शीर्षकहरू

मुआब्जा नपाउने ४ सयजनाको निवेदन प्राधिकरणमा

मुआब्जा नपाउने ४ सयजनाको निवेदन प्राधिकरणमा

 काठमाडौं । राजधानीको सडक बिस्तारका क्रममा सडक किनाराका भत्काइएका घर तथा संरचनाको क्षतिपूर्ति नपाएको भन्दै उपत्यका विकास प्राधिकरण ४ सय जनाले मुआब्जा नपाएको गुनासो गर्दै निवेदन पेस गरेका छन् । 

उपत्यका विकास प्राधिकरणले विगत २०६९/७० सालदेखि यता विस्तारका क्रममा भत्किएका घर तथा संरचनाको क्षतिपूति बाड्दै आएको छ । प्राधिकरणले विस्तारका क्रममा भत्किएको घरको मुआब्जा बापत  हालसम्म ७८ करोड ७३ लाख रूपैँया वितरण गरेको उपत्यका विकास प्राधिकरणका लेखा शाखा प्रमुख तोरणबहादुर कार्कीले आर्थिक न्युजडटकमलाई बताए । 

प्राधिकरणमा निवेदन हालेका मध्ये अझै ६८ करोड ७७ लाख मुआब्जा वितरण गर्न बाँकी रहेको कार्कीले आर्थिक न्युजलाई  जानकारी दिए । आफ्नो घर तथा संरचना भत्काएको वर्षौ बितिसक्दा पनि मुआब्जा नपाएको भन्दै उनीहरुले उपत्यका विकास प्राधिकरणमा धाउँदै आएका छन् । सरकारले चालू आर्थिक वर्षमा मुआब्जाका निम्ति पैसा नपठाएकाले दाबीअनुसारको भुक्तानी गर्न नसकिएको उपत्यका विकास प्राधिकरणले जनाएको छ । 

पीडितहरुको निवेदन बढ्दै गएपछि  प्राधिकरणले मुआब्जालगायत अन्य कामका लागि सरकारसँग एक अर्ब रुपैयाँ माग गरेको प्राधिकरणका इन्जिनियर भागवत खोखालीले बताए । मुआब्जाको लागि आंशिक रूपमा घर भत्किएकाहरुले जिल्ला प्रशासन कार्यालयमार्फत घरको मूल्यांका गरेर आएपछि उपत्यका विकास प्राधिकरणले त्यसको आधारमा क्षतिपूर्ति दिने प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले नयाँ मार्बल गरेको घरलाई एक स्क्वायर फिटबराबर २८ सय रुपैयाँसम्म दिने गरेको र सामान्य घरलाई २४ सय रुपैयाँ दिने गरेको छ । निकै पुरानो घरलाई घरको उमेर अनुसार काटेर पैसा दिने गरेकोछ । चार सय पीडितले अझै मुआब्जा नपाएको भन्दै उपत्यका विकास प्राधिकरणमा धाउँदै आएका छन् भने कतिपयले बनिसकेको चेक पनि लिन नआएको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका अनुसार बनिसकेको चेक लिन नआउनेमा चाबहिल–साँखु तथा त्रिपुरेश्वर–थानकोट सडक खण्डका हकवाला रहेका छन् । उपत्यका विकास प्राधिकरणको तथ्यांकअनुसार २०६९ सालदेखि यता १ हजार २ सय ५३ जनाले घर भत्किएवापतको मुआब्जा बुझेका छन् । 

जसमध्ये २०६९/७० मा ४३ जनाले एक करोड ९६ लाख ४ सय ९३ रूपैँया मुआब्जा रकम लगेको विभागले जनाएको छ । २०७०÷७१ मा ५१२ जनाले २३ करोड ३५ लाख ४७ हजार ९ सय २५ रूपैँया रकम बाढेको छ । भने २०७१/०७२ मा ३६ जनालाई २ करोड ८५ लाख ३० हजार ३ सय ८१ रूपैँया वितरण गरेको छ । त्यसै, २०७२/०७३ मा ५५ जनालाई २ करोड ७२ लाख ४५ हजार १ सय ६९ रूपैँया  मुआब्जाको लागि वितरण गरीएको छ । 

२०७३/०७४ मा  विभिन्न स्थान गरी ४३८ जनालाई मुआब्जा वितरण गरिएको छ त्यसमध्ये बानेश्वर, थापाथली, बुढानिलकण्ठ जस्ता विभिन्न ठाउँमा ४५ जनालाई २ करोड ४२ लाख ८९ हजार ९ सय ६८ रूपैँया रकम बाडिएको छ । त्यसैगरि,  त्रिपुरेश्वर नागढुङगा सडकमा ७३ जनालाई ४ करोड ३५ लाख १६ हजार ७५ रूपैँया वितरण गरीएको छ ।

त्यस्तै, चाबहिल साँखु सडक विस्तार गर्दा घरटहरा भत्किएकाहरूले ३२ करोड २१ लाख १६ हजार ५ सय ४५ रूपैँया वितरण गरीएको छ ।  २०७४/०७५ मा ४१ जनालाई मुआब्जा वितरण गरीएको छ त्यसमध्ये चाबहिल साँखु सडकमा २९ जनालाई ३ करोड ५ लाख  ४० हजार ८ सय ६० रूपैँया वितरण गरीएको छ भने त्रिपुरेश्वर कलंकी सडकमा १२ जनालाई १ करोड ५८ लाख २५ हजार ६ सय ३४ रूपैँया वितरण गरिएको विभागले जनाएको छ । २०७५/०७६ मा १३० जनाले मुआब्जा लगेका छन् । 

मुआब्जा पाएको १३० जना मध्ये चाबहिल साखुँमा जग्गा विस्तारमा १४ जनाले ३ करोड १४ लाख २५ हजार रूपैँया वितरण गरीएको छ भने घरको मुआब्जा बापत ७१ जनाले ७ करोड ७३ लाख ४ सय ९२ रूपैँया वितरण गरीएको छ । त्यसै गरी त्रिपुरेश्वरमा ४५ जनालाई २ करोड ९९ लाख ८३ हजार ४ सय २ जनालाई मुआब्जा वितरण गरीएको प्राधिकरणले जनाएको छ । 

२०७४/७५ मा मुआब्जाको लागि ३२ करोड आएको तर १७ करोड मात्र वितरण गरेको प्राधिकरणका योजना प्रमुख दिलिप भण्डारीले बताए । उनले भने ‘मन्त्रालयले बजेट असारको अन्तिममा पठाएको हुनाले निवेदन हालेकाहरूलाई सबै रकम वितरण गर्न सकेनौ, र यो वर्ष पनि एक अर्ब माग गरेका छौ तर हालसम्म आएको छैन । यो वर्ष पनि हालत उस्तै होला जस्तो छ’ । 


 

प्रतिक्रिया