काठमाडौं । भारतको अर्थतन्त्र चालु आर्थिक वर्ष २०२५/२६ मा ७.७ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ। अघिल्लो आर्थिक वर्ष २०२४/२५ मा ७.१ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको भारतले चालु वर्षमा अझ उच्च वृद्धिदर कायम गर्ने अपेक्षा गरिएको हो।
शुक्रबार सार्वजनिक सरकारी तथ्यांकअनुसार आर्थिक वर्षको अन्तिम त्रैमास अर्थात जनवरी–मार्च अवधिमा भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ७.८ प्रतिशतले वृद्धि भएको छ। विश्व अर्थतन्त्रमा अनिश्चितता र मध्यपूर्वमा जारी तनावका बीच पनि भारतीय अर्थतन्त्रले अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेको तथ्यांकले देखाएको छ।
तथ्यांकअनुसार कृषि तथा मत्स्य क्षेत्रको योगदान रहेको प्राथमिक क्षेत्रले ३.२ प्रतिशतको वृद्धिदर हासिल गरेको छ। कृषि उत्पादनमा आएको सुधार र मत्स्य व्यवसायको विस्तारले यस क्षेत्रमा सकारात्मक प्रभाव पारेको जनाइएको छ।
त्यस्तै, उत्पादनमूलक उद्योग, व्यापार, होटल तथा रेस्टुरेन्ट, यातायात, सञ्चार तथा प्रसारण र अचल सम्पत्तिसँग सम्बन्धित सेवा क्षेत्रले उच्च वृद्धि हासिल गरेका छन्। यीमध्ये धेरै क्षेत्रमा दोहोरो अंकको वृद्धिदर देखिएको सरकारी विवरणमा उल्लेख छ।
विशेषगरी सेवा क्षेत्रको विस्तार, आन्तरिक मागमा सुधार तथा पूर्वाधार क्षेत्रमा भएको लगानीले भारतीय अर्थतन्त्रलाई गति दिएको विश्लेषण गरिएको छ। उत्पादन र सेवामूलक गतिविधि बढेसँगै रोजगारी तथा उपभोगमा पनि सुधार देखिएको जनाइएको छ।
विश्वका प्रमुख अर्थतन्त्रहरू सुस्त वृद्धिको चुनौती सामना गरिरहेका बेला भारतले भने उच्च आर्थिक वृद्धि कायम राख्दै विश्वकै तीव्र गतिमा विस्तार हुने प्रमुख अर्थतन्त्रमध्ये आफ्नो स्थान बलियो बनाएको छ।
अर्थशास्त्रीहरूका अनुसार आन्तरिक बजारको आकार, सार्वजनिक पूर्वाधारमा भएको लगानी, डिजिटल अर्थतन्त्रको विस्तार तथा उत्पादन क्षेत्रको वृद्धिले आगामी वर्षहरूमा पनि भारतीय अर्थतन्त्रलाई बलियो आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया