शीर्षकहरू

सेबोन वार्षिकोत्सव स्थगित भएपछि कर्मचारी युनियनको आक्रोश, सुशासन र नेतृत्व रिक्ततामाथि प्रश्न

सेबोन वार्षिकोत्सव स्थगित भएपछि कर्मचारी युनियनको आक्रोश, सुशासन र नेतृत्व रिक्ततामाथि प्रश्न

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) को ३४औँ वार्षिकोत्सव औपचारिक रूपमा स्थगित भएपछि बोर्डभित्र असन्तोष चुलिएको छ। वार्षिकोत्सव मनाउने तयारी हुँदै गर्दा एकाएक कार्यक्रम रोकिनु ‘अपरिपक्व निर्णय’ र ‘संस्थागत उदासीनता’ को परिणाम भएको भन्दै नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले कडा आपत्ति जनाएको छ।

युनियनले सोमबार जारी गरेको विज्ञप्तिमा व्यवस्थापन पक्षको समन्वयहीन निर्णयका कारण सेबोनको इतिहासमै पहिलो पटक वार्षिकोत्सव औपचारिक रूपमा स्थगित हुन पुगेको भन्दै यसलाई संस्थागत संस्कार र गरिमामाथिको चोटका रूपमा व्याख्या गरेको छ। स्थापनाकालदेखि नै निरन्तर रूपमा मनाइँदै आएको वार्षिकोत्सव यस वर्ष कुनै परामर्श र सरोकारवालासँग छलफलबिना रोकिएको दाबी युनियनको छ।

वार्षिकोत्सव केवल औपचारिक उत्सव नभई बजार नियामक, सूचीकृत कम्पनी, मध्यस्थकर्ता तथा लगानीकर्ताबीच समीक्षा, मूल्यांकन र आगामी रणनीति तय गर्ने महत्वपूर्ण मञ्च भएको युनियनले उल्लेख गरेको छ। यस्तो अवसर नै निषेध गरिनु संस्थाभित्रको सुशासन र ‘कर्पोरेट कल्चर’ कमजोर भएको संकेत भएको टिप्पणी विज्ञप्तिमा गरिएको छ।

युनियनले वर्तमान व्यवस्थापन र सञ्चालक तह निर्णय प्रक्रियामा स्पष्टता र जवाफदेहिताको अभावमा रहेको आरोप लगाउँदै संस्थागत कार्यक्षमता क्रमशः कमजोर हुँदै गएको दाबी गरेको छ। सेबोनजस्तो संवेदनशील नियामक निकायमा नेतृत्व स्पष्ट नहुँदा नीति निर्माणदेखि कार्यान्वयनसम्म असर परेको युनियनको भनाइ छ।

यसैबीच, बोर्ड अध्यक्ष पद करिब दुई महिनादेखि रिक्त रहनु पनि गम्भीर संस्थागत शून्यता भएको उल्लेख गर्दै युनियनले तत्काल नियुक्ति प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेको छ। नेतृत्व रिक्तताले पूँजी बजारको गति र नीतिगत निर्णय दुबै प्रभावित भएको उनीहरूको तर्क छ।

युनियनले रोकिएका नीतिगत तथा प्रशासनिक निर्णयहरू तत्काल सार्वजनिक गरी कार्यान्वयन गर्न पनि माग गरेको छ। साथै, पूँजी बजारलाई स्थिर, पारदर्शी र प्रभावकारी बनाउन नेतृत्वले जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिँदै सरकारलाई नियामक निकायको सुदृढीकरणतर्फ ध्यान दिन आग्रह गरिएको छ।

null

प्रतिक्रिया