शीर्षकहरू

सामाजिक सुरक्षा कोषमा निजी क्षेत्रको बढ्दो आकर्षण, योगदानकर्ताले जम्मा गरे ११ अर्ब रुपैयाँ

सामाजिक सुरक्षा कोषमा निजी क्षेत्रको बढ्दो आकर्षण, योगदानकर्ताले जम्मा गरे ११ अर्ब रुपैयाँ

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध हुने निजी संघ संस्थाको सङ्ख्या बढ्दो क्रममा रहेको छ । स्थापनाको समयमा निकै कम संघ संस्थाको योगदानबाट कार्यक्रम सुरु भएको यस कोषमा हालसम्म करिब १६ हजार भन्दा बढी संघ संस्थाहरू सूचीकृत भइसकेका छन् । 

कोषले दिने सेवा सुविधा प्रभावकारी भएकाले हाल कोषमा दैनिक ठुलो सङ्ख्यामा संघ संस्थाहरू सूचीकृत हुन आउने गरेको कोषका निर्देशक तथा सूचना अधिकारी डा. रोशन कोजुले बताए । उनले भने, ‘सुरुमा २०/२५ वटा संघ संस्थाबाट मुस्किलले महिनाको १ करोड रुपैयाँ जम्मा हुन्थ्यो । तर, अहिले दिनमै करिब डेढ करोड रुपैयाँ संकलन हुने गरेको छ ।’   

सुरुवाती दिनमा कोषको प्रभावकारी योजना नआएकोले सूचीकृत हुनेको सङ्ख्या धेरै भए पनि योगदान भने नआएको उनको भनाई छ । उनले भने, ‘सामाजिक सुरक्षा कोष नेपालको सन्दर्भमा नौलो थियो । यसकासाथै सुरुवाती समयमा कोषको योजना पनि प्रभावकारी रूपले अगाडी आउन सकेको थिएन । ठुलो सङ्ख्यामा सूचीकृत भएर पनि योगदान रकम भने नियमित रूपमा कमैले बुझाएका थिए ।’ तर, अहिले हरेक दिन औसतमा १० देखि १५ वटा संघ संस्थाबाट २ सयदेखि ५ सयको हाराहारीमा योगदानकर्ताहरू जोडिने गरेको डा. कोजुले जानकारी दिए । 

कति छन् कोषमा आबद्ध योगदानकर्ता ?    

सामाजिक सुरक्षा कोषको मङ्सिर मसान्तसम्मको तथ्यांकलाई हेर्ने हो भने कृषि क्षेत्रबाट ५ सय ६०, निर्माण क्षेत्रबाट ४ सय १५, यातायात क्षेत्रबाट २ सय १५, शिक्षा क्षेत्रबाट ३ हजार २०, सञ्चार क्षेत्रबाट १२ सय ३६ योगदानकर्ताहरू सूचीकृत भएको देखिन्छ । त्यस्तै, बैंक तथा वित्तीय क्षेत्रबाट १२३३ लगायत अन्य विभिन्न क्षेत्रबाट गरी करिब १६ हजार २३ संघ संस्थाबाट करिब ३ लाख भन्दा बढी योगदानकर्ताहरू कोषमा सूचीकृत भएको तथ्याङ्कमा उल्लेख छ ।  

कोषका निर्देशक डा. कोजुका अनुसार सूचीकृत भएकामध्ये करिब ३५ सय संघ संस्थामा आबद्ध करिब २ लाख योगदानकर्ताले नियमित रूपमा कोषमा योगदान गर्दै आएका छन् । हाल कोषमा योगदानकर्ताबाट १० अर्ब ९९ करोड रुपैयाँ भन्दा बढी रकम जम्मा भइसकेको छ । 

साथै सरकारले कोषलाई दिने भनी घोषणा गरेको करिब डेढ अर्ब रुपैयाँ समेत जम्मा हुन बाँकी रहेको डा. कोजुले बताए । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले श्रमिकलाई राहत दिने हिसाबले आर्थिक वर्ष २०७७/७८ को जेठ र असारको योगदान रकम सरकार फेरिए सँगै अलमलमा परेको उनको भनाई छ । 

आबद्ध बैंक तथा वित्तीय संस्था न्यून 

कोषमा अन्य क्षेत्रको तुलनामा बैंक तथा वित्तीय संस्थाहरू न्यून मात्रामा आबद्ध भएको देखिन्छ । यस बिचमा कोषमा सूचीकृत भएका १२ सय ३३ बैंक तथा वित्तीय संस्थाहरू मध्य हाल ४ सय ७५ संस्थाका १९ हजार ५ सय ६४ कर्मचारीहरूले मात्रै नियमित योगदान दिइरहेका छन् । 

कोषको तथ्याङ्क अनुसार कोषमा सुरुमा १२ वाणिज्य बैंक सूचीकृत भएकोमा हाल ४ ओटा मात्रै आबद्ध छन् । त्यस्तै ३५ वटा इन्स्योरेन्स कम्पनी जोडिएकोमा हाल १४ वटा कम्पनी मात्रै आबद्ध छन् । यस बिचमा ३ वटा विकास बैंकले कोषसँग सम्झौता गरेर पनि पनि हाल सम्म योगदान रकम समेत बुझाएका छैनन् ।

त्यस्तै अन्य संस्थाहरूमा क्रमशः सहकारी ३८०, क्यापिटल मार्केट १२, इन्भेष्टमेन्ट कम्पनी १४, माईक्रो फाइनान्स १८, रेमिटेन्स कम्पनी ७ ले मात्र अहिले सम्म नियमित योगदान गरिरहेका छन् । अधिकांश बैंक तथा वित्तीय संस्थाहरू कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमा आबद्ध छन् । 

साथै धेरै बैंकहरुले सामाजिक सुरक्षा कोष सञ्चालनमा आउनुभन्दा अघिदेखि नै राष्ट्र बैंकबाट स्वीकृति लिएर छुट्टै अवकाश कोष खडा गरेका कारण कोषमा सूचीकृत नभएका हुन् । यस बिचमा सर्वोच्चले बैंक तथा वित्तीय संस्थाहरू स्वेच्छाले सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन गएको अवस्थामा बाहेक प्रस्तुत निवेदनको अन्तिम किनारा नलागेसम्म यथास्थितिमा राख्न आदेश दिए सँगै कोषमा जोडिने क्रम झनै खस्केको देखिन्छ । 

अवकाश योजनामा करिब ४३ करोड निकालियो   

कोषमा मङ्सिर मसान्त सम्ममा ११ हजार ५ सय ८ श्रमिकहरूबाट १४ हजार ९ सय २१ वटा उजुरी परेको छ । उक्त उजुरी बापत कोषले करिब ५२ करोड ७३ लाख भन्दा बढी रकम भुक्तानी गरेको देखिन्छ । यसरी भुक्तानी गरेको रकम मध्य करिब ४३ करोड २१ लाख भन्दा बढी रकम अवकाश योजना अन्तर्गत निकालिएको छ । 

यस अवधिमा विभिन्न कारणले गर्दा ठुलो सङ्ख्यामा करिब ४ हजार योगदानकर्ताहरूले अवकाश लिएको डा. कोजु बताए । कोषले सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरूलाई विभिन्न ४ शीर्षकमा रकम भुक्तानी गर्ने गर्दछ । यस बिचमा कोषले औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा ६ हजार ७ सय ८९ उजुरी परेको मा करिब ७ करोड ६४ लाख भन्दा बढी रकम भुक्तानी गरेको छ । 

दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा २ सय ७ उजुरी परेकोमा करिब ६५ लाख रकम भुक्तानी गरेको देखिन्छ । त्यस्तै, आश्रित परिवार सुरक्षा योजनामा १ हजार ८६ उजुरी परेकोमा १ करोड २२ लाख भन्दा बढी रकम भुक्तानी भएको देखिन्छ । यो बिचमा कोषमा आबद्ध १२६ जना योगदानकर्ताको मृत्यु भई उजुरी परेकोमा कोषको नियम अनुसार आश्रित परिवारलाई नियमित पेन्सन दिन सुरु गरिसकेको छ ।

यस्तो छ सामाजिक सुरक्षा कोषको अबको अभियान  

२०७६ साल भदौको १ गतेबाट सुरुवात भएको यस कोषले देशभर कुल ९ लाखभन्दा बढी रोजगारदाता कम्पनीहरूलाई लक्षित गर्दै योगदानमा आधारित सामाजिक सुरक्षा कोष सञ्चालनमा ल्याएको हो । हालसम्ममा कोषमा ठुला रोजगारदातामा चौधरी ग्रुप, गोल्छा अर्गनाइजेसन, डाबर नेपाल, सूर्य नेपाल, शिवम् सिमेन्ट, युनिलिभर, जिफोर एस सहित २ सय भन्दा बढी आउटसोर्सिङ कम्पनी छन् । साथै, नर्भिक अस्पताल, नोबेल मेडिकल कलेज, मेडिकेयर अस्पताल, गोल्डस्टार सुज, आम्दा नेपाल लगायत अन्य सेवा तथा वस्तु उत्पादक संस्थाहरू कोषमा आबद्ध भइसकेका छन् ।   

अझै हजारौँको सङ्ख्यामा निजी संघ संस्थालाई जोड्न नसकिनुको कारण बताउँदै निर्देशक डा. कोजुले भने, ‘नेपालको सन्दर्भमा सामाजिक सुरक्षा कोष नितान्त नौलो हो । अमेरिकामा नै सामाजिक सुरक्षा कोष पूर्ण रूपले लागू हुन २५ वर्ष लाग्यो । हाम्रो जस्तो देशमा २५ वर्ष त नलाग्ला तर बढीमा लगभग १० देखी १५ वर्षमा सबैलाई समेट्न सक्छौ ।’  

त्यस्तै, कोषले दिएका सेवा सुविधा देखेर नै अन्य संघ संस्थाहरू जोडिने दाबी गर्दै उनले भने, ‘हामीले हाम्रो उपलब्धि नै देखाउने हो । उपलब्धि देखेर नै मान्छेहरू आकर्षित हुन्छन् । विस्तारै कोष खोल्नुको औचित्यता पुष्टि हुन्छ ।’  

 

प्रतिक्रिया