काठमाडौं । निजी दूरसञ्चार व्यवसाय कम्पनी एनसेलको शेयर खरिदबिक्री भएको १९ दिनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख खोलेका छन् । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा प्रधानमन्त्री दाहालले एनसेलको शेयर खरिदबिक्री स्वाभाविक नभएको बताएका हुन् ।
‘जलवायु सम्मेलनमा भाग लिन दुबईमा रहँदा एनसेलको शेयर खरिदबिक्री भएको सुनें, स्वदेश फर्कनासाथ यसबारे जाँचबुझ गर्न विभागीय मन्त्रालय र नियामक निकायलाई निर्देशन दिएँ,’ संसदीय समितिमा प्रधानमन्त्री दाहालले भने, ‘शेयर किनबेच स्वाभाविक देखिएन, त्यसैले कहीँ न कहीँ गलत छ भन्ने लागेरै छानबिन समिति बनाइएको छ ।’
एनसेलको खरिदबिक्री सरकारलाई सहज नलागेकै कारण आफूले शुरुमै निर्देशन जारी गरेको दाहालले दाबी गरे । उनले थपे, ‘खरिदबिक्री सहज र स्वाभाविक छैन ।’
मलेसियाली कम्पनी आजियाटा बहार्डले एनसेलमा रहेको ८० प्रतिशत शेयर शंकास्पद ढंगले बेचेर बाहिरिएपछि उच्च तहको मिलेमतोबिना यसो गर्न सम्भव नहुने भन्दै प्रधानमन्त्री दाहाल शंकाको घेरामा छन् । तर, दाहालले सार्वजनिक दबाबमा मंसिर २१ गते मन्त्रिपरिषद् बैठकमार्फत छानबिन टोली गठन गर्ने बाहेक आम चासो रहेको यो मामिलामा खुलेर बोलिरहेका छैनन् ।
आजियाटाले कर छलीको स्वर्ग मानिने क्यारेबियन टापु सेन्ट किट्स एण्ड नेभिसमा दर्ता भएको रेनोल्ड होल्डिङ्समा रहेको आफ्नो शेयर गैरआवासीय नेपाली सतीशलाल आचार्यको स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेको थियो । एनसेलको शेयर अकुत सम्पत्ति लुकाउने स्वर्ग अर्थात् ‘ट्याक्स हेभन’ मुलुकमा भएको यसका लगानीकर्ताले स्वीकार गरिसकेका छन् ।
आचार्यले सेन्ट किट्स एण्ड नेभिसमा आजियाटाको शेयर रहेको कम्पनी रेनोल्ड होल्डिङ्सको शेयर किन्ने रकम कसरी त्यहाँ पुर्यािए ? सो रकमको स्रोत के हो ? केही महिना अघिमात्रै खोलिएको भनिएको स्पेक्ट्रलाइट यूके लिमिटेडले यत्ति चाँडै कसरी डेढ खर्ब रुपैयाँभन्दा बढी मूल्य अनुमान गरिएको एनसेलको ८० प्रतिशत शेयर खरिदबिक्रीमा संलग्न हुन सक्यो ? यो प्रश्नको जवाफ खोज्दै जाँदा मुलुकको कार्यकारी तहकै संलग्नता पुष्टि हुनसक्ने विश्लेषण भइरहेको छ ।
अजियाटा कम्पनी वि.सं. २०७२ चैत २९ गते रेनोल्ड्स होल्डिङमा रहेको युरोपेली कम्पनी टेलियाको ८० प्रतिशत शेयर १ खर्ब ४३ अर्ब रुपैयाँमा खरिद गरी एनसेलमा प्रवेश गरेको थियो । त्यतिखेर नेपालको दूरसञ्चार प्राधिकरण र कर नियामकलाई जानकारी नै नदिई शेयर किनबेच गरी ५७ अर्ब ९० करोड पूँजीगत लाभकर छली गरेको थाहा भएको थियो ।
नेपालको अदालतले लाभकर बापतको रकम तिर्नुपर्ने फैसला गरेपछि आजियाटा अन्तरराष्ट्रिय मध्यस्थकर्ताकहाँ गएको थियो । मध्यस्थकर्ताले समेत लाभकर तिर्नुपर्ने फैसला गरेपछि आजियाटाले कर तिरेको थियो ।
पछिल्लोपटक आजियाटाले आफूसँग रहेको सबै शेयर बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेलाई बेचेको हो । यसरी विदेशी कम्पनीलाई शेयर बेच्दा नेपालको कानूनी प्रकृया पालना गरेरनगरेको र कर छली भए/नभएकोबारे नियमनकारी निकायका अधिकारीहरू झण्डै एक सातासम्म मौनप्रायः देखिएका थिए ।
तर, नागरिक तहबाट चर्को खबरदारी भएपछि प्रधानमन्त्री कार्यालयदेखि दूरसञ्चातर नियामक र संसदीय समितिहरू यतिखेर यस मामिलामा छानबिन गर्न सक्रिय भएजस्तो देखिएका छन् ।
आजियाटाले एनसेलको आफूसँग रहेको ८० प्रतिशत शेयर हिस्सा ५० मिलियन डलर (६ अर्ब ६५ करोड रुपैयाँ) मा बेचेको भन्दै प्रचार गरे पनि वास्तवमा ५०० मिलियन डलर ९६६ अर्ब ५० करोड रुपैयाँ० बराबर लेनदेन भएको स्रोतहरूले बताएका छन् ।
आर्थिकन्यूज
प्रतिक्रिया