काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युत् उपभोगमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता नहुने स्पष्ट पार्दै उपभोक्तालाई अतिरिक्त भार नपर्ने गरी सहुलियतका विकल्प ल्याइने बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार आयोजना गरेको ‘पोस्ट बजेट’ छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले विद्युत्मा भ्याट लागू गर्ने निर्णयबाट सरकार पछि नहट्ने बताए। उनले आगामी साउनदेखि नै अन्तिम उपभोक्तालाई प्रत्यक्ष असर नपर्ने गरी वैकल्पिक व्यवस्था ल्याउने तयारी भइरहेको जानकारी दिए।
“विद्युत्मा भ्याट लाग्छ र लागू हुन्छ, तर उपभोक्तालाई मार नपर्ने गरी हामी विभिन्न विकल्पमा काम गरिरहेका छौं,” उनले भने।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तालाई भ्याट लगाउने व्यवस्था गरिएपछि यसको व्यापक आलोचना भइरहेको छ। यसबारे प्रतिक्रिया दिँदै वाग्लेले सरकारले ठूलो राजनीतिक तथा नीतिगत साहसका साथ उक्त निर्णय गरेको बताए।
उनले विगतमा पनि यस्तो विषय उठ्ने गरे पनि कार्यान्वयन गर्ने आँट कसैले नगरेको उल्लेख गर्दै कर प्रणालीलाई आयमा आधारितभन्दा उपभोगमा आधारित बनाउने नीति अवलम्बन गरिएको बताए।
“सबै कुरा निःशुल्क वितरण मात्र गर्ने हो भने देशको अवस्था भेनेजुएलाजस्तै हुन सक्छ,” उनले भने, “त्यसैले उपभोगका आधारमा कर प्रणालीलाई व्यवस्थित गर्न खोजिएको हो।”
अर्थमन्त्री वाग्लेले सरकारले प्रस्तुत गरेको बजेटले आगामी पाँच वर्षका लागि आर्थिक नीतिको स्पष्ट दिशा तय गरेको दाबी गर्दै असल नियत र दीर्घकालीन सोचका साथ अर्थतन्त्रलाई बलियो बनाउने काममा सरकार प्रतिबद्ध रहेको बताए।
आर्थिकन्यूज
प्रतिक्रिया