काठमाडौं । नेपालमा पनि विद्युतीय पिकअप ट्रक भित्रिएको छ । नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कर्मसियल भेहिकल्स प्रालिले पहिलो विद्युतीय ट्रक नेपाल ल्याएको हो ।
यो ट्रक यहि भदौ २६ गतेदेखि हुने नाडा अटो सोमा लञ्च गर्ने तयारी रहेको एमएडब्लुले जनाएको छ । फोटोन इभी ट्रकका प्रडक्ट म्यानेजर मुकेश झाले नेपालमा ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै यो पिकअप ट्रक भित्राइएको बताए ।
‘हामीले ल्याएको यो विद्युतीय ट्रक नेपालमै पहिलो पटक भित्रिएको हो । यसअघि यस्ता ट्रक कुनै कम्पनीको पनि भित्रिएको छैन । उक्त इलेक्ट्रिक ट्रक (ईभी पिकअप ट्रक) पूर्ण रुपमा नेपाली भूगोल सुहाउँदो रहेको छ’, उनले भने ।
यो ट्रक हेर्दा निकै आकर्षक देखिन्छ । जसले गर्दा ग्राहकको ध्यान तान्ने बिक्रेताले विश्वास गरेका छन्। साथै विद्युतीय सवारीमा स्पेयर पार्टसहरुको झन्झट र चिन्ता लिनु पर्दैन । त्यसमाथि यो ट्रकमा मर्मत सम्भारलाई सहज होस् भन्नका लागि २६५ वटा टच पोइन्ट राखिएको छ । ईभी पिकअप ट्रकले नेपाली बजारमा एउटा नयाँ आयाम ल्याउनेमा विश्वस्त रहेको झाले बताए ।
यो ट्रकमा स्टेरिङ एकदमै राम्रो रहेको छ, जसले गर्दा सजिलोसँग ड्राइभ गर्न मद्दत पुग्ने कम्पनीको दाबी छ। अप डाउनका लागि पावर विन्डो (झ्याल) रहेको छ । क्याबिनमा आरामदायी सिटहरू रहेका छन् ।
ढोका खुल्ला छ की छैन, पार्किङ लागेको छ की छैन, कति रेञ्जमा गाडी कुदेको छ भन्ने देखी अटो मोड, न्युट्रल सबैको इन्डिकेटर सहितको ड्यासबोर्ड रहेको छ । यस्तो व्यवस्था अन्यमा ट्रकमा नपाइने कम्पनीको दाबी छ ।
ईभी गाडी भन्ने बित्तिकै ब्याट्री, मोटरको कुरा आउँछ । यसको ब्याट्री ३८.६४ किलोवाटको रहेको छ । यसमा ६० किलोवाट पावरको मोटर रहेको छ जुन ८० हर्स पावर (एचपी) क्षमताको हुन्छ । 'यो ट्रकमा रहेको ब्याष्ट्रिको रेञ्ज एक पटकको चार्जमा २८० किलोमिटरको रहेको छ । कम्पनीले मोटर र ब्याट्रीमा पाँच वर्ष वा २ लाख किलोमिटरको वारेन्टी दिएको छ’ झाले भने ।
उनका अनुसार यो ट्रकलाई १४ सय केजी लोड राखेर उकालो आरालो जहाँ पनि गुडाउन सकिन्छ । यसमा १७५ एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ । यसलाई पावर चर्जिंग मार्फत एकदेखि डेढ घण्टामा फुल चार्ज गर्न सकिन्छ । यदि घरमा नै चार्ज गर्ने हो भने ५ देखी साढे पाँच घण्टा फुल चार्ज हुन समय लाग्ने झाले बताए । खनिज इन्धनबाट चल्ने भन्दा यो ट्रकको प्रयोग गर्दा एक वर्षमै चार देखि पाँच लाख रुपैयाँ बचत हुने उनको दाबी छ ।
प्रतिक्रिया दिनुहोस