काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा संसदमा देखिएको गतिरोध अन्त्य गर्ने उद्देश्यले सर्वदलीय बैठक सोमबार बिहान सिंहदरबारमा सुरु भएको छ।
संसद अवरोध हटाउने, समसामयिक राजनीतिक विषयमा साझा धारणा निर्माण गर्ने तथा सदन सुचारु गर्ने उपायबारे छलफल गर्न बैठक बोलाइएको हो। बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू तथा प्रमुख पदाधिकारीहरूको सहभागिता रहेको छ।
बैठकमा रास्वपाका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेकपा (एमाले) का मुख्य सचेतक ऐनबहादुर महर, नेपाल कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलगायतका नेताहरू सहभागी छन्।
बैठकमा मुख्यतः संसदको अवरोध अन्त्य गर्ने सम्भावित विकल्पहरू, दलहरूबीच सहमति निर्माण गर्ने उपाय तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे केन्द्रित भएर छलफल भइरहेको बताइएको छ।
संसदलाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्न राजनीतिक सहमति आवश्यक रहेको निष्कर्षसहित रास्वपाले सर्वदलीय संवादको पहल गरेको जनाएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया