काठमाडौं। पूँजीबजारमा लगानीकर्ताको पहिचान प्रणालीलाई थप व्यवस्थित र विश्वसनीय बनाउन साउन १ गतेदेखि नयाँ डिम्याट (हितग्राही) खाता खोल्दा राष्ट्रिय परिचय नम्बर अनिवार्य हुने भएको छ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जारी गरेको सूचनाअनुसार कम्पनी सञ्चालक समितिको जेठ १३ गतेको निर्णयअनुसार उक्त व्यवस्था लागू गर्न लागिएको हो। नयाँ व्यवस्थाअनुसार साउन १ पछि डिम्याट खाता खोल्ने सबै लगानीकर्ताले राष्ट्रिय परिचय नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
त्यसैगरी, यसअघि खोलिएका डिम्याट खाताको ग्राहक विवरण (केवाईसी) अद्यावधिक गर्दा पनि राष्ट्रिय परिचय नम्बर समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
सिडिएसका अनुसार पछिल्ला वर्षमा डिम्याट खाताको संख्या उल्लेख्य रूपमा बढेसँगै लगानीकर्ताको एकीकृत पहिचान प्रणाली विकास गर्ने, दोहोरो खाता तथा त्रुटिपूर्ण विवरण नियन्त्रण गर्ने उद्देश्यले राष्ट्रिय परिचय प्रणालीलाई पूँजीबजारसँग आबद्ध गर्न लागिएको हो।
यो व्यवस्थाले लगानीकर्ताको तथ्यांक व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुका साथै पूँजीबजारमा पारदर्शिता, विश्वसनीयता र नियामकीय निगरानी सुदृढ हुने अपेक्षा गरिएको सिडिएसले जनाएको छ।
हाल डिम्याट खाता, मेरो सेयर तथा अनलाइन सेयर कारोबारमा आबद्ध लगानीकर्ताको संख्या लगातार बढिरहेको छ। यस्तो अवस्थामा लगानीकर्ताको यकिन पहिचान सुनिश्चित गर्न राष्ट्रिय परिचय नम्बरलाई आधार बनाउने नीति अघि सारिएको हो।
सिडिएसले साउनअघि नै राष्ट्रिय परिचय नम्बर प्राप्त गरी आवश्यक विवरण अद्यावधिक गर्न लगानीकर्तालाई आग्रह गरेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया