काठमाडौं । काठमाडौं सडक डिभिजन कार्यालयले चार वटा पुलको निर्माण कार्य सम्पन्न गरेको छ । कार्यालयले चालु आर्थिकमा अर्को चार वटा पुल निर्माण कार्य सम्पन्न गर्ने योजना पनि बनाएको छ । सो योजनाअनुसार उक्त पुल निर्माण निर्माण कार्य दू्रत गतिमा अघि बढेको कार्यालयले जानकारी दिएको छ ।
कार्यालयले काठमाडौं उपत्यकाभित्र हाल २७ वटा पुल निर्माण गर्ने जिम्मा पाएको हो । यी पुुलमध्ये १४ वटा पुलको डिजाइन भइरहेको छ भने ५ वटा पुल विभिन्न कारणले निर्माण गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
कार्यालयले चालुु आर्थिक वर्षमा निर्माण सम्पन्न भएका, निर्माण हुँदै गरेका तथा हाललाई विभिन्न कारण वश पुल निर्माण कार्य स्थगन गरेका पुलको निर्माण लागत ५४ करोड ९७ लाख ५ हजार रुपैयाँमा रहेको छ । डिजाइन हुँदै गरेका १४ पुलको भने निर्माण लागत तय भइनसकेको डिभिजन कार्यालयका सूचना अधिकारी ईन्जिनियर सजना अधिकारीले बताइन् ।
चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुने ४ पुल
डिभिजन कार्यालयले चालु आर्थिक वर्षमा ४ वटा पुलको निर्माण कार्य सम्पन्न गर्ने बताएको छ । बागमती, मनमता,विष्णुमती र किर्तीपुर–तिनथान बल्खु खोला पुल निर्माण कार्य भने यसै आवका सम्पन्न हुनेछ ।
२ करोड ९१ लाख ९६ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको मनमता खोलाको लम्बाइ २१ मिटर रहेको छ । २०७५ मा खरिद सम्झौता भएको उक्त पुल निर्माण यसै आवमा सम्पन्न गर्ने योजना बनाइएको हो उक्त पुलको लागि हालसम्म २५ लाख रुपैयाँ भुक्तानी गरिएको छ ।
२१ करोड ७२ लाख २३ हजार रुपैयाँमा निर्माण हुन लागेको बागमती नदीको सेती देवी पुलको लम्बाई ९५.३ मिटर रहेको छ । उक्त पुल चालु आर्थिक वर्षमा सम्पन्न हुने भएको छ ।
३ करोड ३० लाख २७ हजार ६९ रुपैयाँमा सम्झौतामा ठेक्का सम्झौता भएको विष्णुमती नदी पुल निर्माण कार्य २०७४ मै सम्पन्न गरिसक्नु पर्ने थियो । विविध कारणले निर्धारित समयमा सम्पन्न हुन नसकेको उक्त पुल निर्माण कार्य यहि आवमा सक्ने योजना कार्यालयले बनाएको छ । १५ मिटर लम्बाइ रहेको उक्त पुल २०७२ सालमा निर्माण शुरु गरिएको हो ।
३ करोड ४४ लाख ७१ हजार रुपैयाँमा निर्माण गर्ने तयारी गरिएको चन्द्रागिरी न.पा १५ किर्तीपुर–तिनथान बल्खु खोला पुल निर्माण २०७४ कार्तिक ७ गते शुरु भएको हो । सो पुल निर्माण कार्य २०७५असोज ७ गते नै सक्नुपर्ने थियो ।
५ वटा पुल निमार्ण नहुने
डिभिजन कार्यालयले निर्माण गर्ने जिम्मा पाएको पुलमध्ये ५ वटा पुलको भने निर्माण कार्य तत्काल नहुने देखिएको छ । अदालतमा परेको मुद्दा, जग्गा प्राप्तीमा भएको कठिनाइ र अन्य विविध कारणले यी पुलहरुको निर्माण कार्य रोकिएको हो । अदालतको निर्णय पर्खिरहेको अधिकारीले बताइन् ।
धोबीखोला पुल
२०७२ सालबाट निर्माण कार्य सुरु गरी २०७३ सालमा सम्पन्न गरिसक्नु पर्ने धोबीखोला पुलको निर्माण लागत २ करोड ७४ लाख २२ हजार रूपैयाँ रहेको छ । हालसम्म पुल निर्माणको लागि ४८ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । १२ मिटर लम्बाइ रहेको उक्त पुल निर्माण नगर्न अर्थात अदालतद्वारा रोक्का आदेश जारी गरिएको छ । पुल निर्माणको लागि ठेक्का सम्झौता भइसकेको र हालसम्म ४८ लाख भुक्तानी गरिसकेको डिभिजन कार्यालयले जानकारी दिएको छ ।
बुनपा पुल
२०७५मा निर्माण कार्य सुरु गरी २०७६ मा सम्पन्न गरिसक्नु पर्ने बुनपा पुलको लम्बाइ १० मिटर रहेको छ । हाल आयोजनाका लागि पेश्की भुक्तानी भएको छैन । सो कारण निमार्ण कार्य रोकिएको हो । उक्त पुल निर्माणको लागि २ करोड ३८ लाख ३० हजारमा ठेक्का सम्झौता भएको छ भने १८ लाख भुक्तानी डिभिजन कार्यालयले जनाएको छ ।
४ करोड ३९ लाख ४८ हजार रुपैयाँमा निर्माण सम्पन्न गर्ने योजना सहित निर्माण कार्य अघि बढाइएको बल्खु खोलापुलको २५ मिटर लम्बाइ छ । २०७४ मा खरिद सम्झौता गरिएको उक्त पुलको काम २०७५ मा सम्पन्न गरिसक्नु पर्ने थियो तर, जग्गाको विवादको कारण निर्माण कार्य अगाडि बढ्न सकेको छैन । हालसम्म १ करोड ४१ लाख ५६ हजार रुपैया भुक्तानी गरिसकेको छ भने हाल २० प्रतिशतसम्म भौतिक प्रगति भएको छ ।
धोबी खोला पुल, अनामनगर
अनामनगरमा रहेको धोबीखोला पुलको भने पुनः डिजाइन गर्नुपर्ने भएको छ । उक्त पुल निर्माणको लागि ३ करोड २२ लाख ८६ हजार रुपैयाँमा दोस्रो पटक सम्झौता भएको डिभिजन कार्यालयले जनाएको छ ।
महादेव खोला पुल (मितेरी मार्ग कागेश्वरी मनहरा)
महादेव खोला पुल मितेरी मार्ग कागेश्वरी मनहरामा रहेको उक्त पुल जग्गा विवादको कारणले निर्माण कार्य अघि बढ्न नसकेको हो । उक्त पुलको लागि ३ करोड ७६ लाख ६० हजार रुपैँयामा सम्झौता भएको छ । विभिन्न कारणले निर्माण हुन नसकेका ५ पुलहरुको अदालतमा मुदा परेको हुनाले अदालतको निर्णय आए पछि मात्र काम सुरु हुने अधिकारीले बताइन ।
हाल डिजाइन भैरहेका १४ पुल
सडक विभागले काठमाडौं उपत्यकामा पर्ने पुल मध्ये १४ वटा पुलको डिजाइन गरिरहेको छ । हाल डिजाइन भैरहेको १४ पुल मध्ये एउटा पुल भक्तपुर डिभिजन कार्यालयले निर्माण गर्ने र १३ वटा पुल काठमाडौं डिभिजन कार्यालयले निर्माण गर्ने भएको छ ।
यी पुलमध्ये धोबीखोला पुल, संगमचोक नयाँबानेश्वर, कपन महांकाल जोड्ने निखिलेश्वर पुल, बुनपा १ र ४ जोड्ने पुल, बलम्बु– दहचोक जोड्ने बल्खु खोला पुल, का.म.पा. वडा नं १५ र १९ जोड्ने विष्णुमती खोला पुल, काफल गल्ली र हानागुलु कुलेश्वर जोड्ने बल्खु खोला पुल रहेका छन् ।
शेषमती पुल तार्केश्वर न.पा ४ र ८ जोड्ने पुल, फिस्टार सिंहलेक थोपल खोला मोटरेबल पुल, गोपिकृष्णनगर शिवमन्दिर चोकबाट रारा चोक सुकेधारा जोड्ने पुलको पनि डिजाइन भइरहेको छ ।
विष्णुमती नदी पुल बुढानिलकण्ठ ५ काठमाडौं इस्कोन पुल, महादेब खोला पुल फेदीबजार ढुङ्गेओडार सडक पुल, ठूलो खोला कल्भर्ट निर्माण सागंलखोला पुल, विष्णुमती एक्स्टेन्सन सडक, टेकु दक्षिण कालीमाटी पुलको डिजाइनको काम भैरहेको छ ।
उक्त पुलको डिजाइनको काम सडक डिभिजन कार्यालयले गर्ने र डिजाइनको काम सकिसके पछि डिभिजन कार्यालयलाई पठाउने र निर्माण कार्य सुरु गर्ने अधिकारीले बताइन ।
हालसम्म सम्पन्न भएका चार पुल
डिभिजन कार्यालयले हेर्ने २७ पुल मध्ये ४ वटा ेपुलको निर्माण कार्य सम्पन्न भएको छ । सम्पन्न हुने पुल मध्ये मनहरा खोलामा बेलीबृज जडान गर्नेकाम, बिष्णुमती खोला पुल टोखा, बाग्मती नदी पुल बौद्ध ताम्रगंगा, घट्टेखोला पुल सकरापुर सम्पन्न भएको छ ।
मनहरा खोलामा बेलीबृज जडान गर्नेको लागि १ करोड ३० लाख ३६ हजार ९३ रुपैयाँ लागेको डिभिजन कार्यालयले जनाएको छ । बिष्णुमती खोला पुल टोखाको लागि २ करोड ७८ लाख ९० हजार रुपैयाँ लागेको छ । त्यसैगरी घट्टेखोला पुल शंकरापुरको लागि २ करोड ३९ लाख २४ हजार रुपैयाँ लागेको छ भने बागमती नदी पुल बौद्ध ताम्रगंगाको सम्पन्न भैसक्दा पनि लागत खुल्न आएको छैन ।
प्रजिता पाैडेल
प्रतिक्रिया