काठमाडौं । पासाङ ल्हामू राजमार्ग अन्तर्गत पर्ने मुड्खु तिनपिप्ले हुँदै ठुलोखोला रानीपौवा मोटर बाटो स्तरोन्नती गर्न ठेक्का सम्झौता भएको आठ वर्ष भइसकेको छ । उक्त सडक स्तरोन्नतीका लागि २०७० सालमा ठेक्का सम्झौता भएको थियो ।
ठेक्का सम्झौता भएको लामो समय भइसक्दा पनि सडक स्तरोन्नतीको काम नभएपछि स्थानियहरुले संघर्ष समिति नै बनाएर आन्दोलन गरिरहेका छन् । संघर्ष समितिका अनुसार मुड्खु तिनपिप्ले हुँदै ठुलोखोला रानीपौवा मोटरबाटो स्तरोन्नती गर्न ठेक्का सम्झौता गरि कार्य शुरु गरिएको थियो । तर, सम्झौता अवधिमा कार्य सम्पन्न नगरी अधुरो राख्दा बाटोमा सामान्य हिडडुल गर्न समेत निकै कठिन भएको छ । यसका साथै दैनिक जसो मोटरसाइकल दुर्घटना समेत हुने गरेको छ ।
बाटो स्तरोन्नतीको कार्य गर्न सम्बन्धित पीडित पक्ष र सरोकारवाला निकायसंग पटक-पटक समाधानका लागि गरिएको प्रतिबद्धता समेतलाई सम्बन्धित निकायले सम्बोधन नगरेको संघर्ष समतीको भनाई छ । त्यस्तै, पीडित व्यक्तिहरुको भेलाबाट पासाङ ल्हामू राजमार्ग सुधार संघर्ष समिती गठन गरि एक सुत्रीय माग बाटो कालोपत्रे हुनुपर्ने भनि निर्णय भएको हुँदा सम्बन्धित निकाय, ठेकेदार कम्पनी र सरोकारवाला संघ संस्थालाई माग सुनुवाई सहित पिडितको आवाजलाई थप प्रभावकारी बनाउन आवश्यक सहजिकरण गरिदिन समितिको माग रहेको छ ।
स्थानीय लगायत संघर्ष समितीले उक्त सडकमा बाटो नै अवरुद्ध पारेर आन्दोलन गरिरहेको पासाङ ल्हामू राजमार्ग सुधार संघर्ष समितीका संयोजक भवनाथ गजुरेल बताउँछन् । उनी भन्छन्, ‘हाम्रो आन्दोलन जारी छ । छलफल पनि भइरहेको छ । तर, हामी कालोपत्रेको काम शुरु नभएसम्म बाटो अवरुद्ध नै पार्छौ ।’
उनका अनुसार ठेकेदारहरुसंगको छलफलमा अब काम शुरु गर्ने भनिएको छ । चार दिनका लागि बाटो खोलिदिनु पर्यो भनेका छन् । तर, कुनै पनि हालतमा कालोपत्रेको काम शुरु नभई बाटो नखुलाउने उनको भनाई छ । ‘काम शुरु गर्छौ भनेर पटक पटक सम्झौता भए पनि काम शुरु भएन । सम्झौता कागजमै मात्र सिमित रह्यो । यसले गर्दा यस पटक हामी काम शुरु नभएसम्म यो बाटो अवरुद्ध नै हुन्छ’ उनले भने ।
ठेकेदारकै लापरवाहीको कारण स्थानीय बासिन्दा विरोधमा उत्रिनु पर्ने अवस्था सृजना भएको तारकेश्वर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मनोहरी तिवारी स्विकार्छन् । ‘म निर्वाचित भएदेखि अहिलेसम्मको अवधिमा यस सडकमा ठेकेदारले काम गरेका छैनन । बाटो निमार्णका लागि हामी जनप्रतिधिको हैसियतले पटक–पटक सम्बन्धित निकायमा कुरा उठाउँदा झुलाउने मात्रै काम भयो’, उनले आर्थिक न्यूजसँग कुरा गर्दै भने ।
यहाँको स्थानीयको लाइफलाइन नै अवरोध भयो भन्ने गुनासो रहेको उनको भनाई छ । यस्तो अवस्थामा सरोकारवाला निकायमा समन्वयका लागि पहलकदमी गरिरहेका उनले बताए । ठेकदार सहमतिमा आएर काम अघि नबढाउने हो भने नयाँ विकल्पमा समेत जान सकिने अध्यक्ष तिवारीले बताए ।
उनले भने, ‘की त कालोपत्रे तत्काल गर्नु पर्यो होइन भने सरकारले एक पक्षिय रुपमा ठेक्का तोडेर भए पनि काम अघि बढाउनु पर्छ । नत्र स्थानीय जनताको आक्रोशले अवस्था झन् भयावह नहोला भन्न सकिन्न ।’ काठमाण्डौं उपत्यकाका सबै नगरपालिकाहरुले २/३ करोड अनुदान दिएर भए पनि उक्त बाटो तत्काल सम्पन्न गर्नु पर्छ भन्ने विषयमा छलफल चलिरहेको तिवारीको भनाई छ ।
काठमाडौंको फोहोर संकलन प्रभावित
मुड्खु–तीनपिप्ले खण्ड कालोपत्रेको माग राख्दै स्थानीयले रोक्दा काठमाडौंको फोहोर संकलन प्रभावित बनेको छ । स्थानीयको अवरोधका कारण उपत्यकाको फोहोर विसर्जस्थलसम्मको ढुवानी रोकिएको हो ।
उपत्यकाको फोहोर विर्सजन नुवाकोटको ककनी गाउँपालिका–२ को सिसडोल ल्याण्डफिल साइटमा हुँदै आएको छ । उक्त साइट जान प्रयोग हुने पासाङ ल्हामु राजमार्गअन्तर्गतको मुड्खु–तिनपिप्ले सडक खण्ड कालोपत्रे हुनुपर्ने माग राखेर स्थानीय बासिन्दाले आवागमन अवरोध गरेका कारण फोहोर ढुवानी रोकिएको हो ।
फागुन १ देखि फोहोर ढुवानी रोकिएका कारण उपत्यकाका चोकहरुमा फोहोरको थुप्रो बनेको छ । चोक र सडकमा फोहोर थुप्रो देखिन थालेपछि काठमाडौं महानगरपालिकाले जथाभावी फोहोर नफ्याँक्न महानगरवासीलाई अनुरोध समेत गरेको छ ।
काठमाडौं महानगरपालिकाका वातावरण विभागकी निमित्त प्रमुख सरिता राइले लामो समयदेखि सडक कालोपत्रे भएन भनेर सडक अवरुद्ध पारेका कारण काठमाडौंको फोहोर व्यवस्थापनमा समस्या भएको बताईन् । उनले भनिन्, ‘लामो समयदेखि सडक कालोपत्रे भएन भनेर सडक अवरुद्ध पारेका कारण काठमाडौंको फोहोर व्यवस्थापनमा समस्या भएको छ । सडकको क्षेत्र भनेको महानगरको क्षेत्र भित्र परेन । तर पनि हामीले सम्बन्धीत निकायहरुमा स्थानीयको माग सम्बोधनको लागि पहल गरिहेका छौं ।’
काठमाडौंको फोहोर व्यवस्थापनका लागि अहिले ठूलो समस्या परिरहेका कारण महानगरले यसका लागि पहल गरिहेको दाबी गरिन् । उनले भनिन्, ‘स्थानीय र ठेकेदारहरुबीचमा समझदारीको काम भइरहेको भन्ने सुनिएको छ । त्यसमा पनि स्थानियसंगको छलफलमा ठेकेदारहरुले प्रतिनिधी मात्रै छन् भनिएको छ । तर, हाम्रो सम्पर्कमा भने ठेकेदार कम्पनी आएको छैन । पटक पटक सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेको छैन ।’
स्थानीयका मागका सम्बन्धमा महानगरपालिकाले नेपाल सरकारका सम्बन्धित निकायहरुसँग समन्वय गरी छलफल अघि बढाइसकेको उनले जानकारी दिईन् । महानगरले समन्वय गरि काम शुरु गर्न पहल गरिरहेका महानगरको भनाई छ । तर, आन्दोलित स्थानीयहरुले भने काम शुरु नभएसम्म बाटो अवरुद्ध नै पार्ने अठोट लिएका छन् ।
संयोजक समितिका संयोजक गजुरेल भन्छन्, ‘काठमाडौं महानगरले तीन चार दिनका लागि बाटो खोलीदिनु पर्यो फोहोर फाल्न समस्या भयो भनेको छ । पटक-पटक आश्वासन दिए पनि काम शुरु भएन । यस पटक भने हामी आश्वासनले मान्दैनौं । काम शुरु नभएसम्म हामी बाटो अवरुद्ध नै पार्छौ ।’
बिजय फुयाँल
प्रतिक्रिया