काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेड (एचपीपीएल) ले वैशाख १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ५० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (जेठ ६ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत बराबर हकप्रद शेयर जारी गरेको हो। अर्थात्, हाल कायम १ कित्ता शेयर बराबर ०.५ कित्ताका दरले नयाँ शेयर जारी गरिएको छ।
यसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर निष्काशन गर्दैछ। यसबाट कम्पनीले कुल ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँ बराबरको पूँजी संकलन गर्नेछ।
हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले चैत १० गते बुक क्लोज गरेको थियो। त्यसैले चैत ९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र यस हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।
केयर रेटिङ्स नेपालले कम्पनीलाई ‘केयर–एनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व समयमै बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ। हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंक लिमिटेडका बेंसीशहर, दोर्दी, भोटेओडार र उदिपुर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत तथा सिडिएस एन्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिन पनि सकिनेछ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ रहेको छ। हकप्रद शेयर बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी बढेर १ अर्ब ५९ करोड ८१ लाख २५ हजार ५०० रुपैयाँ पुग्नेछ।
हकप्रद शेयरबाट संकलित रकम कम्पनीले प्राइम कमर्सियल बैंकको अगुवाइमा नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक तथा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीबाट लिएको सहवित्तीयकरण कर्जा भुक्तानी गर्न प्रयोग गर्ने जनाएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया