काठमाडौं । विश्वप्रसिद्ध होटल कम्पनी म्यारियट इन्टरनेशनल र सीजी हस्पिटालिटी ग्लोबलबीच नेपालमा दुई नयाँ अल्ट्रा–लग्जरी होटल द रिट्ज–कार्लटन काठमाडौं र द वेस्टिन काठमाडौं सञ्चालन गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ। यससँगै म्यारियटका विश्वप्रसिद्ध लक्जरी तथा प्रिमियम होटल ब्रान्डहरू पहिलोपटक नेपालको राजधानी काठमाडौंमा प्रवेश गर्ने भएका छन्।
सम्झौताअनुसार द रिट्ज–कार्लटन काठमाडौं र द वेस्टिन काठमाडौं सञ्चालनमा आएपछि म्यारियटको पोर्टफोलियोमा करिब ३०० नयाँ कोठा थपिनेछन्। उच्चस्तरीय पर्यटकलाई लक्षित यी होटलहरू सन् २०३१ सम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। सीजी हस्पिटालिटी ग्लोबल चौधरी ग्रुपको तीव्र गतिमा विस्तार भइरहेको हस्पिटालिटी शाखा हो। चौधरी ग्रुप नेपालकै सबैभन्दा ठूलो तथा विविध क्षेत्रमा लगानी गरेको बहुराष्ट्रिय व्यापारिक समूह हो।
ग्रुपको लगानी हस्पिटालिटी, एफएमसीजी, वित्तीय सेवा, दूरसञ्चार, शिक्षा, पूर्वाधार, सिमेन्ट, विद्युतीय सवारीसाधन तथा रियल इस्टेट क्षेत्रमा फैलिएको छ। काठमाडौंमा मुख्यालय रहेको चौधरी ग्रुप नेपाललाई विश्वस्तरीय पर्यटन तथा हस्पिटालिटी गन्तव्यका रूपमा स्थापित गर्दै देशको दीर्घकालीन पर्यटन तथा आर्थिक विकासमा योगदान पु¥याउन प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ।
चौधरी ग्रुप र म्यारियट इन्टरनेशनलबीच दक्षिण एशियाका विभिन्न हस्पिटालिटी परियोजनामार्फत लामो समयदेखि सहकार्य रहँदै आएको छ। यस नयाँ सम्झौताले दुवै कम्पनीबीचको व्यावसायिक सम्बन्धलाई अझ विस्तार गर्ने विश्वास गरिएको छ। द वेस्टिन काठमाडौं र द रिट्ज–कार्लटन काठमाडौं नेपालका अग्रणी व्यावसायिक घराना चौधरी ग्रुप, आईईजी ग्रुप, आईजे ग्रुप तथा शर्मा एन्ड कम्पनीको साझेदारीमा निर्माण हुनेछन्।
सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा म्यारियट इन्टरनेशनलका बोर्ड अध्यक्ष डेभिड म्यारियट, चौधरी ग्रुप तथा सीजी हस्पिटालिटी ग्लोबलका अध्यक्ष डा. बिनोद चौधरी, सीजी कर्प ग्लोबल तथा सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राहुल चौधरी, आईईजी ग्रुप, आईजे ग्रुप तथा शर्मा एन्ड कम्पनीका अध्यक्ष तथा सञ्चालकहरू, म्यारियट इन्टरनेशनलका एशिया–प्रशान्त (चीन बाहेक) अध्यक्ष राजीव मेनन तथा दक्षिण एशियाका वरिष्ठ उपाध्यक्ष किरण एन्डिकोटलगायतको उपस्थिति रहेको थियो।
सम्झौतापछि म्यारियट इन्टरनेशनलका एशिया–प्रशान्त (चीन बाहेक) अध्यक्ष राजीव मेननले उच्च सम्भावना बोकेको नेपाली बजारमा विश्वस्तरीय हस्पिटालिटी सेवा विस्तार गर्ने साझा दृष्टिकोणका साथ चौधरी ग्रुपसँगको सहकार्यलाई थप सुदृढ बनाउन पाउँदा खुशी लागेको बताए। उनले यी परियोजनाले म्यारियटका लक्जरी तथा प्रिमियम ब्रान्डहरूको उत्कृष्टता झल्काउनुका साथै पर्यटन प्रवद्र्धन, स्थानीय रोजगारी सिर्जना तथा क्षेत्रीय आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे।
त्यसैगरी, सीजी हस्पिटालिटी ग्लोबलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक राहुल चौधरीले म्यारियट इन्टरनेशनलसँगको सहकार्य नेपाल तथा दक्षिण एशियाको हस्पिटालिटी क्षेत्रलाई नयाँ उचाइमा पु¥याउने यात्राको अर्को महत्वपूर्ण अध्याय भएको बताए। उनले काठमाडौंमा निर्माण हुने यी परियोजनाले म्यारियटका विश्वस्तरीय लक्जरी तथा प्रिमियम ब्रान्डलाई सीजी हस्पिटालिटीको स्थानीय बजार अनुभव र दीर्घकालीन विकासप्रतिको प्रतिबद्धतासँग जोड्ने बताए। साथै, स्थानीय संस्कृति झल्काउने, रोजगारी सिर्जना गर्ने तथा पर्यटक र समुदायलाई उत्कृष्ट अनुभव प्रदान गर्ने प्रतीकात्मक गन्तव्य निर्माण गरिने उनको भनाइ थियो।
द रिट्ज–कार्लटन काठमाडौं
नेपालमा पहिलोपटक प्रवेश गर्न लागेको द रिट्ज–कार्लटन काठमाडौंले राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा आफ्नो सेवा सञ्चालन गर्नेछ। होटलमा ३० वटा विशाल सुइटसहित १५० आकर्षक कोठा रहनेछन्। पाहुनाहरूका लागि पाँचवटा फरक रेस्टुरेन्ट तथा बार, आउटडोर स्विमिङ पुल, फिटनेस सेन्टर तथा द रिट्ज–कार्लटन स्पाको सुविधा उपलब्ध हुनेछ। साथै, होटलमा १,१०० वर्गमिटरभन्दा बढी क्षेत्रफलमा अत्याधुनिक सम्मेलन तथा कार्यक्रम हल निर्माण गरिनेछ, जुन व्यावसायिक तथा सामाजिक कार्यक्रमका लागि उपयुक्त हुनेछ।
यो होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब पाँच किलोमिटर दूरीमा रहनेछ। साथै ठमेल, नारायणहिटी दरबार सङ्ग्रहालय, काठमाडौं दरबार क्षेत्र, स्वयम्भूनाथ स्तूप तथा पशुपतिनाथ मन्दिरजस्ता प्रमुख सांस्कृतिक सम्पदास्थल नजिकै अवस्थित हुनेछ।
द वेस्टिन काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब सात किलोमिटर दूरीमा निर्माण हुने द वेस्टिन काठमाडौंमा १५० प्रिमियम कोठा तथा सुइट रहनेछन्। होटलमा तीनवटा डाइनिङ स्थल, वेस्टिन वर्कआउट फिटनेस स्टुडियो, हेभेन्ली स्पा बाइ वेस्टिन, रूफटप स्विमिङ पुल तथा प्राकृतिक प्रकाश र स्मार्ट प्रविधियुक्त ७०० वर्गमिटरभन्दा बढी क्षेत्रफलको बैठक तथा बैंक्वेट सुविधा हुनेछ।
वेस्टिन ब्रान्डको विशेष वेलनेस अवधारणाअनुसार होटलले पाहुनाको स्वास्थ्य, आराम तथा सन्तुलित जीवनशैलीलाई प्राथमिकता दिनेछ। यात्राका क्रममा हुने थकान कम गर्ने उद्देश्यसहित होटल निर्माण गरिने कम्पनीले जनाएको छ।
यी दुई होटलसम्बन्धी सम्झौता म्यारियट इन्टरनेशनल र सीजी हस्पिटालिटीबीच विस्तार हुँदै गएको सहकार्यको पछिल्लो महत्वपूर्ण उपलब्धि हो। दुई वर्षभन्दा कम अवधिमा भारतमा ‘सिरिज बाई म्यारियट’ अन्तर्गत ७५ भन्दा बढी होटल सम्झौता सम्पन्न भइसकेका छन् भने ४३ शहरमा ५० होटल सञ्चालनमा आइसकेका छन्।
भारत बाहिर सीजी हस्पिटालिटीले फिलिपिन्समा ‘द फार्म एट सान बेनिटो, अटोग्राफ कलेक्सन’ सञ्चालनमा ल्याइसकेको छ, जसले उक्त देशमा अटोग्राफ कलेक्सन ब्रान्डको पहिलो प्रवेश गराएको थियो। साथै, सीजी डेभलपर्सले दुबई आइल्यान्ड्समा सेन्ट्रल दुबईको पहिलो जेडब्लु म्यारियट ब्रान्डेड रेसिडेन्स तथा भारतको सिलिगुडी–मातिगरामा जेडब्लु म्यारियट होटल निर्माणको घोषणा गरिसकेको छ।
दुवै कम्पनीले ‘सिरिज बाई म्यारियट’ ब्रान्डमार्फत अन्य क्षेत्रहरूमा समेत सहकार्य विस्तार गर्ने सम्भावनाहरू खोजिरहेका छन्। यसले उच्च सम्भावना भएका अन्तर्राष्ट्रिय बजारहरूमा विस्तार गर्ने साझा रणनीतिलाई संकेत गरेको छ।
म्यारियट इन्टरनेशनल अमेरिकाको मेरील्याण्ड राज्यस्थित बेथेस्डामा मुख्यालय रहेको विश्वकै अग्रणी हस्पिटालिटी कम्पनीमध्ये एक हो। सन् २०२६ मार्च ३१ सम्म कम्पनीका १४६ देश तथा क्षेत्रमा ९ हजार ९०० भन्दा बढी होटल सञ्चालनमा रहेका छन्। कम्पनीले लक्जरी, प्रिमियम, मिडस्केल, एक्सटेन्डेड स्टे तथा अल–इन्क्लुसिभ श्रेणीका होटल, रेसिडेन्स, टाइमसेयर, याट तथा अन्य आवास सेवाहरू सञ्चालन तथा लाइसेन्स प्रदान गर्दै आएको छ। म्यारियटले आफ्नो चर्चित ट्राभल प्लेटफर्म ‘म्यारियट बोनभोय’ पनि सञ्चालन गर्दै आएको छ।
त्यसैगरी, चौधरी ग्रुप अन्तर्गतको सीजी हस्पिटालिटीसँग हाल १२ देशका १३० गन्तव्यमा फैलिएका २२० भन्दा बढी होटल तथा रिसोर्ट र १३ हजार ८३५ भन्दा बढी कोठाको पोर्टफोलियो रहेको छ। कम्पनीले ताज, ताज सफारी, भिभान्ता, जेटविङ, डबल ट्री बाइ हिल्टन तथा फेयरमन्टजस्ता विश्वप्रसिद्ध हस्पिटालिटी ब्रान्डसँग साझेदारी गर्दै आएको छ। सन् २०३० सम्म आफ्नो पोर्टफोलियोलाई ६०० भन्दा बढी होटल तथा ३० हजारभन्दा बढी कोठासम्म विस्तार गर्ने लक्ष्य कम्पनीले राखेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया