइन बिक्रेतादेखि साना लोकल पसल, बार र रेस्टुरेन्टमा बिटक्वाइन चल्न थालिसकेको छ। साथै, होटल, उडान, गरगहना, कम्प्युटर आदिका लागि मात्र होइन कलेजको फी तिर्नसमेत बिटक्वाइन चल्न थालिसकेको छ। बिटिफाई र ओपन बजारजस्ता केही अनलाइन शपिङ्ग साइटहरु छन् जसले केवल क्रिप्टोकरेन्सीमात्र स्वीकार गर्छन्।अचेल केही मुलुकमा बिएमडब्लु ,कोकाकोला ,माइक्रोसफ्ट ,पिज्जाहट, केएफसी र सबवेजस्ता विश्वव्यापी फुड चेनहरूले समेत बिटक्वाइनबाट भुक्तानी स्विकार्न थालेका छन्।

यी हुन् केही प्रख्यात क्रिप्टोकरेन्सीस 

बिटक्वाइन: क्रिप्टोकरेन्सीमध्ये सबैभन्दा पहिलो र सबैभन्दा लोकप्रिय किसिम बिटक्वाइन हो। दैनिक २ लाखभन्दा बढी पटक बिटक्वाइनमा  कारोबार हुने गर्दछ । यसलाई विश्वका धेरै मुलुकमा भुक्तानीको माध्यमका रूपमा स्विकारिएको छ। 

इथिरियमः भिटालिक बुटेरिनले पत्ता लगाएको यो इथिरियमले मानिसहरुको कारोबार र मौज्दातलाई मात्र होइन जटिल करार एवं कार्यक्रमहरूलाई समेत प्रमाणित गर्न सक्छ। यसको ब्लक चेनमा बिटक्वाइनमा भन्दा धेरै कुरा अटाउन सक्छ। 

रिपलः रिपलले वित्तीय संस्थाहरूलाई सहयोग गर्ने उद्देश्य  सहित अघि बढेको छ। बिटक्वाइन र अरू क्रिप्टोकरेन्सीहरु बैंकिङ्ग प्रणालीबाट पूर्ण रूपमा अलग रहेका छन्। रिपलको  यिनै विशेषताले भविष्यमा  रिपललाई  बैंक तथा वित्तीय  संस्थाहरूले अपनाउने सम्भावना देखिन्छ। 

लिटक्वाइनः  छिटो माइनिङ्ग गर्न सकिने हुँदा  लिटक्वाइनलाई पनि धेरैले  अपनाएका छन्।  अमेरिकाको न्यु जर्सीस्थित हेलन्स पिज्जा नामक रेष्टुरेण्टले लिटक्वाइनलाई पनि स्वीकार गर्ने जनाइसकेको छ। यस्तै अन्य चलेको क्रिप्टोकरेन्सीमा मोनेरो, थेटेर,लाइटकोइन आदी रहेका छन्। 

कुन कुन देशमा कति छन् लगानीकर्ता ? 
–  क्रिप्टोकरेन्सीको सबभन्दा बढी प्रयोग भियतनामले गरेको देखिन्छ। हाल भियतनाममा ५९ लाख मानिसले क्रिप्टोकरेन्सीको प्रयोग गर्दछन्। भियतनामको कुल जनसङ्ख्याको ६ दशमलव १२ प्रतिशत मानिसहरू आज क्रिप्टोकरेन्सीको मालिक छन्। 

– एक अनलाइन रिपोर्टका अनुसार कोलम्बियाको करिब ८० प्रतिशत मानिसले क्रिप्टोकरेन्सीप्रति रुचि देखाएको देखिन्छ। कोलम्बियामा ६ दशमलव १४ प्रतिशत मानिस क्रिप्टोकरेन्सीको मालिक छन्। 

– सन् २०२० मा भएको एउटा अनलाइन सर्वे रिपोर्ट अनुसार नाइजेरियाको कुल जनसङ्ख्याको ३२ प्रतिशत जनताले कुनै न कुनै प्रयोजनका लागि क्रिप्टोकरेन्सीको प्रयोग गरेको देखिन्छ। त्यहाँ ६ दशमलव ३ प्रतिशत जनसङ्ख्या क्रिप्टोकरेन्सीको मालिक छन्।

–  साउथ अफ्रिकाको कुल जनसङ्ख्याको करिब ६ दशमलव ११ प्रतिशत मानिसले क्रिप्टोकरेन्सीमा लगानी गरेका छन्। 

– छिमेकी मुलुक भारतमा अहिलेसम्म करिब १० करोड लगानीकर्ताद्वारा ६ लाख करोड रुपैयाँ क्रिप्टोमा लगानी गरिसकेका छन् । त्यहाँ ठुलो सङ्ख्यामा युवाहरूको समूहले अन्धाधुन्ध लगानी गर्न थाले पछि भारतले क्रिप्टोकरेन्सी र डिजिटल करेन्सी नियमनको लागि कानुन जारी गर्ने तयारी गरेको छ । ’क्रिप्टोकरेन्सी र आधिकारिक डिजिटल करेन्सी नियमन विधेयक २०२१’ नाम दिइएको यो कानुन चाडै नै ल्याउँदै छ। 

– अमेरिकाको कुल जनसङ्ख्याको ८ दशमलव ३ प्रतिशत मानिस क्रिप्टोकरेन्सीको मालिक छन्।  यस्तै,भेनेजुएलाको १० दशमलव ८ प्रतिशत मानिसले क्रिप्टोकरेन्सीमा लगानी गरेका  छन्। 

-रसियाको कुल जनसङ्ख्याको ११ दशमलव ३ प्रतिशत जनताले क्रिप्टोकरेन्सी खरिद गरेका छन्।  आज क्रिप्टोकरेन्सी अपनाउने देशहरूमा युक्रेन पहिलो नम्बरमा छ।  युक्रेनको कुल जनसङ्ख्याको १२ दशमलव ७ प्रतिशत जनसङ्ख्याले क्रिप्टोकरेन्सीमा लगानी गरेका छन्। -चीनले भने भर्चुअल मुद्राको कारोबारलाई अवैध भन्दै क्रिप्टोकरेन्सीको कारोबारमा पूर्ण रूपमा बन्देज लगाएको छ । 

क्रिप्टोकरेन्सीको वैधानिकताका विषयमा भने देशपिच्छे अलग अभ्यास पाइन्छ । नेपाल, भारत, बङ्गलादेश, बोलिभिया, इक्वेडर, भियतनाम, कीर्गिकिस्तानलगायतका मुलुकमा बिटक्वाइन लगायत सबै डिजिटल मुद्राहरू अवैध छन् । जोर्डन, थाइल्यान्ड र रुसजस्ता मुलुकले आंशिक स्वीकृति दिएको छ । अमेरिका, क्यानडा, मेक्सिको, ब्राजिल, अर्जेन्टिना, चिली, हङकङ, जापान, दक्षिण कोरिया, इजरायल, टर्की, दक्षिण अफ्रिका, मलेसिया, सिंगापुर, फिलिपिन्स, अस्टेलिया, न्युजिल्याण्ड तथा युरोपका सबैजसो मुलुकमा बिटक्वाइनलाई अनुमति एवं मान्यता दुवै प्राप्त छ ।  

यस बिचमा चीनले आफ्नै डिजिटल करेन्सी प्रचलनमा ल्याउन प्रयोग सुरु गरिसकेको छ । छिमेकी भारतले पनि आफ्नो आधिकारिक डिजिटल मुद्रा प्रचलनमा ल्याउनेबारे औपचारिक अध्ययन सुरु गरिसकेको छ ।त्यस्तै  युरोपमा पनि डिजिटल युरो ल्याउनेबारे गृहकार्य सुरु भैसकेको छ । 

नेपालमा क्रिप्टोकरेन्सीको अवस्था 

विश्वभर तीव्र गतिमा फैलिरहेको क्रिप्टोकरेन्सी कारोबारबाट नेपाल पनि अछुतो रहन सकेको छैन।  खास गरी नेपाली युवाहरूमा यसको  बढी चासो देखिन्छ। नेपाल सरकारले पटक पटक क्रिप्टोकरेन्सीमा लगानी नगर्न आग्रह गरेता पनि यसमा लुकिछिपी लगानी भइरहेको छ।

केही दिन अघि मात्रै राष्ट्र बैंकले एक सूचना जारी गर्दै भर्चुअल करेन्सी र क्रिप्टोकरेन्सीमा कारोबार नगर्न चेतावनी नै दिएको थियो। नेपालमा क्रिप्टोकरेन्सी व्यवसायले मान्यता पाएको छैन । अवैध कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई पुँजी पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न नहुन राष्ट्र बैंकले पटक पटक सूचना जारी गर्दै आग्रह गर्दै आएको छ।
 

प्रतिक्रिया