काठमाडौं । आइतबार लुम्बिनी प्रदेशका पूर्व कृषिमन्त्री तथा नेकपा एमालेका नेता विजय यादवलाई प्रहरीले पक्राउ गर्यो । बाँकेको डुडुवा गाउँपालिका-१ होलियाबाट यादवलाई पक्राउ गर्नुको कारण हो - रुपन्देहीमा दर्ता भएको बैंकिङ कसुर मुद्दा ।
पछिल्लो समय यसरी बैंकिङ कसुर मुद्दामा पक्राउ पर्नेहरूको सङ्ख्या बढ्दो छ । यस्तो मुद्दामा पक्राउ पर्नेहरूको सङ्ख्या अघिल्लो वर्षको भन्दा दोब्बर भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौंको मात्रै तथ्याङ्क हेर्ने हो भने गत आव २०७९/०८० मा मात्रै सात हजार १०१ वटा बैंकिङ कसुर मुद्दा दर्ता भएका छन्, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै दोब्बर सङ्ख्या हो । आव २०७८/०७९ मा तीन हजार ७१५ वटा यस्ता मुद्दा दर्ता भएका थिए ।
त्यस्तै, काठमाडौंको विगत चार आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने अपराधका घटनाहरू बढ्दो क्रममा रहेको देखिन्छ । आर्थिक वर्ष २०७६/०७७ मा सात हजार ५१० वटा अपराधका घटना भएका थिए । त्यस पछिको आव २०७७/०७८ मा भने घटेको थियो । सो आवमा पाँच हजार ६६२ वटा घटना दर्ता भएका थिए ।
तर, त्यस यता फेरि सो प्रकृतिका वित्तीय आपराधिक घटना बढेका छन् । आव २०७८/०७९ मा ८ हजार ९७७ वटा अपराधका घटना भएकोमा आव २०७९/०८० मा १३ हजार ४६४ वटा अपराधका घटना भएका तथ्यांकमा देखिन्छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/०८० मा फरार भएका एक हजार ९९५ जना पक्राउ परेका छन् । जसबाट १२ करोड ८७ लाख ९३ हजार रुपैयाँ जरिवाना असुल भएको छ ।
थपिँदै अपराधका नयाँ ‘ट्रेन्ड’
प्रहरीका अनुसार अपराधका नयाँ ‘ट्रेन्ड’ थपिँदै गएको पाइएको छ । क्रिप्टो करेन्सीदेखि अनलाइन जुवासम्म अपराधका नयाँ ‘ट्रेन्ड’ थपिएका हुन् । प्रहरीका अनुसार अपराधका नयाँ ‘ट्रेन्ड’ हरूमा बैंकिङ कसुर, क्रिप्टो करेन्सी, साइबर अपराधहरू, अनलाइन ठगी, हनी ट्र्याप, अनलाइन जुवा, किर्ते लगायत रहेका छन् ।
अनलाइन बैंकिङको ओटीपी मागेर ठगी गर्ने गरेको र नक्कली डाक्टर, नक्कली वकिल, नक्कली पुलिस, नक्कली कर्मचारी बनेर ठगी गर्नेहरू बढ्दै गएको प्रहरीले जनाएको छ ।
मौलाउँदै अनलाइन ठगी
अनलाइन ठगीका घटना समेत मौलाउँदै गएको पाइएको छ । प्रहरीका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा अनलाइन ठगिमा परेको भन्दै ६०२ जनाले निवेदन दर्ता गरेका थिए । जसमा सबैभन्दा बढी पार्सल तथा डलर पठाई कर बापतको रकम जम्मा गर्न लगाई ठगी गरेको पाइएको छ । यसरी ठगिमा परेको भन्दै एक सय २६ जनाले प्रहरीलाई गुहारेका थिए । जसबाट तीन करोड ४६ लाख ५० हजार ४१० रुपैयाँ रकम ठगी भएको छ । गत आवमा काठमाडौं जिल्लामा मात्र भएको घटनाको तथ्याङ्क हो, यो ।
त्यस्तै, गत आवमा वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ४४ जनाले दुई करोड २४ लाख ७८ हजार ४५१ रुपैयाँ ठगेको प्रहरीकोमा उजुरी परेको छ । यसका साथै एक सय सात जनाले बैंक खातामा अनधिकृत पहुँच पुर्याइ एक करोड ८ लाख ९७ हजार रुपैयाँ रकम चोरी गरेका छन् ।
अनलाइनमा सामान तथा सेवा खरिद बिक्री गर्दा एक सय ५ जनाले ४३ लाख ४० हजार, सामाजिक सञ्जालमा पहुँच पुर्याइ २१ जनाले सात लाख ८८ हजार, २७ जनाले चिट्ठा परेको भनी ५२ लाख ६१ हजार ठगी गरेका र २३ जनाले रकम दोब्बर हुन्छ भनी ५७ लाख १८ हजार ठगी गरेको प्रहरीले जनाएको छ ।
एक वर्षमै १८ हजार मोबाइल हराए
काठमाडौं जिल्लामै एक वर्षमा १८ हजार भन्दा बढी मोबाइल हराएका छन् । प्रहरीका अनुसार गत आव २०७०/०८० मा १८ हजार एक सय १२ वटा मोबाइल हराएका हुन् । जुन प्रहरी समक्ष खोजतलसीका लागि अनुरोध गर्दै परेको उजुरीको सङ्ख्या हो ।
प्रहरीका अनुसार हराएका मोबाइल मध्ये १० प्रतिशत मात्रै फेला परेका छन् । गत आवमा हराएका मोबाइलमध्ये एक हजार ६५० वटा मोबाइल फेला परेका छन् । अझै १६ हजार ४६२ वटा मोबाइल फेला पर्न बाँकी रहेका छन् ।
थपियो प्रहरीलाई चुनौती
आर्थिक गतिविधि सम्बन्धी अपराध प्रहरीलाई चुनौतीका रुपमा थपिएको छ । वित्तीय क्षेत्रले वृद्धि गरेको व्याज मिनाहा गर्नु पर्ने माग सहित (दुर्गा प्रसाईँ) लगायत असन्तुष्ट पक्षहरूले गर्ने विरोध प्रदर्शन रोक्न प्रहरीलाई चुनौती बनेको छ ।
त्यस्तै, वित्तीय क्षेत्रहरूको कारोबारमा मन्दी आएका कारण र राज्यकै आर्थिक गतिविधि सुस्ताएकोले त्यसबाट निम्तिएको समस्या पनि प्रहरीका लागि चुनौती बनेको छ । बैकिङ कसुर सम्बन्धी जाहेरीहरू दिनप्रतिदिन बढ्दो अवस्थामा रहेकोले यस्तो समस्यामा प्रहरीलाई चुनौती थपिएको हो । यसका साथै वित्तीय अपराध नियन्त्रणका लागि बैंक–सहकारी ठगी, हुण्डी, नक्कली नोटको कारोबार, राजस्व अपचलन तथा ठगी, वैदेशिक रोजगारीमा ठगी, सुन तस्करी, बहुमूल्य पत्थर, जडीबुटी, जनावरका अवशेषको तस्करी बढ्दा चुनौती थपिएको प्रहरीले जनाएको छ ।
आर्थिकन्यूज
प्रतिक्रिया