शीर्षकहरू

बजेट कार्यान्वयन र मौद्रिक नीतिबारे म्यानको छलफल, सुझाव राष्ट्र बैंक र सरकारलाई बुझाइने

बजेट कार्यान्वयन र मौद्रिक नीतिबारे म्यानको छलफल, सुझाव राष्ट्र बैंक र सरकारलाई बुझाइने

काठमाडौं । नेपाल व्यवस्थापन संघ (म्यान) ले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यपछिको विश्लेषण तथा आगामी मौद्रिक नीतिसम्बन्धी छलफल कार्यक्रम आयोजना गरेको छ।“बजेटको प्रभावकारी कार्यान्वयन र सन्तुलित मौद्रिक नीतिमार्फत नतिजामुखी आर्थिक विकास” भन्ने विषयमा केन्द्रित कार्यक्रम संघकी अध्यक्ष हेमा कुमारी अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रमको पहिलो सत्रमा ‘आर्थिक नीति, संरचनात्मक सुधार र स्रोत परिचालन’ विषयमा छलफल गरिएको थियो। संघका सदस्य जीवनकुमार कटुवालले स्वागत मन्तव्य राखेको उक्त सत्रमा संघका द्वितीय उपाध्यक्ष कृष्ण आचार्यले सहजीकरण गरेका थिए। छलफलमा पूर्वअर्थमन्त्रीहरू डा. प्रकाशशरण महत, सुरेन्द्र पाण्डे र वर्षमान पुन तथा प्रतिनिधिसभा सदस्य लीमा अधिकारी प्यानलिस्टका रूपमा सहभागी भई बजेट कार्यान्वयन, आर्थिक सुधार र स्रोत व्यवस्थापनबारे आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरेका थिए।

त्यसैगरी, ‘आगामी मौद्रिक नीतिको दिशा र दृष्टिकोण’ विषयक दोस्रो सत्रमा संघका महासचिव इन्द्रकुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. प्रकाश श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेको उक्त सत्रमा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा र पूर्वबैंकर अनलराज भट्टराईले मौद्रिक नीतिसम्बन्धी सुझाव दिएका थिए।

कार्यक्रमको समापन गर्दै अध्यक्ष अधिकारीले सहभागी, विज्ञ तथा अतिथिहरूबाट प्राप्त सुझावहरू संकलन गरी आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति निर्माणका लागि नेपाल सरकार र नेपाल राष्ट्र बैंकलाई बुझाइने जानकारी दिइन्।

नेपाल व्यवस्थापन संघले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक हुनुअघि यस्ता छलफल कार्यक्रम आयोजना गर्दै आएको छ। सरकार र नेपाल राष्ट्र बैंकसम्म निजी क्षेत्र, विज्ञ तथा सरोकारवालाका सुझाव पुर्‍याई प्रभावकारी र व्यवहारिक मौद्रिक नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिँदै आएको संघले जनाएको छ।

प्रतिक्रिया