भैरहवा । लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री बसिउद्धिन खाँले अहिले कक्षा १२ को परीक्षा दिँदै छन् । लुम्बिनी प्रदेशको मन्त्रालय समालेका मन्त्री खाँले मायादेवी गाउँपालिका वडा नम्बर ५ को हाजिएना तुल्ला माविमा कक्षा ११ र १२ मा भर्ना भएका थिए । उनले शिक्षा संकायबाट अहिले १२ कक्षाको परीक्षा दिँदै छन् । उनको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ९ खुदाबगर आदर्श माविमा परीक्षा केन्द्र रहेको छ । मन्त्री खाँ ले पहिलो दिन अंग्रेजी विषयको परीक्षा दिए पनि अन्य विषयको परीक्षामा भने सहभागी नभएको खुदावगर आदर्श माविका केन्द्राध्यक्ष प्रकाश शुक्लाले जानकारी दिए ।
मन्त्री सँगै मायादेवी गाउँपालिकाका वडा नम्बर ५ का हालका वडाअध्यक्ष तेजनारायण पाल पनि परीक्षामा सहभागी छन् । नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचन भएका पालले पनि पहिलो दिनको परीक्षामा सहभागी भएता पनि अन्य विषयका परीक्षामा सहभागी नभएको केन्द्राध्यक्ष शुक्लाले जानकारी दिए । जनप्रतिनिधिसँग खुदावगर आर्दश कलेजका व्यवस्थापन समिति अध्यक्ष मोहमद सहिद मुसलमान पनि परीक्षा दिँदैछन् । नेपाली कांग्रेस लुम्बिनी सांस्कृतिक नगरपालिकाका सभापति समेत रहेका मुसलमान शिक्षा संकायबाट परीक्षा दिइरहेको र नियमित परीक्षामा सहभागीता जनाएको शुक्लाले बताए ।
तिनै जना परीक्षार्थी हाजिएना तुल्ला मावि शिक्षा संकाय कक्षा १२ का विद्यार्थी हुन् । उनीहरुको परीक्षा केन्द्र खुदावगर आर्दश मावि रहेको छ । केन्द्राध्यक्ष शुक्लाका अनुसार तिनै जना कक्षा ११ उत्र्तिण भइसकेका छन् । कक्षा ११ को परीक्षा विद्यालयले नै लिने गर्छ । बारम्बार फेल भएर, उमेरका कारण वा पदीय जिम्मेवारी निर्वाह गर्दा पढ्न नपाएर पछुताउनेहरुको लागि यतिबेला शिक्षा मन्त्री खान उदाहरण बनेका छन् । प्रदेशकै शिक्षा मन्त्रीले परिक्षामा सहभागी भएर पढाईलाई उमेर र पदीय जिम्मेवारीले रोक्दैन भन्ने सन्देश समेत दिएका छन् । शिक्षामन्त्रीको सिम्बोल नम्बर २४९१३६३०, वडा अध्यक्षको २४९१३६२८ कलेजका अध्यक्षको २४९१३६११ रहेको छ ।
पुनहरि बेल्बासे
प्रतिक्रिया