शीर्षकहरू

नारायणहिटी हत्याकाण्ड पुनछानबिन घोषणाको स्वागत, सत्य बाहिर ल्याउन प्रतिष्ठानको माग

नारायणहिटी हत्याकाण्ड पुनछानबिन घोषणाको स्वागत, सत्य बाहिर ल्याउन प्रतिष्ठानको माग

काठमाडौँ । स्व. राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले २०५८ जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्डको पुनछानबिन गर्ने गृहमन्त्री सुदन गुरुङको घोषणाको स्वागत गरेको छ।

प्रतिष्ठानले बुधबार जारी गरेको विज्ञप्तिमा उक्त घटनालाई नेपाली इतिहासकै सबैभन्दा पीडादायी, रहस्यमय र अनुत्तरित घटनामध्ये एक भएको उल्लेख गर्दै सत्यतथ्य सार्वजनिक गर्न निष्पक्ष छानबिन आवश्यक रहेको जनाएको छ।

विज्ञप्तिमा स्व. राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति लगायत राजपरिवारका सदस्यहरूको सामूहिक निधन भएको घटनाले सम्पूर्ण राष्ट्रलाई स्तब्ध बनाएको स्मरण गरिएको छ। तत्कालीन समयमा गठन भएका छानबिन समिति र तिनका प्रतिवेदनले आम नागरिकलाई पूर्ण रूपमा आश्वस्त पार्न नसकेको तथा घटनाका धेरै पक्ष अझै अस्पष्ट रहेको दाबी प्रतिष्ठानको छ।

प्रतिष्ठानले गृह मन्त्रालयले घटनाको पुनरावलोकन गर्दै वास्तविक दोषी र सम्भावित षड्यन्त्रको सत्य उजागर गर्ने उद्देश्यले अघि सारेको पहललाई साहसिक, सराहनीय र स्वागतयोग्य कदमको रूपमा व्याख्या गरेको छ। यसले विधिको शासन, न्याय र इतिहासप्रतिको उत्तरदायित्वलाई थप बलियो बनाउने विश्वास पनि व्यक्त गरिएको छ।

विज्ञप्तिमा राजनीतिक पूर्वाग्रह र कुनै पनि आन्तरिक वा बाह्य प्रभावबाट मुक्त भई वैज्ञानिक तथा निष्पक्ष ढंगले छानबिन प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ। ‘इतिहासको सत्यलाई धेरै समयसम्म लुकाउन सकिँदैन’ भन्दै प्रतिष्ठानले पुनर्छानबिनबाट घटनाको वास्तविकता सार्वजनिक हुने अपेक्षा व्यक्त गरेको छ।

प्रतिष्ठानले छानबिन प्रक्रियामा आवश्यक सहयोग र ऐक्यबद्धता जनाउने प्रतिबद्धता व्यक्त गर्दै सरकारलाई घोषणा मात्र नभई छिटो र निष्कर्षमुखी अनुसन्धान अघि बढाउन आग्रह गरेको छ।

नारायणहिटी दरबार हत्याकाण्ड नेपालको आधुनिक इतिहासको सबैभन्दा चर्चित र विवादास्पद घटनामध्ये एक मानिन्छ। दुई दशकभन्दा बढी समय बितिसक्दा पनि घटनाबारे विभिन्न प्रश्न र शंकाहरू सार्वजनिक रूपमा उठ्दै आएका छन्।
 

प्रतिक्रिया