शीर्षकहरू

इजाजतबिनै मदिरा र सुर्तीजन्य वस्तुको कारोबार नगर्न व्यवसायीलाई आग्रह

इजाजतबिनै मदिरा र सुर्तीजन्य वस्तुको कारोबार नगर्न व्यवसायीलाई आग्रह

रसुवा । कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलनिका) रसुवाले मदिरा, सुर्ती, गुट्खालगायत अन्तःशुल्कजन्य वस्तुको बिक्री–वितरण तथा कारोबार कानुनबमोजिम इजाजत लिएर मात्र गर्न व्यवसायीलाई आग्रह गरेको छ।

कार्यालयले जिल्लाका विभिन्न स्थानमा इजाजतपत्र नलिई मदिरा तथा सुर्तीजन्य वस्तुको कारोबार भइरहेको सूचना प्राप्त भएको भन्दै कानुनविपरीत गतिविधि नगर्न चेतावनी दिएको हो। इजाजतबिना कारोबार गरेको पाइए अन्तःशुल्क ऐनअनुसार कारबाही गरिने कोलनिकाले जनाएको छ।

जिल्ला सदरमुकाम धुञ्चे, स्याफ्रुबेँसी, टिमुरे, थाम्बुचेत, बेत्रावती, जिबजिबे र पारच्याङलगायतका व्यापारिक क्षेत्रमा केही व्यवसायीले अनुमति नलिई मदिरा तथा सुर्तीजन्य वस्तुको कारोबार गरिरहेको जानकारी प्राप्त भएपछि कार्यालयले जनचेतनामूलक अभियानलाई प्राथमिकता दिएको जनाएको छ।

प्रमुख कोष नियन्त्रक विन्ध्या कार्कीका अनुसार उद्योग वाणिज्य संघका प्रतिनिधि तथा सम्बन्धित व्यवसायीको सहभागितामा अन्तःशुल्क सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ।

कार्कीका अनुसार हालसम्म गोसाइँकुण्ड गाउँपालिकाका ७४ जना, कालिका गाउँपालिकाका २४ जना, उत्तरगया गाउँपालिकाका ६ जना, नौकुण्ड गाउँपालिकाका ४ जना तथा आमाछोदिङ्मो गाउँपालिकाका १ जनाले मात्र अन्तःशुल्कजन्य वस्तुको बिक्री–वितरणका लागि अनुमति लिएका छन्।

कोलनिकाले जिल्लामा अझै उल्लेख्य संख्यामा व्यवसायीले आवश्यक इजाजत नलिई कारोबार गरिरहेको पाइएको भन्दै यथाशीघ्र अनुमति लिएर मात्र व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ।

अन्तःशुल्क कारोबारको अनुमति प्राप्त गर्न आन्तरिक राजस्व कार्यालय गल्छीबाट स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्ने प्रमुख कोष नियन्त्रक कार्कीले जानकारी दिइन्।

कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म अन्तःशुल्क शीर्षकबाट ८ लाख ९९ हजार ७५० रुपैयाँ राजस्व संकलन भएको छ।
 

प्रतिक्रिया