काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध लगाइएका आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। प्रमाणित भएमा राजनीति मात्र होइन, सम्पूर्ण सार्वजनिक जीवन नै त्याग्ने उनले घोषणा गरेका छन्।
बिहीबार संसदको सार्वजनिक लेखा समितिमा भएको छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले विद्युतीय गाडीसम्बन्धी सूचना चुहावटको आरोपलाई अस्वीकार गरेका छन्। उनले आफूलाई बदनाम गर्न नियोजित प्रयास गरिएको भन्दै ती आरोपहरू निराधार भएको दाबी गरेका छन्।
“दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस्, अर्थमन्त्री र राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु,” उनले भने। उनले आफ्नो नैतिकतामाथि प्रश्न उठाइएकोप्रति असन्तुष्टि जनाउँदै भावुक हुँदै प्रतिक्रिया दिएका छन्।
उनले उच्च नैतिक मूल्यका साथ काम गरिरहेको दाबी गर्दै आरोप लगाउनेहरूसँग प्रमाण भए सार्वजनिक गर्न पनि चुनौती दिएका छन्। लेखा समितिको छलफलमा उनको अभिव्यक्तिपछि राजनीतिक वृत्तमा बहस चर्किएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया