शीर्षकहरू

भन्सार छलीको आशंकामा प्रहरीले गर्यो बीवाईडीका ७७४ वटा गाडी नियन्त्रण

भन्सार छलीको आशंकामा प्रहरीले गर्यो बीवाईडीका ७७४ वटा गाडी नियन्त्रण

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेको आशङ्कामा मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको छ ।

मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट गएराति ती गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए ।

गाडी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नं ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं २५ चण्डिका गण पर्वत, नं २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन भएका थिए । यसैगरी, नुवाकोटको पासाङल्हामु सडकबाट पनि दुई वटा गाडी नियन्त्रणमा लिइएको छ ।प्रवक्ता भट्टका अनुसार बीवाईडी ब्राण्डका गाडीहरु नियन्त्रणमा लिइएको हो । भन्सार छली भएको भन्दै सशस्त्र बलमा उजुरी प्राप्त भएको र सोही आधारमा गस्ति परिचालन गरिएको उनले जनाए । जेठ ८ गतेदेखि १२ गतेसम्म भित्रिएका गाडीहरू नियन्त्रणमा लिइएको हो । 

कर छली भयो भएन भनेर अहिले भने भन्न नसकिने उनले बताए । उनले भने, 'कर छली भएको हो वा होइन भन्ने विषय अनुसन्धान पछि मात्रै थाहा हुन्छ । अनुसन्धानका लागि हामी भन्सार लगायतका निकायलाई गाडी हस्तान्तरण गर्छौँ ।’

आगामी आर्थिक वर्षको बजेट मार्फत मध्यम र प्रिमियम सेग्मेन्टका ईभीको कर वृद्धि भएको छ । इन्ट्री तथा बजेट फ्रेन्ड्ली ईभी ईभीको भने सामान्य रुपमा कर घटेको छ । बीवाईडीको गाडी मध्यम र प्रिमियम सेग्मेन्टमा पर्दछ । 

कम्पनीले जेठ ८ देखि १२ गतेसम्म ४ दिनमै ७७४ गाडी भित्र्याउनुलाई पनि आशंकाको दृष्टिले हेर्न सकिन्छ । सामान्यतया बीवाईडीले महिनामा औसतमा २५० वटा गाडी भित्र्याउने गरेको छ । वर्षमा २५ सयदेखि ३ हजार गाडी विक्री गर्दै आएको छ ।

बजेटमा कर बढ्ने विषय थाहा पाएपछि कम्पनीले ४ दिनमा नै ७७४ यूनीट बढी गाडी भित्र्याएको आशंका गर्न सकिन्छ । अर्थात् बजेट लिक भएको पनि आशंका गर्न सकिन्छ । यसमा भन्सार विभागका कर्मचारी र अर्थ मन्त्रालयका कर्मचारीको हात रहेको बुझिएको छ । 

प्रतिक्रिया