काठमाडौं । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका छन्। उपाध्यायले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत समक्ष बिहिबार पद तथा गोपनीयताको शपथ लिएका हुन्।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ अनुसार अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था रहेको छ । यस्तै दफा १०८ ९१० मा राष्ट्र बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीश समक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।
शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल, रजिष्ट्रारद्वय विमल पौडेल र भद्रकाली पोखरेल, सह–रजिष्ट्रारहरू, नेपाल राष्ट्र बैंकका निर्देशक एवम् सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटालगायतका अधिकारीहरूको उपस्थिति रहेको थियो ।