शीर्षकहरू

नाफाखोरलाई तह लगाउने दशरथ ग्रोसरीको गज्जब काइदा

नाफाखोरलाई तह लगाउने दशरथ ग्रोसरीको गज्जब काइदा

बिना कुनै कारण बजारमा खाद्यान्नको मूल्य बढाउने र उपभोक्ताको भान्सालाई तनावपूर्ण बनाउने खेलमा व्यापारीहरू लाग्छन् । सप्लायरले बिना कारण कृत्रिम अभाव सिर्जना गर्ने र मूल्य बढाउने गरेपछि एक सचेत युवाले त्यसबाट मुक्तिको बाटो खोजे । नयाँ आइडिया फुर्‍यो– उत्पादकसँग सिधै वस्तु खरिद गर्ने र उपभोक्तामा पुर्‍याउने । खनालको दिमागमा यस्तो विचार आउनु स्वाभाविकै थियो । त्यसपछि बन्यो योजना ।   

एक जनाले मात्र किन्ने कुरा भएन फ्याक्ट्रीबाट । त्यसैले उनले केही उपभोक्ता जम्मा गरेर र आफ्नो व्यवस्थापनले बिचमा पुलको काम गर्ने योजना सुनाए । फ्याक्ट्री टु होमको यो योजना उपभोक्तालाई मन नपर्ने कुरै भएन । त्यसैले उनले कोरोना महामारीका कारण पेसा, व्यापार, व्यवसाय गुमाएका मानिसहरू समेटेर एउटा समूह बनाए, लगानीकर्ताको रूपमा । 

अनि सुरु भयो उपत्यकाका सात ठाउँमा दशरथ ग्रोसरी । जहाँ दाल, चामल, गेडागुडी, खाने तेल, पिठो, मसला, चिया, चिनी, ग्यास, चकलेट बिस्कुटदेखि घरायसी सरसफाइका समानहरूसमेत पाइन्छ । फ्री होम डेलिभरीको सर्भिस सहितका यी पसलहरू उपत्यकाका हरहर महादेव, ग्वार्को, भैसेपाटी, जगाती, इमाडोल, र ललितपुरको सिद्धिपुर र लुभुमा सञ्चालनमा छन् । 

दुई वर्ष अघिदेखि सुरु भएको यो ग्रोसरी पसलको फ्रेन्चाइज लिन अहिले पाँच सय भन्दा बढीले इच्छा देखाएर आशय पत्र पेस गरेको दशरथ ग्रोसरीका म्यानेजिङ डाइरेक्टर दशरथ खनाल बताउँछन् । यसको आकर्षण बढेसँगै अब खनाल अर्को काममा लाग्दैन । त्यो हो, फार्मर टु होम । अर्थात् अब फ्याक्ट्रीबाट मात्रै होइन कि किसानको बारीबाट सिधै उपभोक्ताको भान्सामा खाद्य वस्तु पुर्‍याउने । 

खनालको दाबी छ, उनको पसलमा अत्यावश्यक सम्पूर्ण समान पाइन्छ । र, उनले उपलब्ध गराएको मूल्यमा अरू कहीँ पाइँदैन । वस्तुको मूल्य नबढोस् भन्नका लागि उनले अपनाएको विधि पनि गज्जब छ । उनी भन्छन्, ‘हाम्रा पसलमा अनावश्यक ढंगले सजावटमा खर्च गरेका छैनौँ । त्यसैले वस्तुको मूल्यमा थप भार थपिँदैन ।’ उनी थप्छन्, ‘आखिर जतिसुकै पसल सजावट गरे पनि आखिर चामल त उद्योगबाट प्याकिङ भएको बोरामै हुने हो । त्यसैले पसल सजाएर किन हरेक बोरा चामलमा त्यसको मूल्य जोड्नु भन्ने हाम्रो भनाइ हो ।’ 

वीरगन्ज, भैरहवा, विराटनगरका उद्योगहरूबाट सिधै वस्तु ल्याउने गरेको उनी बताउँछन् । देशभरि ११ सय वटा यस्ता पसलहरू राख्ने उनको योजना रहेको छ । अहिले धेरैजसो नयाँ व्यापारीहरू अनलाइन प्लेटफर्म मार्फत व्यापारमा लागिरहे पनि खनाल भने त्यतातिर आकर्षित देखिएनन् । खाद्यान्नको व्यापारमा अहिलेको हाम्रो पेमेन्ट सिस्टम यति धेरै उपयोगी नहुनु र सहजता बनिन सकेको उनको ठहर छ । 

जब काठमाडौं उपत्यकाभरि सात सय वटा पसल खुल्छन् तब मात्र अनलाइन अर्डर लिन र डेलिभरी गर्न सहज हुने भन्दै आफू त्यो दिनको प्रतीक्षामा रहेको उनी बताउँछन् । 

सस्तोमा व्यापार गर्दाको रोचक प्रसङ्ग सुनाउँदै उनी भन्छन्, ‘एक पटक मैले प्रतिकिलो २५ रुपैयाँ कम मूल्यमा चामल बिक्री गर्दा छेउका अन्य किराना पसलका व्यापारीहरू आएर रिसाए । किन यसरी भाउ बिगार्नु हुन्छ ? बरु बोरामा १५ रुपैयाँ कम गरे भइगोनी भन्दै उपभोक्ता ठग्न सिकाए ।’ 

दशरथ ग्रोसरीबाट तरकारी बेच्ने उनको योजना किफयति छ । किसानको बारीबाट सङ्कलन गरेको तरकारी ल्याएर सिधै आउटलेमा झार्ने र त्यहाँबाट बेच्ने । यसो गर्दा कहीँ गोदाम राख्नु परेन । खर्च बढेन । काभ्रेको पाँचखालदेखि धादिङका विभिन्न स्थानहरूबाट तरकारी सङ्कलन गर्न तयारी गरिसकिएको उनले बताए । 

 

प्रतिक्रिया