शीर्षकहरू

दक्षिण एसियाभर फैलियो ‘ग्लोकल टिन हिरो’, उत्कृष्ट युवा नेताको खोजी सुरु

दक्षिण एसियाभर फैलियो ‘ग्लोकल टिन हिरो’, उत्कृष्ट युवा नेताको खोजी सुरु

काठमाडौं । नेपालमा एक दशकभन्दा बढी समयदेखि किशोरकिशोरीहरूको नेतृत्व, नवप्रवर्तन र सामाजिक योगदानलाई सम्मान गर्दै आएको ‘ग्लोकल टिन हिरो’ कार्यक्रम अब दक्षिण एसियाभर विस्तार हुने भएको छ।

गोल्छा ग्रुपद्वारा प्रस्तुत ‘ग्लोकल टिन हिरो साउथ एसिया २०२६’ मार्फत नेपालसहित दक्षिण एसियाका विभिन्न मुलुकका उत्कृष्ट युवा नेताहरूलाई एउटै मञ्चमा ल्याउने तयारी गरिएको छ।

आयोजक ग्लोकल प्रालिले बुधबार जारी गरेको विज्ञप्तिअनुसार ‘इम्पावरिङ टुडे’ज लिडर्स’ नारासहित सञ्चालन हुने कार्यक्रमले नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेशलगायत दक्षिण एसियाली मुलुकका असाधारण किशोरकिशोरीहरूको नेतृत्व क्षमता, सिर्जनशीलता र सामाजिक प्रभावलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ।

कार्यक्रमअन्तर्गत सहभागी प्रत्येक देशबाट उत्कृष्ट एक–एक युवा छनोट गरिनेछ भने अन्तिम चरणमा पाँचै देशका राष्ट्रिय विजेतामध्येबाट ‘साउथ एसियन ग्लोकल टिन हिरो’ घोषणा गरिने आयोजकले जनाएको छ। क्षेत्रीय स्तरको यो सम्मान दक्षिण एसियाका किशोर नेतृत्वकर्ताहरूलाई प्रदान गरिने प्रतिष्ठित उपाधिका रूपमा रहने बताइएको छ।

सन् २०१५ मा काठमाडौंबाट सुरु भएको ग्लोकल टिन हिरो कार्यक्रमले अहिलेसम्म सयौं किशोरकिशोरीलाई सम्मान गरिसकेको छ। कार्यक्रमले शैक्षिक उपलब्धिभन्दा बाहिर गएर नेतृत्व, नवप्रवर्तन, उद्यमशीलता, सामाजिक उत्तरदायित्व तथा समुदायमा सकारात्मक प्रभाव पार्ने युवाहरूलाई प्राथमिकता दिँदै आएको छ।

आयोजकका अनुसार कार्यक्रम अहिले नेपालबाट विस्तार हुँदै भारत, श्रीलंका र बंगलादेशसम्म पुगिसकेको छ भने सन् २०२६ मा पहिलोपटक दक्षिण एसियाका पाँच देशलाई एउटै प्रतिस्पर्धात्मक मञ्चमा जोड्ने लक्ष्य राखिएको छ।

कार्यक्रमका लागि काठमाडौंस्थित भारतीय दूतावास, प्लान इन्टरनेसनल, संयुक्त अरब इमिरेट्सको दूतावास, एनएफए, डीओआईसीएलगायत विभिन्न अन्तर्राष्ट्रिय तथा संस्थागत निकाय साझेदारका रूपमा रहेका छन्। यस्तै होन्डा, कोका–कोला, पञ्चकन्या, टोयोटा, नबिल बैंक, यती एयरलाइन्सलगायत निजी क्षेत्रका प्रतिष्ठित संस्थाले पनि कार्यक्रमलाई सहयोग गरिरहेका छन्।

आयोजकका अनुसार दक्षिण एसियाभरका इच्छुक किशोरकिशोरीले आगामी जुलाई २५, २०२६ सम्म आवेदन दिन सक्नेछन्। आवेदन परेका उम्मेदवारहरूको नेतृत्व क्षमता, उपलब्धि, सामाजिक प्रभाव र नवप्रवर्तनका आधारमा मूल्यांकन गरिनेछ। त्यसपछि प्रत्येक देशबाट ‘टप २० अन्डर २०’ छनोट गरिने र अन्तिम चरणमा राष्ट्रिय तथा क्षेत्रीय विजेता घोषणा गरिने कार्यक्रम छ।

ग्लोकलका अनुसार दक्षिण एसिया विश्वकै सबैभन्दा ठूलो युवा जनसंख्या भएको क्षेत्र भएकाले युवाको क्षमता पहिचान, सशक्तीकरण र नेतृत्व विकासका लागि यस्तो क्षेत्रीय मञ्च आवश्यक रहेको हो। ‘ग्लोकल टिन हिरो साउथ एसिया २०२६’ केवल एक प्रतियोगिता नभई भावी पुस्ताका परिवर्तनकारी नेतृत्वकर्ताहरूलाई पहिचान र प्रोत्साहन गर्ने अभियान भएको आयोजकको दाबी छ।
 

प्रतिक्रिया