शीर्षकहरू

नेपालमा 'इन्स्युरटेक' बीमाको सम्भावना कति ?

नेपालमा 'इन्स्युरटेक' बीमाको सम्भावना कति ?

काठमाडौं। सूचना प्रविधिमा भएको विकासले सर्वाधिक सहजता थपेको क्षेत्र मध्ये एक हो, बीमा क्षेत्र। यसले बीमा सम्बन्धी कारोबारलाई मात्र सहज बनाएको छैन बरु बीमा बजारको बिस्तारमा समेत ठुलो मदत गरेको छ। 

प्रविधिको प्रयोगले अन्य क्षेत्रमा झैँ बीमा क्षेत्रमा पनि ठुलो योगदान र्पुयाउदैँ आएको छ। बीमा कम्पनीहरुले अहिले बीमितले प्रिमियम तिर्ने देखी लिएर दाबी भुक्तानी गर्नेसम्मका कामहरू बिना कुनै झन्झट मोबाइल वालेटमार्फत नै कारोबार गर्न सकिने व्यवस्था गरिरहेका छन्। विदेशको अनुभव हेर्ने हो भने 'इन्स्युरटेक'को प्रयोग बीमाको दायरा बिस्तार गर्न निकै उपयोगी हुने देखिएको छ।

के हो इन्स्युरटेक ?

इन्सुरटेकले हालको बीमा उद्योगलाई कम खर्चिलो र दक्ष बनाउन डिजाइन गरिएको प्रविधिको नवीनताहरूको प्रयोगलाई जनाउँछ। इन्सुरटेक शब्द इन्स्युरेन्स अर्थात् "बीमा" र टेक्नोलोजी अर्थात् "प्रविधि" का संयोजन हो। यो वित्तीय क्षेत्रमा प्रयोग भएको 'फिन्टेक' शब्दबाट प्रेरित शब्द हो।

बीमा शुल्क भुक्तानी,बीमा अभिलेखको वितरण , बजारीकरण, दाबी भुक्तानी लगायतको काममा मोबाइल,ल्यापटप, आई प्याड, ट्याप लगायत टेक्नोलोजीको प्रयोग गरी गरिने बीमालाई 'इन्स्युरटेक' बीमा भनिन्छ । 

इन्स्युरटेक बीमालाई मोबाइल बीमा, प्रविधियुक्त बीमा लगायतको नामले पनि चिनिन्छ। यसरी वितरण गरिने बीमाको न्यून बिमांक हुने भएको र कतिपय बीमालेख न्यून आय भएका समुदायमा लक्षित हुने भएकाले मोबाइल  लघु बीमाको रूपमा पनि लिने गरिन्छ। यस्ता बीमालेख साधारणतय न्यून बीमांकको हुने र बीमालेख सरल हुने भएकाले जुनसुकै वर्गका मानिसले पनि यो सेवा लिन सक्दछन्।

नेपालमा इन्स्युरटेक बीमाको सम्भावना 

नेपाल अल्पविकसित राष्ट्र भएता पनि सूचना प्रविधिको पाटोमा भने ठुलै फड्को मारिसकेको छ। प्रविधिको विकासका कारण अहिले धेरै मानिसको हातमा इन्टरनेट सहितको मोबाइल पुगिसकेको छ । तर, यहाँ लगभग दुई तिहाइ भन्दा बढी जनसङ्ख्या अझै पनि बीमाको दायरामा आउन सकिरहेका छैनन् । 

सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषण मार्फत बीमाको पहुँच एक तिहाइ जनसङ्ख्यामा पुर्‍याउने लक्ष्य निर्धारण गरेको छ। सरकारको उक्त लक्ष्य पुरा गर्नका लागि बीमाका विविध पक्षमा बहस चलाउनु पर्ने देखिन्छ। बीमाको पहुँच बिस्तार गर्ने धेरै विधि मध्ये इन्स्युरटेक बीमाले लाखौँको सङ्ख्यामा सर्वसाधारणलाई जोड्न सक्दछ। ।

बीमाको दायरामा आउन नसकेका न्यून आय भएका वर्ग तथा मोबाइल लगायत अन्य प्रविधिबाट इन्टरनेटको प्रयोग गर्ने आम सर्वसाधारणलाई लक्षित गरेर विभिन्न बीमालेखहरु ल्याउन आवश्यक देखिन्छ । 

कसरी गर्ने इन्स्युरटेकको प्रयोग 

यो प्रविधिको प्रयोग गर्दा मोबाइल वालेट अथवा मोबाइलको एअर टाइम ब्यालेन्सको प्रयोग गर्दा उपभोक्ताले दैनिक सानो भन्दा सानो रकमको प्रयोग गरेर आवश्यकता अनुसार बीमा लिन सक्दछन् । 

यसरी दैनिक बीमा शुल्क भुक्तानी गर्दा ग्राहकलाई रकमको ठुलो बोझ पर्दैन। यसका लागि मोबाइल वालेट तथा  अन्य डिजिटल प्लेटफर्म जस्तै ई–सेवा, खल्ती, सेल पे लगायतका अनलाइन भुक्तानी प्रणालीलाई माध्यमको रूपमा प्रयोग गरी बीमा सुल्क भुक्तानी गर्न मिल्दछ । यस्ता माध्यम प्रयोग गरेर ठुलो सङ्ख्यामा एकै पटकमा धेरै लाभग्राहीलाई बीमालेख जारी गर्न पनि सकिन्छ। 

यस्तो बीमा वितरण गर्न बीमा कम्पनी,मोबाइल सेवा प्रदायकका साथै मध्यस्थकर्ता कम्पनीको पनि भूमिका हुने गर्दछ। मध्यस्थकर्ता कम्पनीले मोबाइल बीमाको उचित बीमालेख निर्माण गर्ने, वितरण गर्ने, प्रविधि प्रदान गर्ने र यसको बजारीकरण समेत गर्ने गर्दछ।

इन्स्युरटेक बीमामार्फत स्वास्थ्य बीमा, दुर्घटना बीमा, कृषि बीमा, मोबाइल सेट बीमा लगायतको क्षेत्रलाई समेटेर आम सर्वसाधारणलाई बीमाको दायरामा ल्याउन  सकिन्छ।

बीमा विज्ञको सुझाव

नेपालमा यस्तो प्रकारको बीमा पोलिसी ल्याउने हो भने  ठुलो सङ्ख्यामा बीमाको पहुँच बाहिर रहेका आम सर्वसाधारणलाई स्वास्थ्य तथा कृषि बीमा जस्ता कार्यक्रम ल्याएर बीमाको परिधिमा जोड्न सकिने बीमा विज्ञहरू बताउँछन्। बीमा समितिले इन्स्युरटेक बीमाको कार्यक्रम प्रस्तावित ऐनमा राख्नका लागि प्रक्रिया अगाडि बढाइसकेको बीमा विज्ञ भोजराज शर्माले बताए ।

‘नेपालमा मोबाइल बीमाको अधिक सम्भावनालाई देखेर नै समितिले प्रस्तावित ऐनमा राख्नका लागि संसद्मा पठाइसकेको छ।’ उनले भने,‘अहिले ऐनमा नभईकन समितिको निर्देशिकाबाट पास गर्न सकिँदैन।’

मोबाइल बीमा कार्यक्रम लागु गर्नका लागि मुख्य रूपमा मोबाइल बीमा सेवा प्रदायक भन्ने छुट्टै एउटा एजेन्सी हुने र एजेन्सी आफैँले सम्पूर्ण व्यवस्थापन गर्ने गरी व्यवस्था गर्नुपर्ने शर्माको भनाई छ। ‘बीमा कम्पनीले सबैसँग एक एक गरी डिल गर्न सक्दैन ,यसका लागि मोबाइल बीमा सेवा प्रदायक भन्ने छुट्टै एउटा पक्ष (निकाय) हुन्छ ।जस्तै: एनटिसी अथवा एनसेल मार्फत बीमा गराउने डिल भयो भने त्यसको सम्पूर्ण प्रोशेसिङ गर्नका लागि तेस्रो पक्षीय सहजकर्ताको रूपमा मोबाइल बीमा  सेवा प्रदायक भन्ने एजेन्सीले भूमिका खेल्दछ।’ उनले अगाडी थपे,‘एजेन्सीले सीमितबाट पैसा उठाउने, बीमाको पोलिसी ग्राहकसम्म पुर्‍याउने, लगायतको कार्यहरू गर्दछ।’

मोबाइल बीमामा पनि स्वास्थ्य बीमाको पोलिसी छ भने त हरेक मानिसको पछि लाग्नु पर्ने शर्मा बताउँछन्। ‘अस्पतालमा भर्ना भएको हो की होइन । कस्तो प्रकारको घटना हो भन्ने लगायतको सम्पूर्ण कुराहरूको मोनिटरिङ मोबाइल बीमा सेवा प्रदायकले नै हेर्दछ।’ एजेन्सीको भूमिकालाई अझ फस्टाउँदै शर्माले भने, ‘बीमितलाृई एउटा कार्ड दिएको हुन्छ। सबै प्रक्रिया पुरा भएको छ भने  उक्त कार्ड मार्फत सजिलै नगद निकाल्न सकिन्छ। अझ यदि बिरामी अस्पताल नै भर्ना भएको छ भने एजेन्सी नै त्यहाँ पुग्छ र सबै मोनिटरिङ गर्छ।’

बीमा विज्ञ डा. रवीन्द्र घिमिरे यस्तो खालको बीमा प्रविधिमा आधारित इन्स्युरेन्स भएको भन्दै सर्वप्रथम यसलाई आवश्यक पर्ने पूर्वाधार विकाशमा ध्यान दिनु पर्ने बताउँछन्। ‘यो बीमामा मुख्य त दूर दराजका मानिसलाई जोड्नु पर्ने हुनाले इन्टरनेटको सहजै उपलब्धता हुने वातावरण बनाउने तर्फ ध्यान दिनु पर्दछ ।’ घिमिरेले भने।

बीमा कार्यक्रम ल्याएर मात्र बीमाको पहुँच नबढ्ने भन्दै मुख्य कुरा त्यसको कार्यान्वयनमा जोड दिनु पर्ने अधिकारीको भनाई छ। ‘यस्तो खालको बीमा कार्यान्वयन गर्नका लागि दक्ष प्राविधिक समूह हुनु पर्दछ। यसका साथै आमजनता पनि प्रविधि मैत्री हुने वातावरण बनाउन तर्फ ध्यान दिनु पर्दछ।’घिमिरेले थपे।

प्रतिक्रिया