काठमाडौं । नेपालस्थित एयरलाइन्स प्रतिनिधिहरूको बोर्ड (बोर्ड अफ एयरलाइन्स रिप्रेजेन्टेटिभ्स इन नेपाल -बार्न) ले “रेजिलिएन्ट स्काइज, शेयर्ड भिजन” भन्ने मूल नाराका साथ आफ्नो ३०औँ तथा ३१औँ वार्षिक साधारण सभा (एजीएम) सफलतापूर्वक सम्पन्न गरेको छ।
ललितपुरस्थित बेस्ट वेस्टर्न प्लस गोदावरीमा आयोजित सभामा नेपालमा सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय एयरलाइन्सका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सभामा संस्थाको वार्षिक गतिविधिको समीक्षा, प्रमुख उड्डयन–सम्बन्धी विषयहरूमा छलफल, आर्थिक प्रतिवेदनको अनुमोदन तथा सन् २०२६-२०२८ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको छ।
नवगठित कार्यसमितिको अध्यक्षमा नेपाल एयरलाइन्स कर्पोरेशनका अनिल घिमिरे चयन भएका छन्। त्यसैगरी प्रथम उपाध्यक्षमा इन्डिगोका भोला विक्रम थापा, द्वितीय उपाध्यक्षमा एओसी–एन का अभित श्रेष्ठ र महासचिवमा कतार एयरवेजका सरीक बोगटी चयन भएका छन्। कोषाध्यक्षको जिम्मेवारी फ्लाईदुबईका नवराज शाहीलाई दिइएको छ।
त्यस्तै कार्यसमिति सदस्यहरूमा टर्किस एयरलाइन्सका सेरकान बसर, क्याथे प्यासिफिककी जुनु मलेकु, चाइना सदर्न एयरलाइन्सका धीरज चन्द्र श्रेष्ठ, थाई एयरवेजका सन्तोष विक्रम राना, मलेसिया एयरलाइन्सकी त्रिप्ति क्षेत्री, एमिरेट्सका रमेश लामिछाने तथा एफआईटीएस एयरका बासु लामिछाने रहेका छन्।
सभामा भेर्टेल टेक्नोलोजिजले न्युन डिस्ट्रीब्युसन क्यापाबिलिटी (एनडीसी) समाधान तथा एयरलाइन रिटेलिङको भविष्यबारे विशेष प्रस्तुति दिएको थियो। प्रस्तुतिले एयरलाइन वितरण प्रणालीमा देखिँदै आएका नयाँ प्रवृत्तिबारे जानकारी प्रदान गरेको आयोजकले जनाएको छ।
बार्नले कार्यक्रम सफल बनाउन सहयोग गर्ने भेर्टेल टेक्नोलोजिज र सोल्टी ग्रुप अफ कम्पनीजप्रति आभार व्यक्त गरेको छ।
सन् १९९० मा स्थापना भएको बार्न नेपालमा सञ्चालनमा रहेका एयरलाइन्सहरूको छाता संगठन हो, जसले नेपालको उड्डयन क्षेत्रको दिगो विकासका लागि सरोकारवाला निकायसँग समन्वय गर्दै आएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया