शीर्षकहरू

मातातिर्थ औंसीः प्रवासी छोरोको सम्झना

मातातिर्थ औंसीः प्रवासी छोरोको सम्झना

काठमाडौं । आज राति निकै समयपछि आमालाई सपनामा देखेँ । कमला दिदीसँग एउटा कुनै कक्षामा बसेर पढ्दै थियौ हामी । कमला दिदीले भन्नुभयो– ‘आमाको एउटा भिडियो छ नि तलाई थाहा छ ? यो भिडियोमा आमा उहाँका साथीहरूसँग कतै जाँदै हुनुहुन्छ । हेर्ने भए हेर । तैले आमासँग भेट्न पनि सक्छस् ।

ओहो होर ?लू म तुरुन्त हेर्छु । अलि परभित्तमा आमाको भिडियो देखियो , आमालाई देख्ने बित्तिकै म दौडेर पछिपछि कुदेर चिच्याएँ । आमा, म यहाँ छु, हेर्नु त ! नभन्दै आमा फरक्क फर्किनु भयो । आमाले सेतो ज्याकेट र पिडुलासम्म आउने फ्रक लगाउन भएको थियो । लामो खुल्ला कपाल निधारमा छोटो पारेर काट्नु भएको रहेछ ।

‘आमा’, खोइ आमा ? यति भनेर आमाले दुबै हातले कसैलाई समाउने प्रयास गर्नु भयो । म अचम्ममा परेँ, मेरी आमा पनि उहाँकी आमा खोज्दै हुनुहुन्थ्यो ।  मैले उहाँलाई समाउन खुब प्रयास गरेँ, तर सकिन । आमा त सानी १२/१५ वर्षकी हुनु हुँदो रहेछ । छोरो भएर मैले यति सानो उमेर कि मेरी आमा कहिले देख्न पाइन, किन कि म जन्मिदा मेरी आमा ३८ वर्ष भई सक्नु भएको थियो । सपनाबाट बिउँझिने बित्तिकै आफैलाई भनेँ– आमा त भेटेँ मैले, धन्य भगवान । तर, मेरी आमाले उहाँकी आमा भेट्नु भयो त ?

हाम्री आमा जन्मेपछि मावोलकी हजुराआमा खस्नु भएको रे । त्यसैले आमाले आफ्नी आमाको स्वरुप देख्न पाउनु भएन । बाचुन्जेल मेरी आमा यस्ती हुनुहुन्थ्यो रे भन्ने किस्सा सुनाउनु हुन्थ्यो हामीलाई । मातातिर्थ औंसी आउँदै गर्दा तमाम आमाहरूलाई सम्झिन मन लाग्यो । ती आमाहरू जस्ले अर्काको मेलापात र पर्मअर्म गर्दा पाएको खाजा रुपी भुटेका मकै पनि पोल्टामा हालेर आफ्नो पेट काटेर पनि घरमा आफ्ना लालाबालालाई सातु बनाएर खुवाए । जस्ले एक माना चामलका लागि दिनभरी पसिना चुहाए ।

जस्ले पेटमा बच्चा बोकेर घाँस र दाउराका भारी उठाए । आफुले कपुरी ‘क’ पढ्न नपाए पनि सुनेकै भरमा संस्कृतका स्लोकहरू कन्ठस्त बनाएर आफ्ना सन्तानलाई नैतिक शिक्षा र जीवन उपयोगी ज्ञान दिए र जस्ले सन्तान कै खुशीमा आफ्नो खुशी देखे, ति सम्पूर्ण आमाहरू प्रती मेरो नमन !

समय बदलियो, धेरै कुराहरु समयको बहावसँग सजिलो हुँदै गयो । अचेल गाउँ घरमा पनि जीवन सहज हुन थाल्यो । तर, आमाहरूले सन्तान प्रति गर्ने अघात स्नेह, प्रेम, र त्याग बदलिएन । कहिले बदलिने पनि छैन ।  बरु हाम्रो स्वभाव पो  बदलिए जस्तो लाग्छ । उमेरले अलि कोल्टो फेर्ने बित्तिकै आमाहरू अदृस्य भएका छन्, हराएका छन् ।

मानौं उनीहरू कहिले अस्तित मै थिएनन । न त आमालाई पालेको छु भन्ने छोराहरूको कमी छ, न त घरमा भुस्याहा कुकुर झै व्यवहार गरेर बाहिर म जत्तिको असल कोही छैन भन्ने बुहारीहरूको कमी छ, हाम्रो समाजमा ।

एक नारीले अर्की नारीको पिर बुझ्न नसक्ने बुहारीहरु को लीला पनि अचम्मको छ ।  बाध्यत बस पर भएका आफ्ना सन्तानको सम्झनामा दिन काट्ने आमाहरुलाई खिसिटिउरी गर्नेहरूको सोच पनि बुझिनसक्नु छ । बाचुन्जेल हेला गरेर मरेपछी दुनियाँलाई देखाउन श्राद्ध र पूजा, पुराण र होम गर्नेहरूको पनि कमी छैन । कति आमाहरूको जीवन रुपी चङ्गाको धागो काटिएको छ भने कति आमाहरू मुटुमा बज्र बजारेर पनि अनुहारमा मुस्कानको आशा मा छन् ।   

यति हुँदा हुँदै पनि उज्यालो किरण र आशाका त्यान्द्राहरू मरेका छैनन्, हजारौँ लाखौँ मनले मानवीय धर्म र प्रेम भुलेका छैनन् । आफ्नो बल बुता ले भ्याएसम्म आमा प्रतिको कर्तव्य निभाएका छन् । आफ्ना कोही नहुने अथवा वास्ता नगर्ने भएका जेस्ठ नागरिकहरूको लागि आवासहरू बनेका छन् ।

जहाँ हजारौं आमा तथा बाहरू ले आफ्नो जीवनको उत्तरार्धमा पराइ नै सहि घर भेटेका छन । दुई छाक हात मुख जोड्न पाएका छन् ।  राम भजन गाउन पाएका छन । सामाजिक सन्जालले घेरिएको अहिलेको समाजमा पराइ पनि आफ्नो हुने मौका प्राप्त भएको छ ।

आफ्नो जीवनका विभिन्न महत्वपूर्ण तर, खर्चालु कार्यहरूको मौका पारेर अनावश्यक खर्च बचाएर वा कटाएर जेष्ठ नागरिकहरूको रोजी रोटी, लत्ताकपडा र बासस्थानको लागि सहयोग गर्ने वास्तविक मनुश्यहरू पनि हाम्रो समाजमा प्रशस्त छन् । त्यसैले त हामी छौ, हाम्रो पन छ  र मानव कहलिन पाएका छौ । भगवानले हामीलाई यस्तो सम्मानित कार्य गर्न सधैं प्रेरित गरिरहुन्, र यसका लागि हामीले मातातिर्थ आंैसी नै पर्खिन नपरोस ।

आमालाई खुशी पार्ने मातातिर्थ आंैशीले हाम्रो जीवनबाट टाढा भैसकेका आमाहरूलाई वर्षमा एक पटक भए पनि सम्झने मौका दिन्छ । तर, जीवन रुपी बन्धनबाट मुक्त भइसक्नु भएका आमाहरूलाई सम्झेरमात्र पनि कति पिडा हुन्छ भन्ने कुरा त आमा गुमाइसकेका छोराछोरीहरूलाई नै थाहा होला ।

 

प्रतिक्रिया