काठमाडौँ । नेपाल फिनटेक अलायन्सद्वारा आयोजित नेपाल फिनटेक एक्स्पो २०२६ मा फिनटेक कम्पनी आइमार्क (iMark) ले साउन्ड बक्ससहितको अत्याधुनिक QR तथा कार्ड भुक्तानी उपकरण fewaMini POS औपचारिक रूपमा सार्वजनिक गरेको छ।
एक्स्पोमा प्रस्तुत गरिएको उक्त नयाँ समाधानले बैंक, फिनटेक कम्पनी तथा व्यवसायिक क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय ध्यान आकर्षित गरेको आयोजकले जनाएका छन्।
आइमार्कले सार्वजनिक गरेको fewaMini POS उपकरण साना खुद्रा व्यापारीदेखि ठूला व्यवसायिक संस्थासम्म लक्षित गरी डिजाइन गरिएको हो। ट्याक्सी, अस्पताल, मार्ट, विद्यालय, डिपार्टमेन्ट स्टोरलगायत विभिन्न क्षेत्रमा सहज रूपमा प्रयोग गर्न सकिने यस उपकरणले डिजिटल भुक्तानीलाई सरल र प्रभावकारी बनाउने कम्पनीको दाबी छ।
उपकरणले स्टाटिक तथा डायनामिक QR भुक्तानीका साथै Visa, MasterCard, NepalPay लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डेबिट तथा क्रेडिट कार्डहरू स्वीकार गर्दछ। साथै, अन्य विभिन्न भुक्तानी स्किमहरूलाई पनि समर्थन गर्दै Contact र Contactless दुवै माध्यमबाट भुक्तानी गर्न सकिने सुविधा उपलब्ध छ।
भुक्तानी सफल भएलगत्तै आवाजमार्फत जानकारी दिने साउन्ड बक्स सुविधाले कारोबारलाई थप पारदर्शी, सुरक्षित र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ। यसले विशेषगरी व्यस्त व्यवसायिक स्थानमा भुक्तानी पुष्टि सहज बनाउने बताइएको छ।
आइमार्कका अनुसार fewaMini POS उपकरण NCHL तथा अन्य बैंकहरूको SmartVista Switch, Compass Plus Switch र S2M Switch मा आधारित बैंकिङ प्रणालीहरूसँग पूर्ण रूपमा एकीकृत छ। उपकरण Remote Manageable भएकाले प्रणालीको निगरानी, व्यवस्थापन तथा सफ्टवेयर अपडेट सहज रूपमा गर्न सकिने कम्पनीले जनाएको छ।
त्यस्तै, आइमार्कले उपलब्ध गराएको मर्चेन्ट ड्यासबोर्डमार्फत व्यापारीहरूले आफ्ना कारोबार, सेटलमेन्ट र रिपोर्टहरू real time मा हेर्न सक्नेछन्। कुनै प्राविधिक समस्या उत्पन्न भएमा २४/७ ग्राहक तथा प्राविधिक सहयोग सेवा उपलब्ध रहने पनि कम्पनीको भनाइ छ।
उपकरण सार्वजनिक गर्ने कार्यक्रममा आइमार्कका Chief Operating Officer (COO) सुयश चन्दले fewaMini POS को लाइभ डेमो प्रस्तुत गर्दै यसको प्रयोग विधि, विभिन्न प्रयोगका सम्भावना (use cases) तथा प्रविधिक विशेषताबारे जानकारी दिएका थिए। उनले एउटै उपकरणमार्फत QR, कार्ड र साउन्ड बक्स प्रयोग गरी कसरी सुरक्षित र द्रुत भुक्तानी सम्भव हुन्छ भन्ने कुरा स्पष्ट पारे।
उनले डिजिटल भुक्तानी विस्तारमा यस्ता समाधानको आवश्यकता, स्केलेबिलिटी, सुरक्षा संरचना तथा नेपालको डिजिटल बैंकिङ इकोसिस्टमसँग यसको सामञ्जस्यबारे पनि प्रकाश पारे।
त्यसैगरी, आइमार्कका Chief Global Sales Officer सागर पोखरेलले fewaMini POS लाई साना तथा ठूला सबै व्यापारीलाई डिजिटल भुक्तानी प्रणालीमा जोड्ने “क्रान्तिकारी समाधान” का रूपमा व्याख्या गरे। उनले नेपालको डिजिटल भुक्तानी इकोसिस्टमलाई थप सुदृढ बनाउने दीर्घकालीन लक्ष्यसहित आइमार्क नवप्रवर्तनमा प्रतिबद्ध रहेको बताए।
एक्स्पो अवधिभर आइमार्कले साउन्ड बक्स उपकरणसँगै विभिन्न पुस्ताका POS टर्मिनलहरू, ATM कार्डहरू तथा आफ्नै इन–हाउस बैंकिङ समाधानहरू पनि प्रदर्शन गरेको थियो। यसले आइमार्कको प्रविधिक क्षमता, नवप्रवर्तनशील सोच तथा नेपालसहित अन्तर्राष्ट्रिय बजारलाई लक्षित फिनटेक समाधान प्रदान गर्ने क्षमतालाई उजागर गरेको सहभागीहरूको भनाइ छ।
आर्थिकन्यूज
प्रतिक्रिया