काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत विवरण अनुसार खुद नाफा ९१.१५ प्रतिशतले घटेको छ ।
गत आवको ९ महिनामा कम्पनीले ४५ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा चालु आवको सोही अवधिमा यस्तो नाफा ४ करोड १ लाख आर्जन गरेको छ । अर्थात् कम्पनीको खुद नाफा ४१ करोड ३५ लाख रुपैयाँले घटेको हो । दाबी भुक्तानी बढ्दा कम्पनीको नाफामा चाप परेको देखिन्छ ।
यस अवधिमा कम्पनीको दाबी भुक्तानीमा भने ठूलो खर्च भएको छ । गत वर्षको ९ महिनामा ९२ करोड ९५ लाख रुपैयाँ दाबी भुक्तानी गरेकोमा चालु आवको सोही अवधिमा १ अर्ब २७ करोड ७८ लाख रुपैयाँ भुक्तानी गरेको छ । पछिल्लो ९ महिनामा कम्पनीले २ अर्ब ६९ करोड रुपैयाँको व्यापार गरेको छ, गत वर्षको सोही अवधिमा २ अर्ब ६७ करोडको व्यापार गरेको थियो ।
कम्पनीको महाविपत्ति कोषको आकार सामान्य वृद्धि देखिएको छ । २२ करोड ७८ लाखबाट बढेर कोषमा २३ करोड १८ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीले ८ अर्ब रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ । जसमध्ये ५ अर्ब २० करोड रुपैयाँ अल्पकालिन लगानी र २ अर्ब ८० करोड रुपैयाँ दीर्घकालिन लगानी गरेको छ ।
२ अर्ब ८० करोड बढी चुक्ता पूँजी रहेको कम्पनीको प्रति शेयर आम्दानी १.९१ रुपैयाँ रहेको छ । गत आवको तेस्रो त्रैमाससम्म प्रति शेयर आम्दानी २१.५५ रुपैयाँ थियो । प्रति शेयर नेटवर्थ २५०.०६ रुपैयाँ, प्रति शेयर सम्पत्ति मूल्य ७६०.९७ रुपैयाँ रहेको छ ।
आर्थिकन्यूज
प्रतिक्रिया