काठमाडौं। नेपाली विज्ञापन तथा सृजनशील क्षेत्रका अग्रणी व्यक्तित्व रञ्जीत आचार्य कान्स कर्पोरेट मिडिया एन्ड टिभी अवार्ड २०२६ को निर्णायक मण्डल (जुरी) सदस्यमा मनोनीत भएका छन्।
यससँगै विश्वकै प्रतिष्ठित कर्पोरेट फिल्म तथा दृश्य–कथन (भिजुअल स्टोरीटेलिङ) अवार्डको निर्णायक मण्डलमा पुग्ने पहिलो नेपाली सृजनशील व्यक्तित्व बनेका छन्।
प्रिज्मा एड्भर्टाइजिङका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका आचार्यको मनोनयनलाई नेपाली विज्ञापन तथा सृजनात्मक उद्योगका लागि ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।
सन् २०१० मा स्थापना भएको कान्स कर्पोरेट मिडिया एन्ड टिभी अवार्ड अष्ट्रियाको भियनास्थित संस्था भए पनि यसको वार्षिक समारोह फ्रान्सको कान्समा आयोजना हुने गर्छ। कर्पोरेट फिल्म, वृत्तचित्र, अनलाइन मिडिया तथा ब्रान्डेड कन्टेन्ट क्षेत्रमा यसलाई विश्वकै प्रतिष्ठित अवार्डमध्ये एक मानिन्छ।
आगामी १७औं संस्करणमा ६३ विधामा प्रतिस्पर्धा हुनेछ। विश्वभरका फिल्म निर्माता, विज्ञापन एजेन्सी, प्रसारण संस्था, कम्पनी तथा विद्यार्थीले आफ्ना सिर्जना प्रस्तुत गर्नेछन्। यसअघि अवार्डको निर्णायक मण्डलमा ओस्कार र एमी अवार्ड विजेता व्यक्तित्वहरू समेत सहभागी भइसकेका छन्।
विज्ञापन, ब्रान्ड रणनीति, फिल्म निर्माण तथा जनसम्पर्क क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव भएका आचार्य नेपाली विज्ञापन उद्योगका प्रभावशाली व्यक्तित्वमध्ये एक मानिन्छन्। उनको नेतृत्वमा प्रिज्मा एड्भर्टाइजिङले विज्ञापन क्षेत्रको प्रतिष्ठित ‘कृति अवार्ड’ मा लगातार चार पटक ‘बेस्ट एजेन्सी अफ द इयर’ उपाधि प्राप्त गरेको छ।
कोका–कोलाको ‘मन खोलौं कोकसँग’, एनसेलको ‘मेरो मोबाइल’ बाट ‘एनसेल’ पुनर्ब्रान्डिङ अभियान तथा ‘मुटु चाहिन्छ मुटु’, ‘मुड चेन्ज तुरुन्तै’, ‘चिसो भनेकै कोका–कोला’ जस्ता चर्चित नाराहरू आचार्यकै नेतृत्वमा विकसित अभियानहरू हुन्।
आचार्यले अमेरिकाको जोन्सन एन्ड जोन्सनबाट ‘बेल रिङ्गर अवार्ड’, भारतको एबी अवार्ड तथा हालै सिंगापुरमा ‘ब्रान्डलरिएट बेस्ट ब्रान्ड्स अवार्ड २०२५’ समेत प्राप्त गरिसकेका छन्।
मनोनीयनबारे प्रतिक्रिया दिँदै आचार्यले सृजनशीलताको कुनै सीमा नहुने उल्लेख गर्दै यो उपलब्धि आफू मात्र नभई अन्तर्राष्ट्रिय मञ्चमा पुग्ने सपना देख्ने सबै नेपाली सृजनशील व्यक्तिहरूको भएको बताएका छन्।
उनको मनोनयनले पहिलो पटक नेपाली सृजनशील क्षेत्रलाई विश्वस्तरीय दृश्य–मिडिया मूल्यांकनको उच्च तहमा प्रतिनिधित्व गराएको मानिएको छ। निर्णायक सदस्यका रूपमा उनले विश्वभरबाट प्राप्त कर्पोरेट फिल्म, वृत्तचित्र तथा ब्रान्डेड कन्टेन्टहरूको मूल्यांकन गर्नेछन्।
तीन दशकभन्दा बढी समयदेखि सक्रिय प्रिज्मा एड्भर्टाइजिङ नेपालकै सबैभन्दा धेरै अन्तर्राष्ट्रिय तथा राष्ट्रिय पुरस्कार प्राप्त स्वतन्त्र विज्ञापन एजेन्सीमध्ये एक हो। कम्पनीले ब्रान्ड रणनीति, क्रिएटिभ निर्देशन, फिल्म तथा कन्टेन्ट निर्माण, डिजिटल सञ्चार र जनसम्पर्क सेवा प्रदान गर्दै आएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया