काठमाडौं। विश्वप्रसिद्ध एयरोस्पेस कम्पनी एयरबस र त्रिभुवन विश्वविद्यालयबीच नेपालमा एयरोस्पेस क्षेत्रको क्षमता विकासका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
यस सहकार्यले नेपालमा एयरोस्पेस, उड्डयन तथा डिजिटल प्रविधिसम्बन्धी शिक्षा, तालिम, अनुसन्धान र उद्योग अनुभवका अवसर विस्तार गर्ने लक्ष्य राखेको छ । कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई एयरोस्पेस इन्जिनियरिङ, एआई/एमएल, एडभान्स्ड एनालिटिक्स तथा साइबर सुरक्षा जस्ता आधुनिक प्रविधिसम्बन्धी ज्ञान र सीप विकासमा सहयोग गरिने जनाइएको छ ।
समझदारीपत्रमा एयरबस साउथ एसियाका प्रेसिडेन्ट तथा म्यानेजिङ डाइरेक्टर जोहान वेस्टरमायर र त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुदीप बहादुर बज्राचार्यले हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा नेपाल सरकारका शिक्षा तथा खेलकुदमन्त्री सुस्मिता पोखरेल, नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्टेभाललगायत विभिन्न सरकारी अधिकारी तथा एयरबसका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै जोहान वेस्टरमायरले नेपालमा दक्ष जनशक्ति विकासका लागि एयरबसले आफ्नो अन्तर्राष्ट्रिय अनुभव र विशेषज्ञता साझा गर्ने बताए । उनले यस सहकार्यले नेपालको उड्डयन तथा एयरोस्पेस क्षेत्रलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
त्यस्तै, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुदीप बहादुर बज्राचार्यले एयरबसजस्तो विश्वस्तरीय कम्पनीसँगको सहकार्यले विश्वविद्यालयको पाठ्यक्रम सुधार गर्न, विद्यार्थीलाई व्यावहारिक ज्ञान दिन तथा नेपालको उड्डयन क्षेत्रको विकासमा सकारात्मक योगदान पुग्ने बताए ।
समझदारीअनुसार दुवै संस्थाले अनुसन्धान, तालिम तथा शैक्षिक कार्यक्रमहरूमा सहकार्य गर्नेछन् । साथै विद्यार्थीहरूका लागि इन्टर्नसिप, प्लेसमेन्ट, कार्यशाला, सम्मेलन तथा अन्य प्राविधिक कार्यक्रम सञ्चालन गर्ने सम्भावनाबारे पनि संयुक्त रूपमा काम गरिने जनाइएको छ ।
आर्थिकन्यूज
प्रतिक्रिया