शीर्षकहरू

राहदानी अभाव टार्न विभागले पुरानै आपूर्तिकर्ताबाट ७ लाख अतिरिक्त पुस्तिका खरिद गर्ने

राहदानी अभाव टार्न विभागले पुरानै आपूर्तिकर्ताबाट ७ लाख अतिरिक्त पुस्तिका खरिद गर्ने

काठमाडौं । राहदानी अभाव चुलिंदै गएपछि राहदानी विभागले तत्काल आपूर्ति सुनिश्चित गर्न फ्रान्सेली कम्पनी आइडेमियासँग अतिरिक्त ७ लाख राहदानी पुस्तिका खरिद गर्ने निर्णय गरेको छ। विभागले पुरानै आपूर्तिकर्तासँग आपूर्ति बढाउने सम्झौता गर्दै वितरणमा सिर्जित बाधा हटाउन कदम चालेको हो।

विभागको भण्डार घटेपछि केही समयदेखि राहदानी वितरण संख्यामा ठूलो कमी आएको थियो। सामान्यतया विभाग, जिल्ला प्रशासन, इलाका प्रशासन र विदेशस्थित नियोगबाट दैनिक ५/६ हजार राहदानी वितरण हुने गरेकोमा भण्डार अभावका कारण संख्या २ हजारभन्दा कममा झरेको थियो। विभागले वितरण कटौती गरी दैनिक १ हजारमा सीमित गरेको थियो, जसलाई क्रमशः बढाउँदै लैजाने तयारी गरिएको छ।

विभागसँग हाल ८१ हजार साधारण राहदानी मौज्दात छ। यसअघि आपूर्ति भएकोमध्ये ५५ हजार बिग्रिएको राहदानी फिर्ता गराइ नयाँ पुस्तिका उपलब्ध गराइने भएकाले दुवै जोड्दा विभागसँग १ लाख ३६ हजार पुस्तिका हुनेछ। यो भण्डार करिब एक महिनाभन्दा बढीका लागि पर्याप्त हुने विभागले जनाएको छ।

यसैबीच विभागले दीर्घकालीन आपूर्तिका लागि ५ वर्षलाई पुग्ने ६४ लाख विद्युतीय राहदानी पुस्तिका खरिद प्रक्रियासमेत अघि बढाइसकेको छ। १३ मंसिर २०८१ मा आह्वान गरिएको अन्तर्राष्ट्रिय बोलपत्रलाई दुई प्याकेजमा विभाजन गरिएको थियो । ‘प्याकेज १’ (पूर्वदर्ता, तथ्यांक प्रणाली, वितरण) र ‘प्याकेज २’ (वैयक्तीकरण, गुणस्तर नियन्त्रण, प्याकिङ)। प्रतिस्पर्धाबाट दुवै प्याकेजका आपूर्तिकर्ताका रूपमा जर्मन कम्पनी म्युबाबाउर र भेरिडोज चयन भएका छन्। तर नयाँ आपूर्तिकर्ताबाट आपूर्ति फागुन दोस्रो साताबाट मात्र सुरु हुने भएकाले तत्कालको अन्तराल व्यवस्थापन चुनौती बनेको हो।

विभागका अनुसार पुराना र नयाँ आपूर्तिकर्ताबीच ‘ह्यान्डओभर’ र ‘टेकओभर’ प्रक्रियाका कारण संक्रमणकालीन अवस्था सिर्जना भयो। आइडेमियाले यसपटक नयाँ ठेक्का नपाए पनि तत्काल आपूर्तिको अभाव टार्न विभागले सोही कम्पनीसँग प्रति राहदानी १०.१३ अमेरिकी डलर को दरमा अतिरिक्त पुस्तिका खरिद गर्ने व्यवस्था मिलाएको छ।

विभागका अनुसार नयाँ खरिद सम्झौताअनुसार निकट भविष्यमै आपूर्ति सुरु हुने भएकाले राहदानी अभावका कारण देखिएको समस्या क्रमशः सामान्य बन्दै जाने अनुमान गरिएको छ।

प्रतिक्रिया