काठमाडौं । Moon Manpower Pvt. Ltd. मा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छापा मारेर ४३७ वटा राहदानी (पासपोर्ट) र ७ लाख ९० हजार रुपैयाँ नगद बरामद गरेको छ।
श्रममन्त्री रामजी यादवका स्वकीय सचिव सरोज यादवका अनुसार मलेसिया जान लागेका एक युवाले प्रधानमन्त्री कार्यालयमा गुनासो गरेपछि शुक्रबार प्रहरीसहितको टोलीले जावलाखेलस्थित उक्त म्यानपावर कम्पनीमा छापा मारेको हो।
छापाका क्रममा बरामद गरिएको नगद रकमको कुनै रसिद फेला नपरेको सरोज यादवले जानकारी दिए। प्रधानमन्त्री कार्यालयबाट प्राप्त सूचनाको आधारमा अनुगमन तथा कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए।
मन्त्रालयले कम्पनीलाई सिल गरेर थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ। साथै वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि गुनासो वा ठगीका घटना भए मन्त्रालयमा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया