शीर्षकहरू

८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको सिटि होटलले यो वर्ष घटायो नोक्सानी

८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको सिटि होटलले यो वर्ष घटायो नोक्सानी

काठमाडौं । होटल तथा पर्यटन क्षेत्रको कम्पनीका रुपमा सञ्चालित सिटि होटल लिमिटेड चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १० करोड ४९ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । कम्पनीले गत वर्षको यसै अवधिसम्मको तुलनामा भने यस वर्ष खुद नोक्सानी घटाएको हो । गत वर्ष यस अवधिसम्म कम्पनी ११ करोड ७९ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको थियो ।

यस कम्पनीले ८० प्रतिशत हकप्रद शेयर निष्कासनको तयारी गरेको छ । हाल १ अर्ब ६७ करोड ४० लाख रुपैयाँभन्दा बढी चुक्तापूँजी रहेको कम्पनीले ऋण चुक्ता गर्नका लागि हकप्रद शेयर निष्कासन गर्न लागेको हो । दोस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम भने २६ करोड ७१ लाख रुपैयाँभन्दा बढी छ । यस वर्ष कम्पनीको कुल आम्दानी २५ करोड ७१ लाख रुपैयाँभन्दा बढी छ । 

गत वर्ष यो आम्दानी २७ करोड ८५ लाख रुपैयाँभन्दा बढी थियो । यस वर्ष कुल आम्दानी घटेपनि कुल खर्च र वित्तीय खर्च कम भएकाले कम्पनीको खुद नोक्सानी घट्न पुगेको हो । गत वर्ष १८ करोड ६९ लाख रुपैयाँभन्दा बढी कुल खर्च भएको कम्पनीको यस वर्ष १७ करोड ४६ लाख रुपैयाँ मात्र भएको छ । 

त्यस्तै गत वर्ष १७ करोड ४८ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च भएको यस वर्ष १४ करोड २८ लाख रुपैयाँभन्दा बढी मात्र यो खर्च भएको हो । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ २७ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ८४ रुपैयाँ २० पैसा छ ।