शीर्षकहरू

आइएमईसहितको २ अर्ब लगानीमा कागज उद्योग सञ्चालनमा, ३०० जनालाई रोजगारी

आइएमईसहितको २ अर्ब लगानीमा कागज उद्योग सञ्चालनमा, ३०० जनालाई रोजगारी

महोत्तरी । लामो समयदेखि आयातित कागजमा निर्भर नेपाली बजारमा स्वदेशी उत्पादन बढाउने लक्ष्यसहित महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरस्थित नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज पूर्ण क्षमतामा सञ्चालनमा आएको छ।

आइएमई ग्रुपसहित स्थानीय तथा साना लगानीकर्ताको करिब २ अर्ब रुपैयाँ लगानी रहेको उद्योगले दैनिक ७० देखि ७५ मेट्रिक टनसम्म लेखन तथा छपाइ प्रयोजनका कागज उत्पादन गरिरहेको जनाएको छ। उद्योगका अनुसार हाल उत्पादन भइरहेको फोटोकपी तथा प्रिन्टिङ कागजले नेपालको कुल मागको करिब ४० देखि ५० प्रतिशत हिस्सा धान्न सक्ने क्षमता राख्छ। यसबाट वार्षिक अर्बौं रुपैयाँ बराबरको कागज आयात प्रतिस्थापन हुने अपेक्षा गरिएको छ।

  नेपालमा विद्यालय, सरकारी कार्यालय, बैंक तथा निजी क्षेत्रका संस्थामा प्रयोग हुने अधिकांश कागज विदेशबाट आयात हुँदै आएको छ। उद्योग सञ्चालनमा आएपछि शैक्षिक तथा प्रशासनिक क्षेत्रमा आवश्यक पर्ने कागजको स्वदेशी आपूर्ति बढ्ने विश्वास गरिएको छ। उद्योगले प्रारम्भिक चरणमा फोटोकपी पेपर, नोटबुक तथा पाठ्यपुस्तक छपाइमा प्रयोग हुने कागज उत्पादन गरिरहेको जनाएको छ।

 उद्योगले हाल स्थानीय महिलासहित ३०० भन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएको जनाएको छ। प्राविधिक, इन्जिनियर, व्यवस्थापन तथा उत्पादन क्षेत्रमा रोजगारी सिर्जना हुनुका साथै कच्चा पदार्थ आपूर्ति, ढुवानी र बजार व्यवस्थापनमार्फत अप्रत्यक्ष रोजगारीसमेत बढेको उद्योगको दाबी छ। उद्योगमा कार्यरत जनशक्तिमध्ये उल्लेख्य हिस्सा स्थानीय बासिन्दा र महिलाको रहेको बताइएको छ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशी उत्पादन प्रवर्द्धन, रोजगारी सिर्जना र आयात प्रतिस्थापनमार्फत मुलुकको आर्थिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले उद्योग सञ्चालनमा ल्याइएको बताए। उनका अनुसार नेपालमा औद्योगिक उत्पादन विस्तार र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रको लगानी बढाउन आवश्यक छ।

‘स्वदेशी उद्योगको सुदृढीकरण नै आत्मनिर्भर नेपालको आधार हो,’ उनले भने, ‘नेपालमै उत्पादन, नेपालमै रोजगारी र नेपालकै समृद्धि हाम्रो साझा लक्ष्य हो।’

उद्योगले प्रयोग गर्ने कच्चा पदार्थमध्ये पुनःप्रयोग गर्न सकिने फोहोर कागज पनि समावेश रहेकाले वातावरणीय दृष्टिले समेत परियोजना महत्त्वपूर्ण हुने दाबी गरिएको छ। उद्योग परिसरमा वातावरणमैत्री क्याल्सियम कार्बोनेट उत्पादन इकाइसमेत सञ्चालनमा रहेको जनाइएको छ।

नेपालले वार्षिक ठूलो परिमाणमा कागज तथा कागजनिर्मित सामग्री आयात गर्दै आएको अवस्थामा नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिजको सञ्चालनलाई स्वदेशी औद्योगिक उत्पादन विस्तारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। उद्योगले भविष्यमा उत्पादन क्षमता थप विस्तार गर्दै आन्तरिक माग पूरा गरेपछि निर्यातको सम्भावनासमेत अध्ययन गरिरहेको जनाएको छ।

प्रतिक्रिया