शीर्षकहरू

क्यानद्वारा २०२६ का लागि राष्ट्रिय क्रिकेट खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक, रोहित, दीपेन्द्र र सन्दीप ‘ए प्लस’ मा

क्यानद्वारा २०२६ का लागि राष्ट्रिय क्रिकेट खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक, रोहित, दीपेन्द्र र सन्दीप ‘ए प्लस’ मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि राष्ट्रिय क्रिकेट खेलाडीहरूको नयाँ वर्गीकरण तथा पारिश्रमिक सार्वजनिक गरेको छ। क्यानले पुरुषतर्फ ३८ र महिलातर्फ २५ खेलाडीलाई विभिन्न श्रेणीमा समेट्दै मासिक तलब र म्याच फीको व्यवस्था गरेको हो।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार खेलाडीहरूको प्रदर्शन, अनुभव र योगदानका आधारमा वर्गीकरण गरिएको हो। यसपटक पुरुषतर्फ ‘ए प्लस’ श्रेणी थप गरिएको छ।

पुरुषतर्फ कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने ‘ए प्लस’ श्रेणीमा परेका छन्। उनीहरूले मासिक १ लाख २० हजार रुपैयाँ पारिश्रमिक प्राप्त गर्नेछन्। सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल र करण केसी ‘ए’ श्रेणीमा परेका छन्, जसको मासिक तलब १ लाख रुपैयाँ निर्धारण गरिएको छ।

त्यस्तै, ‘बी’ श्रेणीका खेलाडीले मासिक ७५ हजार रुपैयाँ तथा ‘सी’ श्रेणीका खेलाडीले ५५ हजार रुपैयाँ पारिश्रमिक पाउनेछन्। विकास (डेभलपमेन्ट) श्रेणीमा रहेका खेलाडीलाई मासिक ३५ हजार रुपैयाँ प्रदान गरिनेछ।

महिलातर्फ इन्दु बर्मा, पूजा महतो, रुबिना क्षेत्री र सीता राना मगर ‘ए’ श्रेणीमा परेका छन्। उनीहरूले मासिक ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। ‘बी’ श्रेणीका खेलाडीको तलब ४० हजार रुपैयाँ, ‘सी’ श्रेणीका खेलाडीको ३० हजार रुपैयाँ तथा विकास श्रेणीका खेलाडीको २५ हजार रुपैयाँ निर्धारण गरिएको छ।

क्यानले मासिक पारिश्रमिकका अतिरिक्त अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेबापत पुरुष तथा महिला खेलाडीलाई म्याच फी समेत उपलब्ध गराउने जनाएको छ। नयाँ वर्गीकरणले खेलाडीहरूको मनोबल बढाउनुका साथै नेपाली क्रिकेटलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया