शीर्षकहरू

निमार्ण गर्न लागेका ४५ नयाँ शहरमा बजेट र जनशक्ति अभाव

निमार्ण गर्न लागेका ४५ नयाँ शहरमा बजेट र जनशक्ति अभाव

काठमाडौं । गाउँ गाउँमा सेवा सुविधाको पहुच पुर्याउने हिसाबले देश भरी निमार्ण गर्न लागिएको नयाँ शहर र स्मार्ट सिटीको लागि बजेट र जनशक्तिको अभाव देखिएको छ । सरकारले विभिन्न ४५ स्थानमा नयाँ सहरको धारणलाई अगाडि सारेको छ । तर, आवश्यक अनुसार बजेट र जनशक्ति नहुदा उक्त काम सोचेको जस्तो अगाडि बढ्न सकेको छैन । 

नेपाल सरकारले अघि सारेको नयाँ शहर तथा स्मार्ट सिटीमा १ वटा नयाँ शहर निमार्ण गर्नको लागि २ अर्ब लागत लाग्ने अनुमान गरेको छ । तर शहरी विकास तथा भवन विभागका निर्देशक दिगम्बर ठाकुर भन्छन ‘हाम्रो अध्ययन अनुसार एउटा राम्रो नयाँ सहर निमार्ण गर्नको लागि २० अर्ब लाग्छ’ । सरकारले एक वर्षमा २ वटा शहर निमार्ण गर्न दिए पनि हुन्छ तर आवश्यक बजेट र जनशक्ति उपलब्ध गराउनु पर्ने पर्छ। ’ 

नयाँ सहरको लागि परामर्शदाता नियुक्त गरेर काम गर्नुपर्ने भएको छ । गत वर्षमात्र परामर्श नियुक्र गरेको हुनाले बजेट खर्च नभएको ठाकुरले बताए । उनले भने ‘ देशै भरी रहेका आयोजनामा पुगेर काम गर्न पर्ने भएकाले काम भइरहे पनि कामले गति भने लिन सकेको छैन ।  गत वर्ष पनि काम भयो यो वर्ष पनि यहि कामलाई निरन्तरता दिइरहेका छौं । यहि कामको अब परामर्श सेवाको भुक्तानी दिनको लागि ड्राफ रिपोट र फाइनल रिर्पोट आएपछि त्यसलाई मुल्याङकन गरेपछि मात्र त्यसको भुक्तानी हुन्छ  । उक्त काम प्रक्रियामा रहेकोले अब आउने मंगलबारदेखि त्यस कामको विस्तृत विवरण प्रस्तुति हुन्छ उनीहरूले गरेको विवरणपछि मात्र भुक्तानी गर्ने भएकोले चालु आर्थिक वर्षमा खासै रकम खर्च भएको छैन’ । 

हुलाकी राजमार्ग 
हुलाकी राजमार्गमा पर्ने १५ वटा नयाँ शहर र १३ वटा स्मार्ट सिटिको मास्टरप्लान यो वर्ष सम्पन्न हुने ठाकुरले बताए । मास्टरप्लान तयार भैसकेपछि त्यसलाई कार्यक्रम बनाएर समिति मार्फत कार्यक्रमहरू पेस गर्ने र त्यसपछि कुन योजनालाई कति बजेट दिएर कार्यक्रम बनाउछन र उक्त योजना राष्ट्रिय योजना आयोग हुदैँ अर्थमन्त्रालय आउने र अर्थमन्लालयबाट बजेट आएपछि काम अगाडि बढ्ने उनले बताए । 

मध्यपहाडी लोकमार्गमा १२ नयाँ शहर 
निर्माणाधीन मध्यपहाडी लोकमार्गको छेउछाउमा विकास गर्न लागिएका १२ वटा शहरको भौतिक पूर्वाधार निर्माणको कामलाई शहरी विकास आयोजनाले अगाडि बढाइरहेको उनले जानकारी दिए । 
सेवा, सुविधा र अवसरको खोजीमा हिमाल र पहाडबाट कोही पनि शहर वा तराई पस्न नपरोस् भन्ने उद्देश्यका साथ सरकारले आर्थिक वर्ष २०६७÷६८ को नीति तथा कार्यक्रममा मध्यपहाडी लोकमार्गको छेउछाउमा १२ वटा नयाँ शहर विकास गर्ने नीति ल्याएको थियो । 

सरकारले मध्यपहाडी लोकमार्ग अन्तर्गत पाँचथरको फिदिम, तेह्रथुमको बसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी–गल्छी, तनहुँको डुम्रे भन्सार, बागलुङको बुर्तिवाङ, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, अछामको साँफेबगर र बैतडीको पाटन र पछि थप भएका सुर्खेत भेरी गंगा र प्युठानको भिंग्री थप गरी १२ वटा स्थानमा आधुनिक सुविधासम्पन्न शहर निर्माण गर्न लागेको हो ।

त्यस्तै झापाको गौरीगञ्ज, मोरङको रंगेली, महोत्तरीको मनरा, सर्लाहीको ब्रम्हपुरी, रौतहटको मौलापुर, बाराको महागढीमाई, नवलपरासीको बर्दघाट, बर्दियाको राजापुर, कैलालीको भजनी र कञ्चनपुरको बेलैरीमा नयाँ शहर निर्माण गरिने भएको छ । 

प्रत्येक शहरमा बसपार्क, मनोरञ्जन पार्क, तरकारी बजार, सडक, खानेपानी, खेलकुद मैदान, आधुनिक बस्ती, विद्यालय, कलेज, अस्पताल, तरकारी बजार, औद्योगिक क्षेत्रलगायत पूर्वाधारको विकास गरिने योजना रहेको छ ।

मध्य पहाडी लोकमार्गमा पर्ने फिदिममा काम सुरू भैसकेको उनले बताए । उक्त ठाउँमा सडक पिच गर्ने, रंगशाला बनाउने, सभाहल बनाउने पार्क बनाउने काम भैरहेको फिदिङ सहर निमार्णमा प्रमुखले बताए । 

शहरी विकास तथा भवन विभागले देशका विभिन्न १३ स्थानमा स्मार्ट सिटी निर्माण गर्ने भएको छ । त्यसमध्ये लुम्बिनी, निजगढ, पालुङटारको मास्टरप्लान बनिसकेको र अन्य ठाउँको मास्टर प्लान बनाउन बाँकी रहेको शहरी विभागका आयोजनाले जनाएको छ । 

देशभर ४५ वटा नयाँ शहरहरु निर्माण गरिने गरी काम अघि बढिरहेको विभागले जनाएको छ । सरकारले २० वर्ष्भित्र ४५ स्थानमा नयाँ शहर निर्माण गरी विकसित शहर बनाउने योजना बनाएको छ । स्मार्ट सिटीमा आवश्यक परेको स्थानमा ल्यान्डपुलिङ हुने उनले बताए । स्मार्ट सिटीको निर्माण गर्ने स्थानमा एक लाख जनसंख्या र पूर्वाधारलगायत सबै कुराको व्यवस्था हुने शहरी विकास तथा भवन विभागले जनाएको छ ।


 

प्रतिक्रिया