काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमाससम्म लघु बीमा कम्पनीहरुको खुद नाफा ह्वात्तै बढेको छ । कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आवको सोहि अवधिको तुलनामा लघु बीमकको खुद नाफा ८२.७७ प्रतिशतले वृद्धि भएको हो ।
नेपालमा हाल ७ वटा लघु बीमा कम्पनीहरु रहेका छन् । ति कम्पनीहरुले चालु आवको दोस्रो त्रैमाससम्म ३ करोड ३४ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आवको सोहि अवधिमा यस्तो नाफा १ करोड ८३ लाख १६ हजार रुपैयाँ थियो ।
७ कम्पनीमध्ये ३ कम्पनीको नाफा बढेको छ भने ४ कम्पनीको नाफा घटेको छ । जसमध्ये गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको नाफा ३ हजार ७ सय २५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले यो अवधिमा १ करोड १५ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिमा गार्डियनले ३ लाख २ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यसैगरी, ट्रष्ट माइक्रो इन्स्योरेन्सको नाफा ६ सय ६० प्रतिशतले वृद्धि भएको छ । गत आवको दोस्रो त्रैमाससम्म कम्पनीले १२ लाख ५ हजार नाफा आर्ज गरेको थियो । चालु आवको साेहि अवधिमा कम्पनीको नाफा ९१ लाख ५८ हजार रुपैयाँ रहेको छ ।
यसैगरी, क्रेष्ट माइक्रो लाइफको खुद नाफा २ सय ३९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले यो अवधिमा ४० लाख १७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीको यस्तो नाफा ११ लाख ८५ हजार रुपैयाँ थियो ।
प्रोटेक्टीभ माइक्रो इन्स्योरेन्स, लिबर्टी माइक्रो लाइफ, स्टार माइक्रो इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्सको नाफा घटेको छ । उक्त कम्पनीहरुको नाफा क्रमशः २३.१६ प्रतिशत, २८.६७ प्रतिशत, ५७ प्रतिशत र ८८.२७ प्रतिशतले घटेको छ ।