शीर्षकहरू

युनाइटेड मोदी हाइड्रोको लाभांश पारित, सञ्चालकमा अधिकारी र पाण्डे निर्वाचित

युनाइटेड मोदी हाइड्रोको लाभांश पारित, सञ्चालकमा अधिकारी र पाण्डे निर्वाचित

काठमाडौं। युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको १२औं वार्षिक साधारणसभाले सेयरधनीलाई ७.३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीले ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

कालीमाटीस्थित ब्याङ्क्वेटमा सम्पन्न साधारणसभा कम्पनीका अध्यक्ष नवीन सिलवालको अध्यक्षतामा भएको थियो। सभाले सञ्चालक समितिमा रेणुका पाण्डे र प्राप्ति अधिकारीलाई निर्वाचित गरेको छ।

सभाबाट आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गरिएको कम्पनीले जनाएको छ। साथै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरिएको छ।

कम्पनीले भविष्यमा अन्य लगानीयोग्य क्षेत्रमा विस्तार गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत स्वीकृत गरेको छ।

विशेष प्रस्तावअन्तर्गत कम्पनीलाई होल्डिङ कम्पनीको रूपमा विकास गर्ने उद्देश्यसहित नाम परिवर्तन तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने निर्णय गरिएको छ। त्यस्तै जारी पुँजी वृद्धि, हकप्रद सेयर निष्कासन तथा नियामक निकायहरूसँग आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई पूर्ण अधिकार प्रदान गरिएको छ।

सभाले आवश्यक परे नियामक निकायको निर्देशनअनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा थप संशोधन गर्न सक्ने अधिकार पनि सञ्चालक समितिलाई दिएको छ।

सभामा सहभागी सेयरधनीहरूले लाभांश वितरणको स्वागत गर्दै आगामी आर्थिक वर्षमा पनि निरन्तर प्रतिफल दिन व्यवस्थापनलाई आग्रह गरेका थिए।

युनाइटेड मोदी हाइड्रोपावरले पर्वतको कुश्मा नगरपालिका–८ मा १० मेगावाट क्षमताको तल्लो मोदी–१ जलविद्युत आयोजना सञ्चालन गर्दै आएको छ। आयोजना २०६९ मंसिर ९ गतेदेखि व्यावसायिक उत्पादनमा रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया