काठमाडौं । प्रभु बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत गोरखास्थित श्री अन्नपूर्ण माध्यमिक विद्यालय लाई स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ।
बैंकको गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराइएको हो। विद्यार्थीलाई आधुनिक तथा गुणस्तरीय शिक्षासँग जोड्दै शिक्षण–सिकाइ प्रक्रियामा प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यले उक्त सहयोग गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार स्मार्ट बोर्डको प्रयोगले कक्षाकोठामा डिजिटल माध्यमबाट अध्यापन गर्न सहज हुने, शिक्षण प्रक्रियालाई थप अन्तरक्रियात्मक बनाउने तथा विद्यार्थीको सिकाइ अनुभवलाई प्रभावकारी बनाउन सहयोग पुग्नेछ।
विश्वव्यापी रूपमा शिक्षा क्षेत्र डिजिटल रूपान्तरणतर्फ उन्मुख भइरहेका बेला विद्यार्थीलाई आधुनिक प्रविधिसँग परिचित गराई भविष्यका लागि सक्षम, दक्ष र प्रतिस्पर्धी जनशक्ति तयार पार्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बैंकको विश्वास छ।
प्रभु बैंकले शिक्षा, नवप्रवर्तन तथा समुदाय विकासलाई प्राथमिकतामा राख्दै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। विद्यालयमा स्मार्ट बोर्ड हस्तान्तरणले गुणस्तरीय शिक्षाको प्रवर्द्धनसँगै डिजिटल पहुँच विस्तार र डिजिटल विभाजन न्यूनीकरणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।
स्मार्ट बोर्ड हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो। सहभागीहरूले बैंकको सहयोगले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए।
बैंकले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया