शीर्षकहरू

भीम अस्पतालमा बेथिती, अहेब बने सूचना अधिकारी

भीम अस्पतालमा बेथिती, अहेब बने सूचना अधिकारी

भैरहवा । सूचना अधिकारी बन्न कति योग्यता चाहिन्छ ? यो कुरा धेरैलाई थाहा भएको नै हो अधिकृत नभइ सूचना अधिकारी बन्न पाइँदैन तर भैरहवाको भीम अस्पतालमा भने अहेब सूचना अधिकारी बनेका छन् । अहेबलाई किन सूचना अधिकारीमा नियुक्त गरियो भन्ने यतिबेला सबैको चाँसोको विषय बनेको छ । भीम अस्पताल रुपन्देही जिल्लाको जिल्ला अस्पताल हो । झट्ट हेर्दा यहाँ अधिकृत स्तरका कर्मचारी नभएर अहेवलाई नियुक्ति गरियो कि भन्ने बुझिन्छ । तर यहाँ अस्पतालका मे.सु. डाक्टर नविन दर्नालले आफू निकटको व्यक्तिलाई सुचना अधिकारी नियुक्त गरेको रहस्य खुलेको छ ।

रुपन्देहीको सबैभन्दा पुरानो भीम अस्पताल भैरहवामा अधिकृत स्तरका प्रशासन तथा मेडिकल फिल्डका कर्मचारी हँुदाहुँदै उनीहरुको सेवा अवधि, योग्यता आदिलाई लत्याउँदै डाक्टर नविन दर्नालले सुचना अधिकारी जस्तो जिम्मेवारी पदमा करार सेवाका एक अहेवलाई सुचना अधिकारीको पदमा राखेका छन् ।

करिव ६ वर्ष अगाडी करार सेवाबाट भिम अस्पतालमा अहेव पदमा प्रवेश गरेका गोपाल उपाध्याय हाल भीम अस्पतालका सूचना अधिकारी (प्रवक्ता) रहेका छन् । यसको खुलेर विरोध गर्न भीम अस्पतालका अधिकृत स्तरका कर्मचारीहरुले सकेका छैनन् ।

स्रोतका अनुसार अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा सूचना अधिकारी चिकित्सक नै रहनुपर्ने हो यदि त्यस्तो नभए प्रशासन तर्फका अधिकृत स्तरका कर्मचारी सूचना अधिकारी हुनुपर्ने हो तर यसमा मे.सु दर्नालले नियमलाई मिचेर अख्तियारीको दुरुपयोग गरेको स्पष्ट देखिएको छ ।

सूचनाको हक सम्बन्धि ऐन, २०६४ र सूचनाको हक सम्वन्धि नियमावली २०६५ अनुरुप सुचनाको हक कार्यान्वयन निर्देशिकाले “सूचना अधिकारीलाई आफ्नो निकायका महत्वपूर्ण बैठकका निर्णयहरू, नीति तथा कार्यक्रमहरूका साथै निकायमा भएका महत्वपूर्ण सूचनाको बारेमा सम्पूर्र्ण जानकारी हुनपर्ने हुँदा तथा ऐनको दफा ६(२) मा कार्यालय प्रमुखले आफ्नो कार्यालयमा रहेको सूचना नियमित रूपमा सूचना अधिकारीलाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरेकोले कार्यालय प्रमुख भन्दा ठीक तलको पदका कर्मचारीलाई सूचना अधिकारीको जिम्मेवारी दिनु उपयुक्त हुनेछ” भनि स्पष्ट उल्लेख गरेको छ ।

भीम अस्पतालका मे.सु दर्नालले उक्त निर्देशिकालाई लत्याएर करार सेवाका कर्मचारी गोपाल उपाध्यायलाई वि.सं २०७६ साल मंसिर ९ गते देखी सुचना अधिकारीको जिम्मेवारी दिएका हुन् । उनले न त आफू भन्दा मुनिका कर्मचारीलाई सूचना अधिकारीको जिम्मेवारी दिए न त अधिकृत स्तरका कुनै कर्मचारीलाई नै दिए ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकिय अधिकृत तथा सूचना अधिकारी जनक थापाले हरेक कार्यालयमा सूचना अधिकारी अनिवार्य रुपमा राख्नुपर्ने बताए । उनले सूचना अधिकारी कम्तीमा पनि राजपत्राङ्कित कर्मचारी हुनुपर्ने बताउँदै सो नभएमा कार्यालयको सम्बन्धित सिनियर कर्मचारीलाई राख्न सक्ने बताए ।

कर्मचारीको भत्तामा समेत भाग खोज्छन् मेसु
चिकित्सकको भनाइ अनुसार मेसु दर्नालले भिम अस्पतालमा गरिने पोष्टमार्टम बापतको भत्ता पनि पोष्टमार्टम गर्ने चिकित्सकको नाममा आफैले बुझ्ने गरेको उनीहरुको गुनासो छ । यति मात्र होइन उनले ल्यावमा काम गर्ने कर्मचारीले पाउने जोखिम भत्तामा समेत आफूले भाग लगाउने गरेको अस्पतालमा कार्यरत चिकित्सकहरु बताउँछन् । बिदामा बसेकाहरु पनि आउँदा हाजिर गरेर पैसा लिने गरेका छन् । सरकारी कर्मचारीहरुलाई करार कर्मचारीले थर्काउँछन् ।

अहेवको छायाँमा चिकित्सक
भिम अस्पतालमा कार्यरत चिकित्सकहरु मेसु दर्नाल र सूचना अधिकारी अहेव गोपाल उपाध्यायको दवावमा काम गर्न परेको बताएका छन् । पर्दा पछाडिबाट मेसुको चलखेलमा अहेव गोपाल उपाध्यायले चिकित्सकहरु माथि नै दवाव दिने गरेको नाम उल्लेख गर्ने शर्तमा एक चिकित्सकले बताएका छन् ।

एउटा चौथो तहको अहेवबाट आफूहरु निर्देशित हुनुपर्ने बाध्यता रहेको उनीहरुको गुनासो छ । के गर्ने मेसुले नै आफ्नो पिए जस्तो गरि एक अहेवलाई राखेपछि हामी पिल्सिनुको विकल्प नै रहेन ।

काम गर्न समेत असहज वातावरण हुने गरेको अस्पतालका नर्सहरु समेत बताउँछन् । कोरोनामा काम खटाएकालाई अहिले कार्यालय सहयोगीहरुलाई आफ्ना मान्छे लाई इन्ट्री गराएको तर एमबिबिएसलाई किन नराख्ने एक जनाले प्रश्न गरिन् ? नयाँ भन्दा पुरानालाई राखे राम्रो होला नि । मेसु र सूचना अधिकारीहरुको सम्बन्ध नातेदार जस्तो छ । समितिबाट आएको करार मान्छेको यस्तो पावर हुन्छ ? उसले जे गर्यो त्यही हुन्छ र धेरै पिडीत छन् ।

रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ६ निवासी गोपाल उपाध्यायले युपी बोर्ड भारतबाट एसएलसी साथै आईएस्सी उत्तीणर््ा गरी कपिलबस्तु प्रवाधिक प्रतिष्ठानबाट सिएमए उत्तिर्ण गरेका हुन् । भिम अस्पतालका तत्कालिन मेसु डा. मनोहर जोशीको कार्यकालमा उनी २०६७ साल जेठ ३ गते करार सम्झौतामा २ महिनाका लागि अहेव पदमा कार्य सुरु गरेका हुन् । त्यसपछि उनले भिम अस्पतालमा आफ्नो हैकम जमाएको कर्मचारीहरुको दुखेसो छ । हाल गोपाल उपाध्यायले कोभिड प्रमुखको जिम्मेवारी पनि लिएको स्रोतको दावी छ । गोपाल उपाध्याय नेपाल सिएमए संघको केन्द्रिय उपाध्यक्ष पनि हुन ।

यसबारेमा भिम अस्पतालका मेसु नविन दर्नालले आफूले सुचना अधिकारी चयन गर्दा ऐन नहेरेको बताउँदै अन्य कुराहरु सबै मनगढन्ते र कपोलकल्पित भएको बताए ।

प्रतिक्रिया