शीर्षकहरू

पेट्रोलियम पदार्थको मूल्य यथावत, आयल निगमले गरेन कुनै समायोजन

पेट्रोलियम पदार्थको मूल्य यथावत, आयल निगमले गरेन कुनै समायोजन

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्यमा कुनै परिवर्तन नगर्ने निर्णय गरेको छ। निगमले सोमबार जारी गरेको विज्ञप्तिमार्फत हाल कायम मूल्यलाई यथावत राख्ने जनाएको हो।

निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य साविककै दरमा बिक्री वितरण हुनेछ। विभिन्न क्षेत्रलाई वर्गीकरण गरेर लागू गरिएको मूल्य संरचनाअनुसार पहिलो वर्गअन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, वीरगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढीमा पेट्रोलको मूल्य प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा कायम रहनेछ। यी क्षेत्रमा डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २२२ रुपैयाँ ५० पैसा यथावत राखिएको छ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर २१६ रुपैयाँ तथा डिजेल–मट्टितेल प्रतिलिटर २२४ रुपैयाँमै बिक्री हुनेछ।

त्यस्तै, काठमाडौं, पोखरा र दिपायल समेटिएको तेस्रो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर २१७ रुपैयाँ र डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर २२५ रुपैयाँ कायम रहने निगमले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उतारचढाव भइरहेका बेला निगमले हाललाई उपभोक्ता मूल्यमा कुनै परिवर्तन नगर्ने निर्णय गरेको हो। निगमले भारतीय आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य, ढुवानी लागत तथा समग्र वित्तीय अवस्थाको मूल्याङ्कनपछि मूल्य समायोजन गर्ने वा नगर्ने निर्णय गर्दै आएको छ।

हालका लागि भने पेट्रोलियम पदार्थ उपभोग गर्ने सर्वसाधारणले अघिल्लो अवधिकै मूल्यमा इन्धन खरिद गर्न पाउने भएका छन्।

प्रतिक्रिया