रुपन्देही । रुपन्देही जिल्लाको बेलहिया नाका पैदलमार्ग भएर सबैभन्दा पर्यटक भित्रने नाका हो । सामन्यतया विश्राम गृह, शौचालय, रेष्टुरेन्ट, होटल सामन्य हुन् । तर रुपन्देहीमा तेस्रो देशबाट नेपाल आउने पर्यटकको लागि नाकामा न गतिलो विश्राम गृह छ नत शौचालय नै छ । सडकको दुर्दशा उस्तै छ । शौच लाग्यो भने नजिकैको होटल र अध्यागमनको एउटा अफ्ठयारो शौचालयमा लामबद्ध भई शौच गर्न पर्ने बाध्यता । यी बाध्यतालाई चिर्न भनेर बेलहिया नाकामा सुविधा सम्पन्न शौचालय बनाउने योजना पर्यो । बजेट व्यवस्थापन भयो, ठेक्का लाग्यो तर काम भने अगाडी बढेन ।
पर्यटकको लागि महत्वपूर्ण मानिने अध्यागमन कार्यालयमा शौचालय छैन । यो भन्दा लाज पनि लजाउँछ । पर्यटन मार्फत समृद्धिको योजना बनाएका हामीले पर्यटककोलागि आवश्यक सामन्य पुर्वाधार समेत तयार गरेका छौं । बेलहिया स्थित पदयात्रा हुदै भित्रिने मुख्य नाकामा रहेको सडक निर्माणका क्रममा पुरानो शौचालय भत्कियो ।
अत्याधुनिक रुपमा सार्वजनिक शौचालय बनाउने भनेर २०८० चैत ४ गते भन्सार अगाडि ठेक्का सम्झौता भयो । शौचालय निर्माण उपभोक्ता समितिबाट हुने गरी चन्द्रभूषण उपाध्यायको अध्यक्षतामा ९ सदस्यीय समितिले निर्माणको जिम्मा लियो । २०८१ असार १९ गते सम्पन्न गर्ने गरी पुरानो शौचालयलाई भत्काएर निर्माण कार्य सुुरु भयो । ४५.९२ फिट लम्बाइ र १७.८६ फिट चौडाइ भएको शौचालय निर्माणका लागि ६५ लाख, ९ हजार ७ सय ७० रुपैयाँ ४२ पैसामा ठेक्का सम्झौता भएको थियो ।
लुम्बिनी प्रदेश सरकारको शहरी विकास तथा खानेपानी मन्त्रालय अन्तर्गत खानेपानी तथा सरसफाई कार्यालय योगिकुटि रुपन्देहीको बजेटमा बन्न लागेको शौचालय यतिबेला नाक थुनेर हेर्न मिल्छ । उपभोक्ता समितिले गत आर्थिक वर्षमा २४ लाख ३५ हजार ६सय ५३ रुपैयाँ भूक्तानी पायो । चालुु आर्थिक वर्षको कात्तिकमा ५ लाख भूक्तानी पायो । शौचालय नबनाउँदा बेलहियामा आउने पर्यटक देखि सर्वसाधारणलाई शौचालय छैन । तत्कालिन लुम्बिनी प्रदेशका मन्त्री सन्तोष पाण्डे र सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खानले संयुक्त रुपमा उक्त शौचालयको शिलन्यास गरे । यतिबेला यी दुवै नेता बेखबर छन् । पर्यटकीय नगर भनेर गर्व गर्ने ठाउँमा शौचालय सम्म बन्न सकेको छैन ।
स्थानीय रुकमाया गुरुङले भएको ट्वाइलेट भत्काएर अलपत्र पारेको बताउँदै सर्वसाधारणले निर्माणाधिन ट्वाइलेटमा दिसा पिसाब गर्दा दुर्गन्धित भएको बताइन् । स्थानीय व्यवसायी बमबहादुर केसीले शौचालय नहुँदा समस्या निम्तिएको बताउँदै स्थानीय सरकारले चाँसो देखाएमा निर्माण कार्यले गति लिन सक्ने विश्वास व्यक्त गरे ।
स्थानीय होटल व्यवसायी सुरेस कुमार राना मगरले राम्रै अवस्थामा रहेको ट्वाइलेटलाई आधुनिक बनाउने नाममा तोडफोड गरेर निर्माण गर्न नसक्दा पर्यटकहरुलाई शौचालय जान समस्या भएको बताए । उनले ट्वाइलेटको दुुर्गन्धले गर्दा होटल व्यवसाय गर्न समेत समस्या भएको बताए । बेलहिया गाउँ समाजका अध्यक्ष सुमित प्रधानले अन्तर्राष्ट्रिय नाकामा सार्वजनिक शौचालय बन्दा बन्दै रोकिँदा समस्या निम्तिएको बताउँदै राज्यले यस्ता कुरालाई ध्यान दिनुु पर्नेमा जोड दिए ।
समाजसेवी डा. शान्तकुुमार शर्माले नगरपालिकाको सम्पत्तिमा सार्वजनिक शौचालय बनाउने गरी प्रदेश मन्त्री र नगरप्रमुखले शिलन्यास गरेको भवन अधुरो रहेको बताए । उनले भारतको बाटो हुँदै विश्वका पर्यटक आउने ठाउँमा शौचालय नहुनुु दुःखद् कुरा रहेको बताउँदै निर्माण कार्य छिटो सक्नको लागि आग्रह गरे ।
सुुरुवाती चरणमा ट्वाइलेट भत्काउनै मुस्किल भएको बताउँदै निर्माण कार्यको लागि ठेक्का सम्झौता गर्दा नै ढिलो भएको खानेपानी तथा सरसफाई कार्यालय योगिकुटिका प्रमुख राजकुमार चौधरीले बताए । उनले उपभोक्ता समितिले काम गरे अनुुसारको भूक्तानी गर्न नसकेको बताए । प्रमुख चौधरीले सिद्धार्थनगर नगरपालिकासँग जग्गा माग्दा पहिलाको ट्वाइलेट भत्काउने र मोडल ट्वाइलेट बनाउने भनेकाले उक्त ठाउँमा ट्वाइलेट बनाउँदा समस्या आएको बताए ।
बेलहियामा यतिबेला पुुग्ने जो कोहीलाई शौचालय जान परे निकै कठिन छ । शौचालय जानको लागि होटलमा गए खाना वा खाजा खाने, नत्र किड्नीलाई जोखिममा राखेर हिँड्नु पर्ने बाध्यता छ । उपभोक्ता मार्फत ठूलो लगानीमा भौतिक निर्माणको काम गर्दा समस्या आएपछि ५ लाख भन्दा बढीको काम ठेक्का मार्फत गर्ने निर्णय पनि गरेको थियो, तर बेलहियामा ट्वाइलेट बनाउन ६५ लाख बढीको लागत उपभोक्ता मार्फत भएको छ ।