शीर्षकहरू

युनिक प्लास्टिक उद्योगले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल

युनिक प्लास्टिक उद्योगले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल

हेटौंडा । युनिक प्लास्टिक उद्योग लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने तयारी गरेको छ । हेटौंडा उपमहानगरपालिका-८ स्थित औद्योगिक क्षेत्रमा रहेको कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात् ७ लाख ५० हजार कित्ता साधारण शेयर प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँमा निष्काशन गर्ने योजना बनाएको हो ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कम्पनीले नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । यससम्बन्धी सम्झौता पुस ९ गते बुधबार कमलपोखरीस्थित नेपाल लाइफ क्यापिटलको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सम्पन्न भएको हो । सम्झौतापत्रमा युनिक प्लास्टिक उद्योग लिमिटेडका तर्फबाट अध्यक्ष हरि बहादुर बस्नेत र नेपाल लाइफ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन् ।

नेपालको बढ्दो पूर्वाधार विकास तथा खानेपानीको आवश्यकतालाई ध्यानमा राख्दै युनिक प्लास्टिक उद्योगले विगत पाँच वर्षदेखि स्वदेशमै आधुनिक प्रविधि प्रयोग गरी प्लास्टिक पाइप उत्पादन गर्दै आएको छ । कम्पनीले नेपाल गुणस्तर (एनएस) बाट मान्यता प्राप्त १६ एमएमदेखि १६० एमएमसम्मका विभिन्न साइज तथा  क्षमताका १०० भन्दा बढी प्रकारका एचडीपीई र पीभीसी पाइप उत्पादन गर्दै आएको जनाएको छ ।

कम्पनीका उत्पादनहरू खानेपानी आपूर्ति, सिँचाइ, पहाडी क्षेत्रका पानी लाइन, ढल तथा ग्यास लाइन, दूरसञ्चार, विद्युत् तथा अन्य भूमिगत संरचनामा व्यापक रूपमा प्रयोग हुँदै आएका छन् । उच्च गुणस्तर, दिगो, सुरक्षित र प्रविधिमैत्री उत्पादनमार्फत स्वदेशमै भरपर्दो पाइप उत्पादन गरी देशको पूर्वाधार विकासमा योगदान पुर्‍याउने कम्पनीको उद्देश्य रहेको छ ।

युनिक प्लास्टिक उद्योगले निकट भविष्यमा कपिलबस्तु जिल्लाको चन्द्रौटामा रहेको आफ्नै जग्गामा शाखा विस्तार गरी प्लास्टिकजन्य सामग्री उत्पादन गर्ने लक्ष्य पनि लिएको छ ।

उता, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी नेपाल लाइफ क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूति, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापक, डिपोजिटरी सेवा, संस्थागत परामर्श, शेयर रजिष्ट्रेशन तथा निष्काशन तथा बिक्री प्रबन्धनका लागि अनुमति प्राप्त मर्चेन्ट बैंकिङ संस्था हो ।

प्रतिक्रिया