शीर्षकहरू

शेयर बजार 'ठुला खेलाडी' मुक्त बन्दै, सानाले धैर्यता राख्न सके राम्रो

शेयर बजार 'ठुला खेलाडी' मुक्त बन्दै, सानाले धैर्यता राख्न सके राम्रो

मंगलबार नेप्से परिसूचक ५५.८९ अंकले घटेर तीन हजार एक सय २५ दशमलव १ विन्दुमा झर्‍यो। धेरै जना साना लगानीकर्ताले आशङ्का व्यक्त गर्दै प्रश्न गरे- के अब 'बुल' थाकेको हो ? नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरे देखि नै नेपालको पुँजी बजारले अब कस्तो यात्रा तय गर्ला भन्ने चिन्ता बढिरहेको बेला मंगलबार ठुलो अंकले परिसूचक घट्दा सामान्य 'करेक्सन' मात्रै होला भन्ने विश्वास धेरै लगानीकर्ताले गर्न सकेनन्। 

तर, मंगलबार नै केन्द्रीय बैंकले इजाजतपत्रप्राप्त 'क' 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई संशोधित एकीकृत निर्देशन जारी गरिसकेपछि भने अब तत्काललाई त्यस्तो आशङ्का पालिरहनु नपर्ने भएको छ। धेरैलाई डर थियो कतै राष्ट्र बैंकले मौद्रिक नीति मार्फत घोषणा गरेको शेयर धितो कर्जा माथिको कडाइलाई अझ निर्मम बन्दै छोटो समयमा नै सीमित गर्नु पर्ने गरी पो निर्देशिका जारी गर्ने हो कि ? 

तर, त्यस्तो भएन राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयन गर्न जारी गरेको निर्देशिकामा यदि अहिले कुनै व्यक्तिले शेयर धितोमा कुल १२ करोड भन्दा बढी ऋण लिएको भए त्यसलाई एक वर्षभित्र सो सीमाभित्र झारिसक्नु पर्ने छ। यो नयाँ घोषणा होइन। मौद्रिक नीतिमा नै गरिएको नीतिगत व्यवस्था हो। तर, ठुला लगानीकर्तालाई के अपेक्षा थियो भने राष्ट्र बैंकले सो नीतिमा पुनर्विचार गर्ने छ। सो आशा भने अब मरेको छ किनकि कार्यान्वयनको लागी निर्देशिका नै जारी भइसक्यो। 

सेयर धितो ऋणमा राष्ट्र बैंकले गरेको कडाइको नेपालको पुँजी बजारमा कस्तो असार पर्ला ? यो अहिलेको अहम् प्रश्न हो। अब यसमा केन्द्रित रहेर केही विमर्श गरौँ। 

व्यापारीको बुझाई 
नेपालका उद्योगी व्यापारीको सबैभन्दा ठुलो संस्था नेपाल उद्योग वाणिज्य महासङ्घले चालु आर्थिक वर्षको मौद्रिक नीतिबारे तुरुन्तै औपचारिक प्रतिक्रिया दिँदै भनेको थियो - 'पुँजी बजारमा निरन्तर वृद्धि भइरहेको सर्वसाधारणको समेत रुचि बढिरहेका बेला बैङ्क वित्तीय संस्थाबाट प्रवाह हुने कर्जामा सीमा लाग्दा यसले बजार निरुत्साहित हुने देखिन्छ ।' 

त्यसै गरी, नेपाल उद्योग परिसंघ (सिए नआई) ले पनि आफ्नो औपचारिक प्रतिक्रियामा मौद्रिक नीतिले शेयर बजारको मनोबल खस्काउने उल्लेख गरेको थियो। परिसंघले सार्वजनिक गरेको प्रतिक्रियामा 'बैङ्क तथा वित्तीय संस्थाहरूबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताहरूको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले यस्तो कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रुपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म मात्र लिन सक्ने व्यवस्था मिलाइने घोषणाले पुँजी बजार प्रभावित हुने परिसंघको बुझाइ छ। यसले ठुला लगानीकर्ताको मनोबल कमजोर हुने परिसंघको बुझाइ छ' भनेर स्पष्ट रूपमा भनेको छ। 

कति छन् ठुला लगानीकर्ता 
परिसंघले भनेका ठुला लगानीकर्ताको सङ्ख्या जम्मा ७२० जना रहेको खुलेको छ। उनीहरूले शेयर धितोमा ३५ अर्ब रुपैयाँ ऋण लिएका छन्। जुन शेयर धितो कर्जामा भएको कुल लगानीको ४३ प्रतिशत हुन आउँछ। यसरी अहिले बैंकबाट ४ करोड भन्दा बढी ऋण लिएका यस्ता 'ठुला' भनिएका लगानी कर्ता नै हुन् जसले नेपालको पुँजी बजारलाई पटक पटक अस्वाभाविक मार्गमा यात्रा गराइरहेका छन्।  उनीहरूको चङ्गुलबाट नेपालको पुँजी बजारलाई बाहिर निकाल्ने जुन प्रयत्न राष्ट्र बैंकले गरेको छ त्यो वास्तव मै स्वागत योग्य छ।     

राष्ट्र बैंकको सो उद्देश्य मौद्रिक नीतिले नै सिधा शब्दमा व्यक्त गरेको छ। जसमा लेखिएको छ, "बैङ्क तथा वित्तीय संस्थाहरूबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताहरूको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले यस्तो कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम रु. ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम रु. १२ करोडसम्म मात्र लिन सक्ने व्यवस्था मिलाइने छ । ऋणीले उक्त सीमाभन्दा बढी कर्जा उपभोग गरिरहेको अवस्थामा यस्तो कर्जा नियमित गर्न उपयुक्त समय सीमा प्रदान गरिने छ।" 

बस्, मंगलबारको निर्देशिकाले त्यो समय सीमा एक वर्ष तोकेको मात्र हो। यसले निश्चय पनि बैंकबाट शेयर धितोमा ३५ अर्ब ऋण लिएका ७२० जना कारोबारीलाई केही दबाब पर्छ। तर, के सहज अनुमान लगाउन सकिन्छ भने मौद्रिक नीति जारी भएयताको कारोबारबाट शायद उनीहरूले आफूलाई सुरक्षित राखिसके। उनीहरूले चलाएको हल्ला र बजारमा ल्याएको उतारचढावमा हौसिएका र रनभुल्लमा परेर फँसेका कतिपय साना लगानीकर्ताका केही स्क्रिप्टहरू चाहिँ अब पक्कै पनि समस्यामा पर्ने छन्। 
   
अब आयो 'साना'को दिन  
राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख गरेको शब्दलाई मात्र नै केलाउने हो भने पनि के देखिन्छ भने केन्द्रीय बैंकले 'बैङ्क तथा वित्तीय संस्थाहरूबाट शेयर धितोमा प्रवाह गरेको मार्जिन प्रकृतिको कर्जामा उसले जोखिम' देख्यो। त्यसैले सो जोखिम 'न्यूनीकरण गर्दै साना लगानीकर्ताहरूको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले' मौद्रिक नीतिमा यस्तो व्यवस्था गरिएको हो। 

एकै बैंकबाट एउटै व्यक्तिलाई ठुलो मात्रामा शेयर धितोमा मार्जिन प्रकृतिको कर्जा प्रवाह हुने हो भने त्यसले जोखिम बढाएको राष्ट्र बैंकले महसुस गर्दा अवश्य पनि त्यस्ता व्यक्तिले पुँजी बजारलाई अस्वाभाविक रूपमा फुलाएको र साना लगानीकर्तालाई लोभ्याएर फसाउन लागेको पनि देख्यो। त्यसैले केन्द्रीय बैंकले साना लगानीकर्ताको समेत मार्जिन प्रकृतिको ऋणमा पहुँच पुगोस् भन्ने उद्देश्य राख्यो। भइरहेको के थियो भने ७२० जना ठुला लगानीकर्ताले नै बैंकबाट शेयर धितोमा भएको लगानीको ४३ प्रतिशत हिस्सा ओगटेका थिए। यसले गर्दा बैंकले मार्जिन टाइपको लगानी गर्न पाउने सीमा नै सकिन्थ्यो र साना लगानीकर्ताले ऋण नै नपाउने अवस्था थियो। अब त्यसको अन्त्य हुने भएको छ।   

संसद्को अर्थ समितिमा केहिसाता अघि प्रस्तुत तथ्याङ्क अनुसार नेपालको पुँजी बजारमा समग्रमा आठ लाख ८० हजार लगानीकर्ता कारोबारमा सक्रिय रहेका छन्। तर, बैंकर्स एसोसिएसनले दिएको तथ्याङ्कमा ठुला भनिएका लगानीकर्ता मात्र ७२० जना देखिए जसले ४ करोड रुपैयाँ भन्दा बढी ऋण शेयर धितो राखेर लिएका छन्। 

मंगलबार राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा साना उद्योगी, व्यापारी र कारोबारीलाई केन्द्रमा राखिएको छ।  उनीहरूले बैंक तथा वित्तीय संस्थाबाट सहज रूपमा कर्जा प्राप्त गर्न सकुन् भन्ने उद्देश्य त्यसमा छ।  कतिपय अवस्थामा त ७ दिनमा कर्जा नदिए नदिनुको लिखित कारण समेत बैंकले खोल्नु पर्ने उल्लेख छ।  हामी सहज अनुमान लगाउन सक्छौँ जे जस्तो शीर्षकमा बैंकबाट ऋण लिए पनि अहिले सबैले लगानी गर्ने भनेको शेयर बजारमा नै हो। न कोही गाडी बनाउन ग्यारेज जान्छन् न कसैले हस्तकला उद्योगमा नै पुँजी थप्छन्।  त्यसैले पुँजी बजारमा देखिएका अधैर्य साना लगानीकर्ता पनि निर्णायक बन्ने अवस्था आउँदा पुँजी बजार उतार चढावपूर्ण बन्ने चाहिँ पक्का छ। यस्तो बेला साना लगानीकर्ताले केही दिन धैर्यता नगुमाउने हो भने पुँजी बजारमा मंगलबार झैँ 'बाढी' समेत पस्दैन।  

प्रतिक्रिया